चार महिनामा २४ उद्योगले मागे तीन सय मेगावाट विद्युत्

बिहिबार, ८ पुष, २०७८
डिजिटल संस्करण
  • १२० मेगावाट विद्युत् उद्योगमा जडान गर्न लोड स्वीकृत
  • ९० मेगावाटको ग्रिड प्रभाव अध्ययन सम्पन्न

नेपाल विद्युत् प्राधिकरणमा चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो चार महिना (कात्तिकसम्म)मा २४ उद्योगले ३६१ केभिए (दुई सय ८८ दशमलव आठ मेगावाट) विद्युत्को माग गरेका छन् । त्यसमध्ये प्राधिकरणले १२ उद्योगहरूलाई विद्युत् पुर्‍याउन १५०.५ केभिए (१२० दशमलव चार मेगावाट)को लोड स्विकृत गरिसकेको छ ।

त्यस्तै, सातवटा उद्योगलाई करिब १११ दशमलव सात केभिए (८९ दशमलव ३६ मेगावाट) विद्युत् उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन (जिआइएस) गरिसकिएको छ । यसबाहेक पाँच उद्योगले माग गरेको करिब ९८ दशमलव ८ केभिए (७९ दशमलव ०४ मेगावाट) विद्युत्को गिड प्रभाव अध्ययन प्रक्रियामा रहेको प्राधिकरणले जानकारी दिएको छ । थप विद्युत्को माग गर्नेमा अधिकांश स्टिल र सिमेन्ट उद्योग छन् ।

विद्युत्को भाषामा मेगावाट भन्नाले प्रसारण लाइनको विद्युत् बोक्ने क्षमतालाई बुझाउँछ भने एमभिएले ट्रान्सफर्मरको क्षमतालाई जनाउँछ । उदाहरणका लागि सय एमभिए भन्नाले ट्रान्सफर्मरको पावर फ्याक्टर एक भएको अवस्थामा सय मेगावाट नै हुन्छ । यसको अर्थ एक सय एमभिएबराबर एक सय मेगावाट हुन्छ ।

पावर फ्याक्टर दशमलव ९ भएको अवस्थामा ९० मेगावाट मात्र हुन्छ । त्यस्तै, ट्रान्सफरमरको पावर फ्याक्टर दशमलव ८ भएको अवस्थामा ८० मेगावाट मात्र हुन्छ । अर्थात् १०० केभिए भनेको ८० मेगावाट बुझ्नुपर्छ । यहाँ (यस समाचारमा) पावर फ्याक्टर दशमलव ८ लिइएको छ । 

जिआइएसमार्फत लोड (विद्युत् क्षमता) स्वीकृत गर्नुभन्दा पहिला उद्योग रहेको क्षेत्रको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले मागबमोजिम विद्युत् उपलब्ध गराउन सकिने/नसकिने निर्क्योल गरिन्छ । जिआइएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता भई लोड दिइन्छ ।

आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खेर जान नदिन उद्योगहरूलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको छ । लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत् सेवा उपलब्ध गराउन सयमसीमा सहितको प्रक्रिया निर्धारण गरिएको छ । 

ठूलो परिमाणमा विद्युत् माग गर्ने ग्राहकहरूलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिन समयसीमासहितको प्रक्रिया लागू गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत् आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताए ।  

सुझावित समाचार