माओवादी केन्द्र प्रदेश १ ले पूर्ण समावेशी प्रतिनिधित्वको आधारमा समिति र महाधिवेशन प्रतिनिधि छान्ने

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्र प्रदेश १ ले पूर्ण समावेशी प्रतिनिधित्वको आधारमा प्रदेश समितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधि छान्ने भएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार पूर्ण समावेशी सिद्धान्त आत्मसात गरेर पदाधिकारी र महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । 

सम्मेलनको लागि प्रदेश १ का १ सय ३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा ५ सयबराबर एक पालिकामा तीनजना पर्ने गरी ६ सय प्रतिनिधि चयन गरिएका छन् । 

सम्मेलनमा आयोजक समितिका ९७ जना, जेष्ठ कम्युनिस्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरू सयजना र विभागबाट ३२ जना सहभागी हुनेछन् । प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात् ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनीत गर्नेछ ।

यसैगरी, प्रदेश सम्मेलनमा केन्द्रीय सदस्य २० जना, केन्द्रीय सल्लाहकार १२ जना, केन्द्रीय विभागका ६८ जना, केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्चबाट १२ जना र केन्द्रीय आयोगका ५ जना  प्रतिनिधिको रूपमा सहभागी हुनेछन् । केन्द्रीय समितिका सदस्यहरूले प्रदेशको सम्मेलनमा उम्मेदवार भएमा वा मतदान गरेमा राष्ट्रिय सम्मेलनमा मतदान र उम्मेदवार हुन पाउनेछैनन् । तर, प्रदेश सम्मेलनबाट राष्ट्रिय सम्मेलनको प्रतिनिधि भने उनीहरू चयन हुन सक्नेछन् ।  

मोरङको विराटचौकको जेसिस भवनमा माओवादी केन्द्रको प्रदेश अधिवेशनको २५ मंसिरमा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।     

प्रदेश सम्मेलनबाट १ सय ७५ जनाको कार्यसमिति निर्वाचित हुने प्रदेशसचिव हेमराज भण्डारीले जानकारी गराए । उनका अनुसार सम्मेलनबाट केन्द्रीय नीतिअनुसार ३० जनाबराबर एकजनाको दरले सयजनाको हाराहारीमा राष्ट्रिय सम्मेलनका प्रतिनिधि चयन गरिनेछन् । 

राष्ट्रिय सम्मेलनको प्रतिनिधि केन्द्रले तोकेको ३० जना र १ हजार ५ सय पार्टी सदस्यबराबर एकजनाको दरले प्रदेश सम्मेलनले नै चयन गर्नेछ ।

प्रदेश समिति पदाधिकारी बढीमा १ सय ७५ जनाको बन्नेछ । समितिमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितको प्रतिनिधि सुनिश्चित गरिनेछ । राजेन्द्र किरातीको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

सुझावित समाचार