नेकपा (माओवादी केन्द्र)का नवर्निवाचित अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आफूले निकै ठूलो जिम्मेवारी बोकेको महसुस गरेको बताएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आयोजित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै उनले राष्ट्र र जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका हुन् ।
उनले भने, 'मैले लामो समय पार्टीको नेतृत्वमा रहेर विभिन्न ऐतिहासिक घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त गरेँ, इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको छु । यति धेरै उतारचढावबाट गुज्रेर फेरि पनि सक्रिय नेतृत्वको भूमिकामा रहिरहँदा कहिलेकाहीँ फरक भूमिकामा पनि जानुपर्छ जस्तो लाग्छ, तर पार्टी र देशको अवस्थालाई हेर्दा अझै केही समय सक्रिय रहनुपर्छ भन्ने बाध्यता रहेको मलाई महसुस भइरहेको छ ।’
माओवादी आन्दोलनले इतिहासमा निक्कै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको उल्लेख गर्दै उनले आफू नहुँदैमा माओवादी आन्दोलन नसकिने र झन् सक्रिय भएर अगाडि आउने बताए । माओवादीको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिका बीचमा राजनीतिक तथा वैचारिक रूपमा बृहंगम रूपमा छलफल भएको बताउँदै उनले केही व्यक्तिको अराजनीतिक टिप्पणी जस्तो हल्का रूपबाट महाधिवेशन सकिएको भन्ने विषयमा भ्रम नपाल्न आग्रह गरे ।
उनले भने, 'देशभरिबाट आएका करिब एक हजार ८०० प्रतिनिधिलाई जुन ढंगले अपमान गर्न खोजियो । जुन महाधिवशेनले सबैभन्दा धेरै देश र जनताका बारेमा बहस र छलफल गर्यो, जनवादी बहसबाट निष्कर्षमा पुर्यायो, त्यो कसैको आदेशमा चलेको भनेर प्रचार गर्नु योभन्दा ठूलो बिडम्बना अर केही हुन्छ ?’
माओवादीलाई क्रान्तिकारी, सर्वाहारा, उत्पीडित जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवेशनबाट ‘क्रमभंग’ गरेको उल्लेख गर्दै उनले राष्ट्र र जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवशेनबाट ऐतिहािसक संकल्प लिइएको बताए ।