नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन्। शनिबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । नेता सिंहले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खलबलिनेरहेछ भन्ने पछिल्लो राजनीतिक घटनाक्रमले देखाएको पनि बताए ।
उनले भने, ‘केन्द्रको नेतृत्व यदि हामीले परिवर्तन गर्न सकेनौँ भने १३औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा ३० सिटमा झरेको पार्टी, अब फेरि हामीले सन्देश राम्रोसँग ग्रहण गरेर जनताले चाहेअनुसारको नेतृत्व परिवर्तन गर्न सकेनौँ भने कांग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ । कांग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खलबलिन सक्नेरहेछ भन्ने हालसालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ ।’