प्रदेश २ मा मेरा समर्थक धेरै भएकाले विभिन्न चलखेल भइरहेका छन् : विमलेन्द्र निधि

शुक्रबार, १७ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसकाे प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार ६ प्रदेशमा उम्मेदवारी घोषणा हुँदै छ। तर, प्रदेश २ मा भने मतदाता नामावली नआँउदा प्रदेश अधिवेशनमा ढिलाइ हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ को मतदाता नामावलीसमेत प्रकाशन हुन सकेको छैन। 

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आज मतदाता नामावली प्रकाशन हुने जानकारी दिए। ‘प्रदेश २ बाहेकका प्रदेशमा शुक्रबार नोमिनेसन हुन्छ। ‘प्रदेश २ को मतदाता नामावली तयार भइनसकेकाले ढिलाइ भएको हो’, उनले नयाँ पत्रिकासँग भने,‘ ‘शुक्रबार मतदाता नामावली प्रकाशन हुन्छ र अधिबेशनले निरन्तरता पाँउछ।’

प्रदेश २ मा भएको ढिलाइलाई लिएर कांग्रेस उपसभापति विमलेन्द्र निधिले असन्तुष्टि जनाएका छन्। उनले विभिन्न बहानामा अधिवेशनमा ढिलाइ गरी चलखेल गरिएको आरोप लगाए। ‘प्रदेश २ मा मेरो समर्थकहरू धेरै भएकाले धेरै शीर्ष नेताहरूको आँखा लाग्यो। प्रदेश २ को बारेका जुनसुकै निर्णय लिँदा पनि कुनै न कुनै रूपमा ढिलाइ गर्दै आइएको छ’, उनले नयाँ पत्रिकासँग भने, ‘समयमै निर्णय हुने गरेको छैन। सुरुबाटै क्रियाशील सदस्यतामा पनि त्यो देखियो।’ 

उपसभापति निधिले कांग्रेसले प्रदेश २ को अधिवेशनका लागि संयोजक तोकिएका केन्द्रीय सदस्य रमेश रिजालसँग बुझ्दा केही दिन ढिला हुने जानकारी पाएको बताए । ‘उहाँले एकदुई दिन ढिला हुन्छ भन्नुभएको छ,’उनले भने,‘एकदु्ई दिन ढिला भएर मात्रै भएन अधिबेशन हुनुप–यो। प्रदेश २ मा अधिवेशनलाई लिएर विभिन्न चलखेल भइरहेका छन्।’

सुझावित समाचार