अचम्मित बनाइरहेको फ्रान्सको विद्यार्थी आन्दोलन

शनिबार, १२ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • फ्रान्सेली शिक्षकहरूको अनुमानमा, कक्षाकोठामा मोबाइलको प्रयोग बन्द गरिएपछि विद्यार्थीले कक्षाकोठा र विद्यालयको जीर्ण अवस्थाबारे ध्यान दिन थाले र त्यसैले उनीहरूलाई सडकमा उत्रिन प्रेरित गर्यो ।

सन् १९९९ को चर्चित फिल्म ‘द म्याट्रिक्स’ हेर्नुभएको छ ? प्रदर्शनमा आएको २५ वर्ष नाघेको भए पनि त्यस फिल्मलाई २१औँ शताब्दीमा यथार्थमा बदलिन सक्ने सबैभन्दा डरलाग्दो प्राविधिक दुस्वप्नको सम्भावनाका रूपमा हेरिन्छ । फिल्मको कथा र विभिन्न दृश्यलाई विश्वभरका युवाले अहिले पनि व्यापक रूपमा ‘मिम’का रूपमा प्रयोग गर्ने गरेको पाइएको छ । फिल्मको छोटो सारांश यस्तो छ: कम्प्युटर ‘ह्याकर’ नियोले एक दिन अचानक सम्पूर्ण मानवहरूमाथि उन्नत मेसिनले नियन्त्रण गर्ने गरेको कुरा थाहा पाउँछ । मेसिनले मानिसलाई विशेष ‘पोड’मा कब्जामा राखेर भुलाउनका लागि तिनको दिमागमा भने ‘भर्चुअल’ वास्तविकता देखाउने गर्छन् । (मानिसको दिमागमा रोपिएको भर्चुअल वास्तविकतालाई जनाउन फिल्मको नामसमेत रहेको ‘म्याट्रिक्स’ प्रयोग गरिएको छ ।) जब नियो आफूवरपरको वास्तविक संसारबारे सचेत हुन्छ तब उसले उन्नत यन्त्रहरूविरुद्ध लडिरहेका समूहसँग मिलेर लड्ने निर्णय गर्छ ।

के फ्रान्सका युवाहरूले आज त्यस्तै जागरण अनुभव गरिरहेका छन् ? कतै युवाहरूको मोबाइल प्रयोग घटाउन सरकारले अपनाएको डिजिटल ‘डिटक्स (विशाक्त निरोध)’ले पछिल्लो विरोध प्रदर्शन र दंगाको अनपेक्षित परिणाम त निम्त्याएन ? उसो त देशव्यापी विरोध फ्रान्सका लागि नयाँ कुरा होइन । अन्य सम्पन्न देशमा नदेखिने दृश्य फ्रान्समा हरेक पाँच/दश वर्षमा सम्पूर्ण देश नै ठप्प हुने गरी देखिन्छ । तर, यस पटकको विरोध यति ठुलो थियो कि सरकार सेना उतार्न बाध्य भयो । गत अक्टोबर महिनामा लाखौँ फ्रान्सेली युवा विद्यार्थी आआफ्ना विद्यालयबाट बाहिर निस्किएर सामूहिक विरोध प्रदर्शनमा सामेल भए । उनीहरूको माग मुख्यतः फ्रान्सको नाजुक बनेको विद्यालयका पूर्वाधार सुधार गर्ने र विद्यालय तह पूरा गरेका हरेक विद्यार्थीले विश्वविद्यालय र डिग्री कार्यक्रम छनोट गर्ने अधिकार पुनः पाउनुपर्ने भन्ने थियो । विद्यार्थीका माग हेर्दा उनीहरूले फ्रान्सका सार्वजनिक विद्यालय प्रणाली सामाजिक गतिशीलताको इन्जिन बनोस् भन्ने चाहेको देखिन्छ । जबकि, अहिले देशमा युवाहरूमध्ये स्टार खेलाडी, क्रिप्टो क्षेत्रमा लगानी गर्ने समूह र प्रभावशाली परिवारबाट आएकाहरूले मात्र जीवनमा प्रगति गर्न सकेका छन् ।

विद्यार्थीले उठाएका समस्या नयाँ होइनन् । तर, अहिले जुन स्तरमा प्रतिक्रिया उत्पन्न भएको छ, त्यसले धेरैलाई अचम्मित बनाइदियो । पेरिसको एक विद्यालय पढाउने शिक्षिका मारा गोयेटको तर्कमा सेप्टेम्बरमा विद्यालयको माध्यमिक तहमा मोबाइल प्रयोगमा प्रतिबन्ध लागेपछि विद्रोहलाई बल पुगेको हुन सक्छ । अचानक विद्यार्थीको दिमाग ‘म्याट्रिक्स’बाट विच्छेद भएपछि उनीहरू आफू बाँचिरहेको संसारको गम्भीर वास्तविकताप्रति अवगत भएको गोयेटको विचार छ ।

