कारोबारको तीन घन्टामै नेप्से ६ प्रतिशतले बढेर सर्किट ब्रेक

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

मंगलबार सेयर बजार परिसूचक नेप्से कारोबार सुरु भएको तीन घन्टा नपुग्दै ६ प्रतिशतले बढेर बीचैमा कारोबार रोकिएको छ । आइतबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिका कारण लगानीकर्ता आत्तिएर बिक्रीमा चाप परेपछि करिब ८० अंकले घटेको नेप्से परिसूचकमा मंगलबार नाटकीय सुधार आएको हो । 

मंगलबार नेप्से एक सय ३७ अंकले बढेर दुई हजार चार सय १८ दशमलव ८५ बिन्दुमा पुगेपछि त्यस दिनका लागि कारोबार बन्द गरिएको छ । त्यस दिन सेयर मूल्य बढेका एक सय ८८ कम्पनीमध्ये ४७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । घटेको बजारमा लगानीकर्तामा सेयर किन्नेको चाप पनि बढेको देखिन्छ, जसका कारण पनि बजारमा एकाएक सुधार आएको लगानीकर्ता बताउँछन् । 

कारोबारमा आएका १३ वटा समूहको सूचक सबै हरियो बनेका छन् । लगानीकर्ता विशेष गरी फाइनान्स र जलविद्युत्तर्फ आकर्षित भएका छन् । जलविद्युत् समूहको सूचक ७ दशमलव ८४ प्रतिशतले बढेको छ भने फाइनान्सको ८ दशमलव ६२ प्रतिशतले बढेको छ । त्यस्तै, माइक्रो फाइनान्स, वाणिज्य बैंक, निर्जीवन बिमा, जीवन बिमालगायत समूहको सूचकमा पनि उलेख्य सुधार आएको छ ।

यद्यपि बजार बढ्नुको खास कारण त्यस्तो केही नभए पनि केही कम्पनीहरूबाट लाभांश घोषणा हुने क्रम अझै चलिरहेको छ । कम्पनीहरूले साधारणसभा बोलाउने क्रम जारी छ । बैंकहरूमा तरलताको अभाव भए पनि लगानीकर्ताको छाता संगठनले बनाएको कार्यदले अर्थमन्त्रीसँग पुँजी बजारमा देखिएका समस्याको समाधानका लागि आग्रह गरेका छन् । अर्थमन्त्रीले पनि पुँजी बजारमा देखिएका समस्या सुधारका लागि ठोस नीति ल्याउने आश्वासन दिइरहेका छन् । यसले पनि बजारलाई सकारात्मक बनाउन प्रमुख भूमिका खेलको देखिन्छ । लगानीकर्ताको समूहले मंगलबार अर्थमन्त्रीलाई भेटेर बजारप्रति गम्भीर हुन र उठेका मागलाई सम्बोधन गर्न आग्रह गरेका हुन्  ।

तीन घन्टा पनि पूरा कारोबार नहुँदा धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २० कम्पनीको ४० लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा एक अर्ब ८४ करोड रुपैयाँको मात्र कारोबार हुन सक्यो । छोटो अवधिमा भएको सेयर खरिद–बिक्रीमा नबिल बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । बैंकको नौ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावर, आइसिएफसी फाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावरको सातदेखि चार करोड रुपैयाँसम्मको मात्र कारोबार भएको छ । 

सेयर गतिविधि
नेपाल पुनर्बिमा कम्पनीको  साधारणसभा पुस २२ गते कार्की ब्यांकेट, बबरमहलमा बस्ने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तोकेको हो ।
 

See More On

सुझावित समाचार