मनोनयन दर्ता हुने वेलासम्ममा धेरै नेता देउवाको पक्षमा उभिनेछन्

डिजिटल संस्करण

डा. प्रकाशशरण महत कांग्रेसका सहमहामन्त्री छन् । ०२९ सालदेखि राजनीतिमा सक्रिय महत ०३६ मा नेविसंघको केन्द्रीय सदस्य र ०४० मा महामन्त्री भएका थिए । उनी ०६० देखि लगातार पार्टीको केन्द्रीय सदस्य छन् । यसबीच उनले पार्टीका विभिन्न जिम्मेवारीसँगै परराष्ट्र र ऊर्जामन्त्रीका रूपमा राजकीय जिम्मेवारी पनि निभाइसकेका छन् । चालू महाधिवेशनमा उनी महामन्त्री पदका आकांक्षी छन् । पार्टी सभापति शेरबहादुर देउवाका विश्वासिला नेतामा पर्ने हुनाले उनको आकांक्षामा देउवाको समर्थन रहेको देखिन्छ । प्रस्तुत छ, नयाँ पत्रिकाका लागि दिपेश शाही, किरण दहाल र हिमाल पौडेलले महतसँग गरेको संवाद :

विगतमा कांग्रेसले विचार र नीतिलाई नेतृत्व चयनसँगै प्राथमिकतामा राख्थ्यो । यसपालि नीतिगत विषय छाडेर नेतृत्व चयन केन्द्रमा देखियो । कांग्रेसभित्र वैचारिक बहसको पाटो साँघुरिँदै गएको हो भनेर बुझ्ने हो ?
एकदमै होइन । अहिले समयको सीमा थियो । मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने जुन अठोट थियो, यसलाई ध्यानमा राखेर निर्वाचन अधिवेशनका रूपमा अगाडि बढाउने निर्णय गर्यौँ । त्यसमा प्रतिवेदनका विषय र विधानका बाधा अड्काउ फुकाउने विषय बन्द सत्रबाट पारित गर्दै छौँ । तीबाहेक राष्ट्रिय मुद्दाहरू, नीतिगत विषयहरू केन्द्रीय भेलाबाट पारित गर्ने निर्णय गरेका छौँ । निर्वाचनसँगसँगै नीतिगत कुरा गर्दा सम्पूर्णको ध्यान निर्वाचनमा केन्द्रित हुने र वैचारिक बहस गम्भीर रूपमा अगाडि नबढ्ने देखिराखेका थियौँ । त्यसैले हामीलाई नीतिसम्बन्धी बहस छुट्टै गर्नुपर्ने रहेछ भन्ने पनि लाग्यो । अहिले समयको पनि सीमाका कारणले अलग्गै गर्ने निर्णय गर्यौँ । त्यसले अब झन् हाम्रो वैचारिक र नीतिगत छलफलमा गम्भीर रूपमा सहभागी हुने र निष्कर्ष निकाल्ने परिवेश बन्छ ।

१३औँ महाधिवेशनमा दोस्रो चरणमा मात्र नेतृत्व चयन भयो । यसपटक पनि त्यस्तै अवस्था आउला वा पहिलो चरणमै कांग्रेसले सभापति पाउला ?
मेरो विचारमा यसपटक पहिलो चरणमै पार्टीले सभापति पाउनेछ । प्रतिनिधि साथीहरू दोस्रो चरणको अन्योलमा जान चाहनुहुन्न भन्ने लाग्छ । अहिले ‘क्लियर च्वाइस’ छ । त्यसवेला देउवाजी संघर्षरत हुनुहुन्थ्यो, नेतृत्वमा हुनुहुन्थेन । पार्टी विभाजनबाट एकता भएपछि नेतृत्वका लागि उम्मेदवारी दिनुभएको थियो । पूर्ण रूपमा विश्वासको वातावरण बनिसकेको थिएन । तैपनि मतदाताले राम्रै मत दिनुभएको थियो । यसपटक त्यसो हुँदैन । उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा पनि पार्टी सभापतिको हैसियतमा उहाँले सरकारको निरन्तरताको आवश्यकता औँल्याउनुभएको छ । त्यो निरन्तरताका साथ हामी आमनिर्वाचनमा जानुपर्नेछ । यो कुरा आमपार्टी र प्रतिनिधि साथीहरूले बुझ्नुभएको छ । त्यो बुझेरै धेरै साथीहरू अहिले सभापतिसँग जोडिन आउँदै हुनुहुन्छ । मलाई लाग्छ, मनोनयन दर्ता हुने वेलासम्म धेरै नेताहरू देउवाको पक्षमा उभिनुहुनेछ ।

