नेपालमा दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। ओमिक्रोन पुष्टि भएका ६६ वर्षीय ती व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मंसिर ३ (१९ नोभेम्बर) मा नै नेपाल आएका थिए। २४ नोभेम्बरमा मात्र विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि गरेको थियो। दक्षिण अफ्रिकामा ९ नोभेम्बरमा लिइएको नमुना परीक्षण गर्दा २४ नोभेम्बरमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि हुनुअगावै ती व्यक्ति नेपाल प्रवेश गरिसकेको विमानस्थलको रिपोर्टले देखाउँछ।
हाल ओमिक्रोन भाइरस देखा परेका व्यक्ति अफ्रिकी मुलुक हुँदै नेपाल आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाल आउँदा ती व्यक्तिले विमानस्थलमा देखाएको पिसिआर रिपोर्ट नेगेटिभ र दुवै डोज खोप लगाएको प्रमाण बोकेका थिए। तर, केही दिनपछि ती व्यक्तिमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएको थियो। त्यसपछि उनी र उनकाे सम्पर्कमा आएका अर्का व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
रिपाेर्ट पोजेटिभ आएपछि उनीहरूको एस–जिन परीक्षण गर्दा एस–जिन फेला परेन। एस–जिन फेला नपरेपछि दुवैको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा मंसिर १९ गते आइतबार नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भयो। नयाँ भेरियन्ट पुष्टि भएपछि सरकारले संक्रमित दुवैजनालाई आइसोलेसनमा राखेको छ। हाल उनीहरूमा कुनै लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ। तर, सरकारले ओमिक्रोन भित्रिन नदिन सामान्य चेकजाँचबाहेक कुनै सावधानी अपनाएको छैन।
६६ जनामा कन्ट्याक ट्रेसिङ गर्दा सबैमा नेगेटिभ
नयाँ भेरियन्ट पुष्टि भएका दुवै व्यक्तिको सम्पर्कमा आएकाहरूमा कन्ट्याक ट्रेसिङ गर्दा ओमिक्रोन नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले ६६ जनाको एस–जिन तथा पिसिआर परीक्षण गरेको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ। नयाँ भेरियन्ट पुष्टि भएसँगै सरकारले सर्भिलेन्स र कन्ट्याक ट्रेसिङलाई थप प्रभावकारी बनाउने बताएको छ। कोरोनाको नयाँ भेरियन्ट देखिएकोले पिसिआर र एस–जिन परीक्षण दायरा बढाउने तयारी गरेको छ।
सीमानाकामा कडाइ गर्ने तयारी
कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सरकारले सीमा नाकाहरूमा थप कडाइ गर्ने भएको छ। सरकारले हवाई तथा सडकमार्गमा कडाइ गर्ने तयारी गरेको हो। गृह मन्त्रालयले प्रहरीलाई सोमबार नै सीमानाकामा कडाइ गर्न मौखिक निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नयाँ भेरियन्ट देखिएपछि प्रहरीले चेकजाँचमा कडाइ गर्ने बताए। उनले भारत हुँदै नेपाल प्रस्थान गर्ने सीमानाका खुला भएकाले थप कडाइ गर्न प्रहरीलाई निर्देशन दिइएको जानकारी दिए। उनले भने, ‘भारतमा नयाँ भेरियन्ट देखिए पनि हामीले नेपाल प्रस्थान गर्ने सीमानाकाहरूमा कडाइ गर्न प्रहरीलाई भनेका छौँ, यसबारेमा थप निर्देशन पनि जारी हुन्छ।’ स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्ट पुष्टि भएकोले कोभिड–१९ स्वास्थ्य मापदण्डमा बढी ध्यान दिन आग्रह गरेको छ।