लुम्बिनीमा दुईदिने सडक महोत्सव

लुम्बिनीको पुरानो बस्तीलाई सांस्कृतिक नगर बनाउने सरकारको तयारी

शनिबार, १७ पुष, २०७८
डिजिटल संस्करण

गौतम बुद्धको जन्मस्थल लुम्बिनीवरपरको पुरानो बस्तीलाई सांस्कृतिक नगर बनाइने तयारी सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार, स्थानीय पालिका, लुम्बिनी विकास कोष, लुम्बिनी होटेल एसाेसिएसन संघलगायतको समन्वयमा लुम्बिनीवरपरको पुरानो बस्तीलाई सांस्कृतिक नगर बनाउने तयारी सुरु भएको लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

लुम्बिनीवरपरको बस्तीलाई समेटेर लुम्बिनीलाई सांस्कृतिक नगरको रूपमा विकास गर्नका लागि स्थानीयको सहभागिता आवश्यक रहेकाले सोहीअनुसार योजना बनाएर आउन पनि उनले आग्रह गरे ।  

अंग्रेजी नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा लुम्बिनीमा आयोजित लुम्बिनी सांस्कृतिक महोत्सव तथा आठौँ लुम्बिनी खाना महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनीको विकास र स्थानीयको जीवनस्तर उकास्न ठोस योजना बनाएर आउन स्थानीय पालिका, संघ संस्थाहरूलाई आग्रह गरे । ‘तपाईंहरू योजना बनाउनुस् बजेटको व्यवस्थापन गर्ने काम प्रदेश सरकारको हुनेछ,’ उनले भने । बजेटकै अभावमा कुनै पनि योजना अधुरा नरहने उनले बताए । लुम्बिनीवरपरका बस्तीहरलाई सांस्कृतिक नगरका रूपमा विकास गरी सो क्षेत्रमा विकास र रोजगारीको अवसर शृजना गर्ने उनले बताए ।

कार्यक्रममा प्रदेश सरकार पर्यटन तथा सहरी विकास राज्यमन्त्री रिना नेपालले विकासलगायतका हरेक काममा समावेशिता, सहभागितालाई ख्याल गर्दै आममहिलाहरूलाई लुम्बिनीको पर्यटनसँग जोड्न आफ्नो पहल रहेको बताइन् । लुम्बिनीमा विश्वका बौद्धमार्गीहरूको गन्तव्यस्थल बनाउन प्रदेश सरकार तयार गरेको राज्यमन्त्री नेपालको भनाइ छ ।

लुम्बिनी प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक फकु्रदिन खानले लुम्बिनीको मुख्य पेसा व्यवसाय भनेकै पर्यटन हुने दाबी गरे । लुम्बिनीको समग्र विकास गरी पर्यटन व्यवसायको प्रवर्द्धन, स्थानीय युवाको रोगगारीलगायतमा आफ्नो ध्यान केन्द्रित रहेको सभासद खानको भनाइ छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्वको शान्तिको मुहान भएको भन्दै यसको प्रचार प्रसार गरी बौद्धमार्गीको गन्तव्यस्थल र बुद्धिजमको रिसर्च सेन्टरको रूपमा विकास हुँदै गइरहेको बताए ।

लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न हरेक दिन नेपाली संस्कृति झल्किने मेला महोत्सव गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । 

कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष पीताम्बर न्यौपाने ,लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव महेशचन्द्र न्यौपाने, लुम्बिनी होटेल संघका महासचिव पुरुषोत्तम अर्याललगायतले महोत्सव सफलताको कामना गर्दै व्यवसायीका वास्तविक समस्या पहिचान गरी लगानी सुरक्षित गर्न सरकारसँग आग्रह गरे ।

महोत्सवमा नेपाली लोपोन्मुख लाखे नाच, थारू झुमरा, विरहा,डिजेलगायतबाट दर्शकलाई मनोरञ्जन प्रदान गरिने संघका निवर्तमान अध्यक्ष मिथुन श्रेष्ठले बताए । महोत्सवमा नेपाली,इन्डियन, चाइनिच,थाईलगायत नेपाली अर्गानिक परिकारका १ सय ३० बढी स्टलहरू रहेको महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिए । 

सुझावित समाचार