मैले पार्टीका सबै जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको छु । राजकीय जिम्मेवारीमा रहँदा दीर्घकालीन लक्ष्य प्राप्त हुने गरी काम गरेको छु । राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयको जानकार पनि छु । प्राविधिक रूपमा पनि सक्षम छु । त्यसैले कुशलतापूर्वक महामन्त्रीको जिम्मेवारी पूरा गर्न सक्छु ।

१४औँ महाधिवेशनमा संस्थापनमा पदाधिकारीका आकांक्षी धेरै देखिएका छन् । कसरी व्यवस्थापन गर्नुहुन्छ ?
यतिवेला मुख्यतः नेतृत्वको काँधमा महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी छ । त्यसैले आकांक्षी साथीहरूको व्यवस्थापनका लागि छलफल गर्ने, सुझाव लिने र निर्णय गर्ने काममा विलम्ब देखिएको हो । यो चुनौतीपूर्ण पनि हुन्छ । तर, मिलाउनै नसक्ने भन्ने पनि होइन । समयको सीमितताले केही समस्या आएको हो । अब रात–बिहान गरेर सबै विषय टुंगो लगाउँछौँ ।

यहाँ आफूचाहिँ कुन पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?
१४औँ महाधिवेशनमा म महामन्त्री पदमा उम्मेदवारी दिँदै छु ।

यसबारे पार्टी र समूहभित्र छलफल भइसक्यो ?
भइसक्यो । नेतृत्वसँग पनि छलफल भइसकेको छ ।

महाधिवेशन प्रतिनिधिले यहाँलाई किन मत हाल्ने ? 
म जुन जिम्मेवारी लिन्छु, त्यसलाई निष्ठापूर्वक पूरा गर्छु । विगतमा पनि मैले क्षमता देखाइसकेको छु । पार्टी वा सरकारको जुनसुकै जिम्मेवारी लिँदा पनि म पूर्ण निष्ठापूर्वक त्यसमा लाग्ने गरेको छु । म कहीँ कतै विचलित हुन्न । केन्द्रीय समितिमा हुँदा होस् या सहमहामन्त्री, त्यो पदको अपेक्षा मैले पूरा गरेको छु । राजकीय जिम्मेवारीमा रहँदा मैले दीर्घकालीन लक्ष्य प्राप्त हुने गरी काम गरेको छु । जस्तो– माथिल्लो तामाकोसी म ऊर्जामन्त्री हुँदा सुरु भयो । त्यो वेला अघि बढेको हुनाले अहिले कार्यान्वयनमा आएको छ । नेपाल–भारत ट्रान्समिसन लाइन त्यही वेला मैले सम्झौता गरेको थिएँ । म परराष्ट्रमन्त्री हुँदा चीनसँग नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर धेरै प्रस्ताव संशोधन भयो । बिआरआई सम्झौता गरेँ । भारतसँग पनि विभिन्न सन्धि–सम्झौतामा भएका कमजोरीलाई तथ्यगत रूपमा कुरा उठाएँ ।

यस्ता धेरै उदाहरण छन् । त्यसकारण म जे जिम्मेवारी लिन्छु, त्यसलाई गम्भीरताका साथ लिन्छु । पार्टीमा पनि मेरो प्रस्तुति उत्कृष्ट छ । मैले महामन्त्रीको जिम्मेवारी प्राप्त गरेँ भने नेपाली कांग्रेसलाई आधुनिक पार्टी बनाउँछु । महामन्त्रीका अन्य जिम्मेवारी पनि इमानदारीसाथ पूरा गर्छु । कार्यक्रम सञ्चालन गर्ने, संगठन विस्तार गर्नेे, पार्टीलाई देशैभर फैलाउने र प्रविधिमैत्री बनाउने काममा रणनीतिपूर्वक काम गर्छु । हामी काम गर्छौंँ, तर जनतालाई अनुभूति दिलाउन सक्दैनौँ । कम्युनिकेसनमा हाम्रो कमजोरी छ । त्यसलाई सुधार गर्नुपर्छ । प्रशिक्षणको काम गर्नुु छ । मूल्यांकन पद्धति र जिम्मेवारीलाई चुस्त बनाउनु छ । नेपाली कांग्रेसलाई गतिशील पार्टी बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ ।

