नेपाल आयल निगम लिमिटेडको बबरमहलस्थित केन्द्रीय कार्यालय भत्काउन थालिएको छ । सो ठाउँमा नयाँ कर्पोरेट कार्यालय बनाउन ठेक्का सम्झौता भएपछि भत्काउन थालिएको हो । एक साताअघिबाट भत्काउन थालेको पुरानो भवन दुई महिनाभित्र भत्काइसक्ने लक्ष्य राखेको समानान्तर निर्माण सेवाले जनाएको छ । पुरानो भवन भत्काएर सोही ठाउँमा १० तले नयाँ कर्पाेरेट भवन बनाउन समानान्तर निर्माण सेवाले ठेक्का सम्झौता गरिसकेको छ ।
अहिले भत्काइरहेको भवन ०७२ को भूकम्पले चर्काएको थियो । त्यसपछि सोही ठाउँमा नयाँ भवन बनाउने योजना बनाएपनि गत वर्ष मात्रै टेन्डरर आह्वान भई निर्माणका लागि ठेक्का सम्झौता भएको हो । समानान्तरले निर्माण सुरु गरेको तीन वर्षभित्र नयाँ भवन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
अहिले भत्काइरहेको भवन २०२७ सालमा आयल निगम स्थापना भएपछि संस्थापक महाप्रबन्धक सुवर्णविक्रम थापाले २०२८ देखि २०३० सालमा बनाएका हुन् । आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार संस्थापक महाप्रबन्धक थापाको प्रत्यक्ष रेखदेखमा सो भवन बनेको थियो । ‘भवन निर्माणमा कुनै कमजोरी होला कि भनेर थापा दिनहुँ निरीक्षण गर्नुहुन्थ्यो रे’ उनले भने, ‘कुनै ठाउँमा निर्माण कम्पनीले कमजोरी गरेको थाहा पाउनुभयो भने गारोमा लात्ती हान्नुहुन्थ्यो रे । त्यसरी प्रत्यक्ष रेखदेख गरी निर्माण गरेको भवन भएकाले होला ०७२ को भूकम्प आउँदा पनि भत्कन पाएन र हामी सबै कर्मचारी सुरक्षित भयौँ ।’
सो भवनमा तत्कालीन समयमा उपलब्ध सबैभन्दा गुणस्तरीय इँटा, सिमेन्ट, ढुंगा, गिट्टी, काठ, फलामलगायतको उपयोग गरिएको थियो । त्यसैले सो भवनमा प्रयोग भएको कंक्रिट उपयोग हुने देखेर ५४ लाख रुपैयाँ आयल निगमलाई समानान्तर निर्माण सेवाले दिने सहमति भएको छ । नयाँ भवन निर्माणका लागि टेन्डर प्रक्रियामा संलग्न भएका निर्देशक अशोक साहका अनुसार पुरानो भवनको ५४ लाख रुपैयाँ मूल्यांकन गरी भत्काउन दिइएको हो ।
‘बबरमहलको अफिसमा धेरै राम्रो इँटा, ढुंगालगायतको प्रयोग भएको पायौँ । यस्तो सामान अहिले पाउन मुस्किल छ’ हाल निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगर प्रमुखका रूपमा कार्यरत साहले भने, ‘त्यसैले पुरानो भवनमा प्रयोग भएको कंक्रिटको मोल पाउनुपर्छ भनेर नयाँ टेन्डर आह्वान गर्दा नै सर्त राख्यौँ । त्यसमा सारभूत रूपमा प्रभावकारी ठहरिएको समानान्तरले ५४ लाख रुपैयाँ कबोल गरी भवन भत्काउने प्रस्ताव पेस गरेको थियो । पछि उसकै प्रस्ताव पास भयो ।’
पुरानो भवनको मुख्यद्वारमा प्रयोग भएको गेट भने निगमले आफैँसँग राख्ने भएकाे छ । गेटमा प्रयोग भएको काठ दुर्लभ भएकाले नयाँ भवनमा पनि सोही काठ प्रयोग गरी प्रवेशद्वार बनाउने निगमको योजना छ ।
पुरानो भवन भत्काइसकेपछि निगमले सोही ठाउँमा १० तेल नयाँ भवन बनाउनेछ । नयाँ भवनको बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ दुई तलाको हुनेछ । त्यसपछि जमिनमाथि १० तलाको भवन बन्नेछ । जमिनमाथि पनि चार तलाको आधुनिक भवन र ६ तलाको टावर बन्नेछ ।
दशाैँ तलामा बैठक, गोष्ठी र अन्तर्क्रिया गर्न मिल्ने सभाहल बन्नेछ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी बन्न लागेको भवनको प्रत्येक कोठा कुन तहको कर्मचारीलाई कति खुला ठाउँ हुनुपर्ने भन्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुनेछ ।