कोभिड–१९ एवं जलसंकट

सोमबार, २० मंसिर, २०७८
डिजिटल संस्करण

साबुनपानी प्रयोग गरी हात सफा राख्नुलाई कोरोना भाइरस संक्रमणबाट बच्ने एउटा प्रभावकारी उपाय मानिए पनि सबैका लागि स्वच्छ पानी उपलब्ध हुन नसकेको अवस्थामा वेलावेलामा हात धुनुचाहिँ कसरी ?


देशमा कोभिड–१९ को प्रलयकारी महामारीको प्रसारमाथि नियन्त्रणका लागि लागू गरिएको लकडाउनका वेला स्वच्छ सफा खानेपानीको उपलब्धता एवम् यसको व्यवस्थापन निकै नै चुनौतीपूर्ण देखिन्छ । सरकारले जारी गरेको कोभिड–१९ विरुद्धको स्वास्थ्य सचेतना, सुरक्षा निर्देशिकामा जनसमुदायले साबुनपानीले नियमित हात धुनुलाई कोभिड–१९ महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय मानिएको छ ।

यसलाई मनन गर्ने एवम् कार्यान्वयन गर्ने हो भने देशका सबै जनसमुदायका लागि स्वच्छ एवम् पिउनयोग्य पानीको पर्याप्त उपलब्धताको सुनिश्चितता राज्यको दायित्व हो । तर, वर्तमानमा हाम्रो राज्य व्यवस्थापनको स्थिति हेर्दा आमनागरिक ढुक्क हुन सक्ने झिनो सम्भावनासमेत छैन । राजधानीलगायत घना बस्ती भएका सहरी क्षेत्रका जनता घुम्ती ट्यांकर, जार र बोतलबन्द पानीमै भर पर्न बाध्य छन् । 

आमजनताले प्रलयकारी कोभिड–१९ महामारीका वेला पनि स्वच्छ खानेपानी संकटसँग जुधिरहेका वेला संघ, प्रदेश र स्थानीय सरकारहरूले स्वच्छ खानेपानीको आपूर्ति बढाउने प्रयासलाई प्राथमिकता दिनुपर्छ । सरकारले समाजका कमजोर वर्ग, राहत शिविर, क्वारेन्टाइन केन्द्र, अस्पताल, वृद्धाश्रम एवम् सहरका सुकुम्बासी सहरका झुपडबस्तीमा बस्नेहरूका लागि विशेष ध्यान दिनुपर्ने हो । यसका लागि आवश्यक रसायनहरू, जस्तै– क्लोरिन चक्की, ब्लिचिङ पाउडर, सोडियम हाइपोक्लोराइट झोल र फिटकिरी, पोटास आदि वस्तु सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ ।  

यसवेला सामाजिक दूरी राख्ने नियम पालन गर्नका लागि जल आपूर्ति स्रोतहरू धारा, ट्यांकर आदि नजिक मानिसको संख्या बढ्न सक्ने, घुइँचो लाग्न सक्ने स्थितिमा खानेपानी आपूर्तिको समय बढाउनुपर्ने हुन्छ । ग्रामीण क्षेत्रहरूमा टेस्ट कीट उपलब्ध गराएर जलस्रोतको नियमित जाँच गर्ने अनि चौबीसै घन्टा खानेपानी आपूर्ति गर्नुपर्ने अवस्था छ । साबुनपानी प्रयोग गरी हात सफा राख्नुलाई कोरोना भाइरस संक्रमणबाट बच्ने एउटा प्रभावकारी उपाय मानिए पनि सबैका लागि स्वच्छ पानी उपलब्ध हुन नसकेको अवस्थामा वेलावेलामा हात धुनुचाहिँ कसरी ? 