राष्ट्रिय मुद्दाको विषयमा पार्टी जानकार हुनुपर्छ । किनकि, दुनियाँ द्रुत गतिमा परिवर्तन भइरहेको छ । हिजोको कुरा आज असान्दर्भिक भइसक्छ । नयाँ कुरा आइसकेको हुन्छ । नयाँ आएका विषयमा कहिलेकाहीँ पार्टीले तुरुन्तै दृष्टिकोण बनाउनुपर्छ । त्यसका लागि पार्टीको ‘थिङ्क ट्याङ्क’लाई बलियो बनाउनुपर्छ । दृष्टिकोण बनाउनुपर्छ । सरकारमा जाँदा पनि पूरै तयारी रहनुपर्छ । तयारी नभई सरकारमा गइयो भने अलमलिनुपर्छ । विषयवस्तु बुझ्नै समय लाग्छ । त्यसकारण पार्टी नै तयार हुनुपर्छ । यी सबै कुरामा म सक्षम छु । त्यो ऊर्जा मसँग छ ।

कांग्रेसले काम ग¥यो, तर चर्चा गर्न सकेन भन्ने यहाँको बुझाइ देखियो । किन त्यस्तो भयो ?
हाम्रो पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी छ । हामी आफूलाई केन्द्रमा राखेर आफ्नै मात्रै प्रचार गर्छौँ । पार्टीको विज्ञापन होइन, आफ्नै विज्ञापन गर्छौँ । हाम्रो सोचाइ ‘मेरो उचाइ बढ्नुपर्छ’ भन्नेमा मात्रै केन्द्रित भयो । तर, पार्टीको उचाइ बढेन भने मेरो मात्रै उचाइ बढेर के हुन्छ ? पार्टीको जनाधारको आधारमा हामी निर्वाचित हुन्छौँ । हाम्रो संख्या बढ्छ । त्यसकारण पार्टीको उचाइ बढाउनुपर्ने हुन्छ । पार्टीको प्रचार गर्नुपर्छ । विचारलाई केन्द्रबिन्दुमा राख्नुपर्छ । बहस पनि विचारका आधारमा हुनुपर्यो । व्यक्तिकेन्द्रित बहसको अर्थ छैन । अहिलेसम्म हाम्रा गुटहरू पनि कसैसँगको सम्बन्ध, सम्बन्धबाट प्राप्त विश्वास र त्यसपछि पाइने संरक्षणको आधारमा सञ्चालन भइरहेका छन् । यो स्वस्थकर प्रक्रिया होइन । विचारका आधारमा गुट बनाउने हो भने समस्या हुँदैन । त्यसैले नेता पार्टी, विचार र जनताकेन्द्रित हुनुपर्छ । त्यसमा हाम्रो कमी छ । यो कमजोरीलाई दूर गर्न आवश्यक छ ।

अहिले वडादेखि प्रदेशसम्मका अधिवेशनबाट ठूलो संख्यामा युवाहरू नेतृत्व तहमा स्थापित भएका छन् । केन्द्रमा पनि स्थापित हुन्छन् भन्नेमा दुई मत छैन । तर, यहाँ सभापति वा मेजर पदाधिकारीमै युवा नभएसम्म के अर्थ भयो र भन्ने ढंगले बहस चलेको छ । यो गलत छ । पार्टी भनेको ‘टिम वर्क’ हो ।

त्यसपछि हामीले गरेका कामको यथेष्ट प्रचार हुनु जरुरी छ । कतिपय अवस्थामा काम गर्नु मात्रै महत्वपूर्ण हुँदो रहेनछ । गरेको छ भन्ने अनुभूति आमनागरिकलाई गराउनुपर्दो रहेछ । हामी काम गर्छौँ, तर अरूले नै त्यसको जस लिएर प्रचार गरिसकेको हुन्छ । हामी आफूले गरियो, जनताले बुझिहाल्छन् भन्ने ठान्छौँ । हाम्रा प्रतिपक्षी कम्युनिस्ट पार्टी थोरै गर्छन्, तर धेरै गरेको प्रचार गरिरहेका हुन्छन् । हामी धेरै गरेर थोरै पनि अनुभूति दिन सक्दैनौँ । किनभने, हाम्रो प्रचारप्रसारमा समस्या छ । एकअर्काको आलोचना गर्नमा नै धेरै समय खर्च गर्छौँ । आफ्नो विज्ञापन गर्न धेरै समय खेर फाल्छौँ । पार्टीले गरेका कामको कम गर्छौँ । यसैले पनि संस्थागत रूपमा यो धारणालाई विकसित गर्नुपर्ने आवश्यकता छ ।

