एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, १२ विधामा अवार्ड

आइतबार, ४ पुष, २०७८
डिजिटल संस्करण

यस वर्षको आइसिटी अवार्ड २०२१ अन्तर्गतको ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेन्चरले प्राप्त गरेको छ । लिभिङ विथ आइसिटीले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको आइसिटी अवार्ड गत शुक्रबार सम्पन्न भएको छ । आइसिटीले १२ वटा विधामा अवार्ड प्रदान गरेको थियो । अवार्डका लागि चार सयजनाले आवेदन दिएको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ । 

त्यस्तै, प्रडक्ट आइसिटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड मसुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोटपश्चात् पब्लिक भोटिङ गरिएको थियो । त्यस्तै, व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड दीपेश प्रधानलाई, नेपाली डायस्पोरा आइसिटी अवार्ड प्रसन्न ढुंगेललाई, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड मनोहरकुमार भट्टराई र एनसेल वुमन आइकन आइसिटी अवार्ड गुणकेशरी प्रधानलाई प्रदान गरिएको छ ।  

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) कालिका मावि बुटवललाई, डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) ललितपुरको रातो बंगला स्कुललाई, डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस लिमिटेडलाई र डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ । त्यस्तै, पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीलाई प्रदान गरिएको छ ।

अवार्ड वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनीलबाबु श्रेष्ठले आइसिटी अवार्ड पुरस्कार वितरण गर्ने थलो मात्रै नभएर सार्वजनिक–निजी साझेदारीको राम्रो मोडल भएको बताए । त्यस्तै, कार्यक्रममा बोल्दै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइसिटी अवार्डले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । 

आइसिटी अवार्डका जुरी कोअर्डिनेटर हेमापाल श्रेष्ठले चार महिनाको गहन अध्ययन र विभिन्न सात चरणको छनोटपश्चात् विजेता छनोट गरिएको जानकारी दिए । 
एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । आइसिटी अवार्ड २०२१ को सहप्रायोजन नेपाल टेलिकम र जेनेस सोलुसनले गरेका छन् । 

त्यस्तै, पावर्ड पार्टनरमा ह्वावे र डिसहोम फाइबरनेट, इन्डोस्र्ड पार्टनरमा नेपाल दूरसञ्चार प्राधिकरण, क्याटागोरी पार्टनर एनसेल, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

 विजेतालाई १५ लाखसम्म सहुलियतपूर्ण ऋण 
आइसिटी अवार्ड २०२१ का विजेताहरूले १५ लाख रुपैयाँसम्मको ऋण पाउने भएका छन् । यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ का विजेतालाई बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछ । 

एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई आकर्षक रकमसहित पुरस्कार प्रदान गरेको छ । पावर्ड बाई स्पोन्सर ह्वावेले विजेता र उत्कृष्ट पाँचमा परेका स्टार्टअपलाई तीन लाखसम्मको ह्वावे क्लाउड सेवा उपलब्ध गराएको छ । नेपाल टेलिकमले सबै विजेतालाई वर्षको एक सय २० जिबीको डेटा प्याकेज उपलब्ध गराउनेछ भने डिसहोमले उच्च गतिको फाइबरनेट प्रदान गर्नेछ । जेनेस सोलुसनले सबै विजेतालाई क्लाउड कन्सल्टिङ सेवा उपलब्ध गराउनेछ भने डिजिटल एजुकेसन आइसिटी अवार्ड विजेतालाई एक वर्षका लागि जुमको लाइसेन्स उपलब्ध गराउनेछ । 

यसैगरी, यी विभिन्न विधाका उत्कृष्टलाई इसेवाले २५ हजारबराबरको आफ्नो बिजनेस इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाका लागि आवश्यक सहयोग प्याकेज दिनेछ ।
 

सुझावित समाचार