हाम्रो देश विश्वका ती देशमध्ये एक पर्छ, जसमा समुदायको बसोवासनजिक स्वच्छ खानेपानीको उपलब्धता सबैभन्दा कम छ । हाम्रो आफ्नो परिवेशमा वर्तमान खानेपानी संकटको प्राकृतिक कारणमा पछिल्ला केही वर्षमा अनियमित एवम् न्यून वर्षा हुनु, खडेरी पर्नु एवम् जलवायु परिवर्तनको नकारात्मक प्रभाव देखिनु आदि कारण प्रमुख मानिएका छन् । मानवीय गतिविधिहरूका कारण हुने प्राकृतिक स्रोतहरूको प्रदूषण तथा कृषि एवं औद्योगिक क्षेत्रहरूमा उत्पादन वृद्धिका लागि जलको अनियन्त्रित दोहनले जलसंकटमा कैयौँ गुणा वृद्धि भएको छ । 

जनसमुदायमा पर्याप्त पानीको उपलब्धता एवम् व्यवस्थापन गर्नु लोककल्याणकारी राज्यको नैतिक जिम्मेवारी मानिन्छ, तर हाम्रो परिवेशमा भने राज्य संवेदनशील देखिँदैन । वर्तमानमा कोभिड–१९ को प्रलयकारी महामारीबाट सबैभन्दा बढी खतरा आर्थिक रूपले कमजोर वर्गलाई छ । यस समूहका मानिस प्रायः घना सहरी आबादी भएका क्षेत्रमा बसोवास गर्छन् । जहाँ सबैका लागि स्वच्छ खानेपानीको उपलब्धता निकै गाह्रो हुन्छ । त्यसै भएर होला, भारतको मुम्बई सहरमा कोभिड–१९ को महामारी फैलिँदा सुरुका दिनमा झुपडबस्तीका जनसमुदाय बढी प्रभावित भएको दृष्टान्त हाम्रा सामु छ । त्यसैले, राज्यले यस्ता क्षेत्रहरूका प्रत्येक परिवारसम्म स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने हुन्छ ।

स्वयंसेवी संस्था एवम् यस क्षेत्रमा काम गर्ने अन्य गैरसरकारी संस्था एवम् सामाजिक संस्थाहरूसँग सहकार्य एवम् सहयोग लिई पानीलगायत अन्य आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्नुपर्ने हुन्छ । यसका साथै कोभिड–१९ बारे सचेतना कार्यक्रम समुदायमा यथेष्ट मात्रामा सञ्चालन गरिनुपर्छ । जसले गर्दा यस रोगबाट संक्रमित समुदायको पहिचान गरेर तिनलाई चिकित्सकीय सहायता बेलैमा उपलब्ध गराउन सकियोस् । पानीको अनियन्त्रित दोहन एवम् प्रदूषण वर्तमान जलसंकटको सबैभन्दा प्रमुख कारण हो । त्यसैले स्वच्छ खानेपानीको आपूर्ति सुनिश्चित गर्नका लागि यस्तो प्रदूषण र अनियन्त्रित दोहनलाई नियन्त्रण गर्नु अत्यावश्यक छ । प्राकृतिक जल संरक्षण एवम् पानीको पुनः प्रयोगलाई प्रोत्साहित गरी जलसंकटको दबाब कम गर्न सकिन्छ । 

यस कोभिड–१९ को महामारीले हामीलाई एउटा पाठ सिकाइराखेको छ कि हामी यस शृंखलामा त्यति नै कमजोर छौँ, जति दुनियाँका सबैभन्दा कमजोर मानिस छन् । हामीलाई यो सुनिश्चित गर्नुपर्ने आवश्यकता छ कि सबैको सार्वजनिक स्वास्थ्यसम्म पहुँच होस् अनि कोही पनि यस भाइरसको सिकार नबनून् । पानीसँग पनि यस्तो समस्या छ । यदि जनसमुदायको सफा पानीसम्म पहुँच छैन भने तिनले महामारी फैलनलाई रोक्न सक्नेछैनन् । सबै कुराको चुरो यति मात्र हो कि स्वच्छ सफा पानी सबैका लागि सस्तो एवं सुलभ हुनुपर्छ । अन्यथा, हामीले कोभिड–१९ विरुद्धको युद्ध लड्न सक्नेछैनौँ ।  (कार्की सेवानिवृत्त वरिष्ठ पशुचिकित्सक हुन्)

सुझावित समाचार