यसपटकको महाधिवेशनमा युवा प्रतिनिधिको सहभागिता धेरै देखिन्छ । तर, नेतृत्व तहमा उनीहरूको उपस्थिति हुनेमा आशंका छ । कांग्रेसले तिनीहरूलाई कति समेट्छ ?
अहिले वडादेखि प्रदेशसम्मका अधिवेशनबाट ठूलो संख्यामा नेतृत्व तहमा स्थापित भएका छन् । केन्द्रमा पनि स्थापित हुन्छन् भन्नेमा दुई मत छैन । तर, यहाँ सभापति वा मेजर पदाधिकारी नै युवा नभएसम्म के अर्थ भयो र भन्ने ढंगले बहस हुन्छ । पार्टी भनेको ‘टिम वर्क’ हो । यहाँ अनुभव, ऊर्जा र दूरदृष्टि राख्ने क्षमताको पनि आवश्यकता पर्छ । कहिलेकाहीँ, सरसर्ती हेर्दा कुनै विषय अत्यन्तै लोकप्रियजस्तो लाग्छ । त्यसको पछाडि दौडियो भने हामी गलत ठाउँमा पुग्न सक्छौँ । नेतृत्व भनेको त्यो हो, जसले तात्कालिक रूपमा लोकप्रिय ठानिएको चिज दूरदृष्टिमा हेर्दा त्यो विषय गलत छ भने ठम्याएर अस्वीकार गर्न सक्ने हुनुपर्छ । नेतृत्वले यो–यो कारण गलत छ भनेर त्यसलाई बुझाउनुपर्छ ।

कतिपय युवानेताहरू जताजता भिडको मानसिकता छ, त्यहीअनुसार प्रस्तुत भइराखेको अवस्था छ । त्यो वास्तविक नेतृत्व होइन । अहिले हामीलाई सुझबुझपूर्ण नेतृत्वको आवश्यकता छ । त्यो क्षमता युवामा छ भने युवा हुनु नै हुँदैन भन्ने होइन । तर, पाका नेताहरूमा पनि दृष्टि र सुझबुझ छ, उमेर धेरै भएका कारण नेतृत्व गर्नुहुँदैन भन्ने हुँदैन । आवश्यकताको सिद्धान्तमा पार्टी र देशको नेतृत्व चल्छ, उमेरको आधारमा चल्दैन । अमेरिकाको उदाहरण हेर्दा पनि त्यो देखिन्छ । केही वर्षअघि बाराक ओबामा ४२ वर्षको उमेरमा राष्ट्रपतिमा चुनिए, अहिले बाइडेन ७७ वर्षको उमेरमा राष्ट्रपतिमा चुनिए । त्यो भनेको आवश्यकताको सिद्धान्त हो । नेतृत्वको निर्धारण आवश्यकताले गर्छ । आवश्यकताको निर्धारण पार्टीको हकमा मतदाता र देशको हकमा आमनागरिकले गर्छन् । उनीहरूले विवेकलाई सम्मान गर्नुपर्छ । अहिले पुस्ताको बहस त्यति सान्दर्भिक छैन ।

लामो समयदेखि पार्टीभित्र सभापति देउवासँग रहेर काम गरिरहनुभएको छ । फेरि पनि देउवालाई नै सभापतिमा दोहोर्याउनुपर्ने त्यस्तो के क्षमता उहाँमा ?
पार्टीको नेतृत्वमा फेरि पनि देउवाको आवश्यकता देखिनुका अनेक आधार छन् । चाहे पार्टीभित्र होस्, चाहे पार्टीबाहिर, उहाँ संयोजन गर्ने नेता हो । देउवा सानोतिनो कुरामा अल्झिनुहुन्न । उदारताका साथ जिम्मेवारी दिनुहुन्छ । त्यसमा संकीर्णता राख्नुहुन्न । देश र पार्टी दुवैलाई अहिले जोड्ने नेतृत्वको आवश्यकता छ । कुरा मात्रै गरेर समाधान निस्किँदैन । अघिल्लो चुनावमा सबै कम्युनिस्ट पार्टीहरू मिलेका कारण हामी संसद्मा कम संख्यामा पुग्यौँ । तै पनि सबैले किन देउवाकै नेतृत्व खोजे त ? किनभने, त्यो गुण उनीहरूले पनि देखे । त्यसैकारण उहाँ अहिले बहुमत नभएर पनि देशको प्रधानमन्त्री हुनुभएको छ ।