यसको सुरुवात हुन्छ, मोबाइल–स्क्रिनविरुद्धको युद्धलाई आफ्नो असफल हुँदै गएको दोस्रो कार्यकालको विरासत बनाउने इमानुएल म्याक्रोनको निर्णयबाट । यसै उद्देश्यका साथ सन् २०२४ मा फ्रान्सेली राष्ट्रपति कार्यालय (एलिसी प्यालेस)ले युवाहरूमा डिजिटल प्रविधिको अधिक प्रयोगको प्रभावको विश्लेषण गर्न स्नायु–विशेषज्ञ र मनोचिकित्सकहरूसहित विज्ञहरूको एक प्यानल नै गठन गर्यो । अनुसन्धानका क्रममा १६ देखि १९ वर्ष उमेर समूहका युवा फ्रान्सेलीहरूले दैनिक पाँच घण्टाभन्दा बढी समय फोन चलाएर बिताउने गरेको पाइयो । यसले लामो समय एकाग्र हुन नसक्ने, जीवनशैली निष्क्रिय हुने र मानसिक स्वास्थ्य बढ्ने विज्ञहरूको प्यानलले पत्ता लगायो ।

प्यानलको प्रतिवेदन बाहिरिएपछि, संसद्ले १५ वर्षमुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जाल पहुँच प्रतिबन्धित गर्ने र माध्यमिक तहमा पनि फोन लान नपाइने कानुन पारित गर्यो, जुन नयाँ शैक्षिक सत्रबाट लागू गरियो । उसो त संवैधानिक अदालतले तुरुन्तै सामाजिक सञ्जाल प्रतिबन्धलाई उल्ट्यायो । तर, विद्यालयले भने तिनलाई कार्यान्वयनमा ल्याए । जब किशोरकिशोरीहरू गर्मीको बिदाबाट विद्यालय फर्किए, शिक्षकहरूले उनीहरूलाई आफ्नो फोन लकरमा छाड्न वा सिल गरिएको पाउचमा राख्न आग्रह गर्न थाले ।

पेरिसको एक उपनगरमा काम गर्ने एक जना शिक्षकले ‘ले ग्रान्ड कन्टिनेन्ट’ नामक जर्नलमा नाम नखुलाई लेखेको लेखमा रूपान्तरित कक्षाकोठाको यसरी वर्णन गर्छन्: ‘विगतमा ३० जना विद्यार्थी कुनै ‘जोम्बी’को समूहजस्तो भावशून्य देखिन्थ्यो ...तर नयाँ शैक्षिक सत्रबाट मोबाइल प्रयोगमा रोक लागेपछि मेरा विद्यार्थी पहिलेभन्दा बढी जीवन्त, बढी अन्तर्क्रियात्मक, बढी उत्साहित, पहिलेभन्दा बढी बालचञ्चलयुक्त देखिए । साथमा उनीहरूलाई व्यवस्थापन गर्ने चुनौती थपिएको छ । यसका कारण हामी शिक्षकले भने अलि बढी मिहिनेत गर्नुपर्ने भएको छ ।’ मसँग कुरा गरेका अर्का शिक्षकले पनि उस्तै अनुभव सुनाए । तिनका अनुसार स्मार्टफोनको आगमनपछि बिचको खाजा खाने समय प्रायः शान्त बनेको थियो । धेरै विद्यार्थी एकअर्कासँग कुराकानी गर्नै छाडेका थिए । उनीहरू प्रायः टिकटक चलाएर वा मोबाइलमा गेम खेलेर खाली समय कटाउँथे । तर, अहिले विद्यालय पुनः गुञ्जायमान हुन थालेका छन् र विद्यार्थीको हाँसोठट्टा पहिलेभन्दा चर्को सुनिन थालेको छ ।

साझा राजनीतिक चेतना निर्माणका लागि, मानिसहरूले एकांकीपनबाट बाहिर निस्कनु, एकअर्कासँग कुरा गर्नु र विश्वास निर्माण गर्नु आवश्यक हुन्छ । र, फ्रान्सका विद्यार्थीमाझ अहिले त्यही निर्माण भएकोजस्तो देखिन्छ । लामो समय डिजिटल संसारमा बिताउने विद्यार्थी भौतिक संसारमा बिउँझिएपछि उनीहरूका लागि राजनीतिक अभ्यास अब अनलाइनमा पोस्ट गर्नेभन्दा पर सडकमा पोखिएजस्तो छ । आखिर ठुला आन्दोलनलाई कहिलेकाहीँ सानै कारण पर्याप्त हुन्छ । जस्तो मे १९६८ फ्रान्समा उठेको एउटा युगलाई परिभाषित गर्ने विद्यार्थी आन्दोलन खासमा पेरिस विश्वविद्यालयको नान्टेरे क्याम्पसको छात्रावासमा महिला र पुरुष विद्यार्थीलाई सँगै रात बिताउन प्रतिबन्ध लगाएपछि सुरु भएको थियो ।

