आगामी तीन दिन हिमपातको सम्भावना, थप चिसो बढ्ने

मंगलबार, १३ पुष, २०७८
डिजिटल संस्करण

आगामी तीन दिनसम्म देशभर पानी पर्ने, हुस्सु लाग्ने र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंलगायत देशभर तीन दिनसम्म घाम नलाग्ने र चिसो बढ्ने सम्भावना रहेको जनाएको छ।

अहिले देशभरको मौसम पूर्ण बदलीको अवस्थामा रहेको महाशाखाले जनाएको छ। डोल्पा, मनाङ, मुस्ताङ, हुम्ला र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूमा हिमपात भइरहेको छ। आज पहाडी भू–भागमा हल्का वर्षाको समेत सम्भावना रहेको वरुण पौडेलले जानकारी दिए। उनका अनुसार गण्डकी, बागमती र प्रदेश नम्बर १ मा वर्षा हुने सम्भावना छ। यी क्षेत्रमा चिसो पनि बढ्ने छ।

आज बिहान ३.६ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम अहिले १२ डिग्री सेल्सियस रहेको छ। आगामी तीन दिनसम्म मौसम प्रतिकूल रहने र थप चिसो बढ्ने मौसमविद् पौडेलले जानकारी दिए। उनले भने, ‘आजदेखि तीन दिनसम्म तापक्रम घट्छ, काठमाडौं तथा देशभर राम्ररी घाम लाग्दैन।’

अहिले प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। आगामी २४ घन्टाभित्र पश्चिमी, मध्य र पूर्वी तराई भू–भागमा हुस्सु र कुहिरो लाग्ने बताइएको छ।

See More On

सुझावित समाचार