त्यस्तै, पार्टीभित्र पनि कहिलेकाहीँ निर्णय गर्न ढिला भयो भनेर म पनि प्रश्न उठाउँछु । अरू साथीहरू पनि उठाउनुहुन्छ । त्यसमा उहाँ एकताको आवश्यकता औँल्याउनुहुन्छ, कम्युनिस्ट पार्टीको उदाहरण देखाउनुहुन्छ । निर्णय ढिलो गर्दा केही घाटा अवश्य होला, तर एकता खलबलियो भने त्योभन्दा कैयौँ गुणा घाटा हुन्छ भन्ने उहाँको धारणा हुन्छ । एकता सबभन्दा महत्वपूर्ण हो भन्ने उहाँको दृष्टिकोण अहिलेको मुलुक र पार्टीलाई आवश्यक छ । एकताकै बलमा नेपाली कांग्रेस आमनिर्वाचनमा जानुपर्छ । र, त्यो जोडेर राख्ने क्षमता देउवासँग नै छ । त्यसकारण यसपटक पनि उहाँको नेतृत्व पार्टी पंक्तिले महसुस गरिरहेको छ । 

यहाँले केही समयपहिले पार्टीको तर्फबाट भारत भ्रमण गर्नुभएको थियो । पार्टीको महाधिवेशन र समग्र नेपालको राजनीतिक वातावरणबारे भारतको दृष्टिकोण कस्तो पाउनुभयो ?
दुई पार्टीबीच अन्तत्र्रिmया तथा भ्रमणहरू बढ्यो, एक–अर्काको दृष्टिकोण बुझ्ने र निरन्तर संवाद गर्ने स्थिति बन्यो भने हाम्रो बुझाइको स्तर बढ्छ । त्यसले सम्बन्धमा विश्वास पैदा गर्छ र आशंकाहरू कम गराउँछ । त्यसैले पार्टीको तर्फबाट मैले भारत भ्रमण गरेको थिएँ । त्यो भ्रमणमा नेपालमा के भइरहेको छ ? हामीले वा उनीहरूले के गर्नुपर्छ भन्ने विषयमाथि कुराकानी भएन । बरु, एकअर्कालाई बुझ्ने र सम्बन्ध विकास गर्ने विषयमा छलफल भए । त्यसले एकअर्कालाई धेरै कुरा बुझाउन मद्दत पनि गर्यो भन्ने लाग्छ ।

भारतले आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भन्ने आमबुझाइ छ । महाधिवेशन नजिकिँदै गर्दा तपाईं सभापति देउवाको दूत बनेर भारत जानुभएको थियो । त्यसैले महाधिवेशनलाई नै लक्षित गरेर भ्रमण गरिएको थियो भन्नेहरू पनि छन् नि ?
त्यो सत्य होइन । मेरो भारत भ्रमण र पार्टीको महाधिवेशन बिलकुल फरक विषय भयो । पहिले हामीले आफ्नो आत्मविश्वासको तहलाई बढाउनुपर्छ । अरूले यस्तो गर्छ, उस्तो गर्छ भन्ने भन्दा पनि हामी के गर्छौँ भन्ने विषय हाम्रा लागि महत्वपूर्ण हुन्छ । हामीले ठीक धरातलमा उभिएर नेपालको स्वार्थ र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र सम्बन्ध सञ्चालन गर्न थाल्यौँ भने स्वाभाविक रूपमा कसैले पनि अप्ठेरो पार्न सक्दैन । हामी आफैँ लघुताभास राख्ने, आफ्ना कुराहरू पनि राम्रोसँग नगर्ने, हचुवाका भरमा प्रस्तुत हुने र जनतातिर फर्केर अतिशयोक्तिपूर्ण तवरले प्रस्तुत हुने चरित्र देखिएको छ । ओलीजीको सरकारमा यस्तो देखियो । त्यसैले आशंका बढेको हो । म फेरि स्पष्ट गर्न चाहन्छु, मेरो भारत भ्रमण मूलभूत रूपमा सम्बन्धलाई विकास गर्ने र एकअर्कालाई राम्रो ढंगले बुझ्ने कुरामा मात्र केन्द्रित थियो ।

सुझावित समाचार