सन् १९६८ का विद्यार्थी पुस्ताले आजका विद्यार्थीले पनि केही समयका लागि गाय डेबर्डले भन्ने गरेको ‘दृश्यको समाज’लाई अवरुद्ध पारे । यो यस्तो संसार हो जहाँ वास्तविकता नै डिजिटल तस्बिरहरूको बाढी, प्रदर्शनकारी क्रियाकलाप र डिजिटल माध्यमबाट प्रवाह हुने सूचनाहरूद्वारा निर्मित हुन्छ । तर, यसको ठिकविपरीत, भौतिक वास्तविकता भने प्रत्यक्ष अनुभव गर्न सकिने खालको हुन्छ । अक्टोबर १७ का दिन पेरिस र प्रमुख सहरहरूलाई ढाकेको अश्रु ग्यासको मुस्लोमा एकअर्काको काँधमा काम मिलाएर उभिएका फ्रान्सका नयाँ पुस्ताले एक सामूहिकताको अनुभव सँगाल्यो । यस अनुभवले तिनलाई राजनीतिक जीवनका केवल दर्शक मात्र नभई स्वयं सहभागी (अभिनेता) बन्न सकिने क्षेत्र हो भन्ने ज्ञान दिएको छ ।

फ्रान्स सरकारले लागू गरेको डिजिटल ‘डिटक्स’ (शरीरबाट अनावश्यक खराब चिज निकाल्ने माध्यम) लागू गर्ने निर्णयले विद्यार्थी आन्दोलनलाई कत्तिको उत्प्रेरित गर्यो भन्ने कुरा अब समाजशास्त्रीको अध्ययनको विषय बनिसकेको छ । हुन त आन्दोलनलाई अघि बढाउने क्रममा विद्यार्थीले सामाजिक सञ्जालको पनि व्यापक प्रयोग गरे । ठुल्ठुला विरोध प्रदर्शनलाई स्मार्टफोनहरूको सहयोगले व्यापक लाइभस्ट्रिम गरियो । यस हिसाबले यो एक ‘हाइब्रिड’ विद्रोह बन्यो । 

तर, एउटा कुरा भने अहिले नै स्पष्ट छ, पछिल्लो विरोध प्रदर्शन विद्यालय क्षेत्रमा लागेको फोन प्रतिबन्ध उल्टाउन भएको होइन । सरकारले विद्यार्थीले आफ्ना मागहरू दर्ता गर्न सक्ने गरी एउटा प्ल्याटफर्म बनाएको छ, जहाँ ६० हजारभन्दा बढी उजुरीको प्रारम्भिक अध्ययन गर्दा सबैभन्दा बढी उजुरीकर्ता (७०%)ले स्कुलको अवधि धेरै लामो भएको गुनासो गरेका छन् । त्यस्तै ४८.२% ले कमजोर पूर्वाधार, विशेषगरी जाडोमा विद्यालयमा बढी चिसो हुने र गर्मीमा असह्य गर्मी हुने अवस्था रहेको उल्लेख गरेका छन् । केवल ९% विद्यार्थीले फोन प्रतिबन्ध उल्टाउन माग गरेका छन् । यस परिणामले पनि फ्रान्सका युवाहरू विद्यालय राम्रो होस् भनेर सडकमा उत्रिएका हुन् भन्ने देखाउँछ ।

दुई वर्षअघि राष्ट्रपति म्याक्रोनले घोषणा गर्दै भनेका थिए, ‘हामीले मोबाइल स्क्रिनमाथि नियन्त्रण कायम गर्नुपर्छ, न कि यसलाई हामीमाथि नियन्त्रण गर्न दिनुहुन्छ ।’ विडम्बना जसै किशोरकिशोरीहरू मोबाइल स्क्रिनरूपी ‘म्याट्रिक्स’बाट ब्युँझिए, त्यसपछि उठेको आँधीबेहरीले उनै म्याक्रोनलाई कार्यकालको अन्त्यतिर अत्यन्त अलोकप्रिय बनाइदियो । 

  • (लेखक ‘जर्मन काउन्सिल अन फरेन रिलेसन्स’का एसोसिएट फेलो हुन् । द गार्जियनबाट श्रवण उप्रेती अनुवाद ।)

सुझावित समाचार