प्रस्तावित ताप्लेजुङ–दार्चुला हिमाली लोकमार्ग बन्न सकेको खण्डमा हिमाली फलफूल, अन्न, सिमी, जडीबुटी, मासु, ऊन, चिज, दूधजस्ता स्थानीय उत्पादनले बजार पाउनेछन् र यस क्षेत्रको कायापलट हुनेछ
संसारमा भूगोल र जनसंख्या जोड्ने पुरानो, सहज र व्यापक आधार पुल र सडकमार्ग नै हुन् । नेपालको सन्दर्भमा पनि सडक सञ्जालको निर्माण गति तीव्रतर रहेको छ । पूर्व–पश्चिम मेची–महाकाली जोड्ने चारवटा लोकमार्गमध्ये कुनै निर्माण सम्पन्न भई चालू अवस्थामा छन् भने कुनै–कुनै निर्माणाधीन अवस्थामा छन् । तराईको दक्षिणी भेग समेट्दै पूर्व–पश्चिम लम्बिएको हुलाकी लोकमार्ग कुनै खण्ड चालू र कुनै खण्ड निर्माणाधीन अवस्थामा रहेको छ । तराईको मध्यभेग समेट्दै पूर्व–पश्चिम लम्बिएको महेन्द्र लोकमार्ग चालू अवस्थामै रहेको छ ।
तराईको उत्तरी भेग, भित्री मधेस र चुरे पहाडका बस्तीहरू समेट्दै पूर्व–पश्चिम लम्बिएको मदन भण्डारी लोकमार्ग निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, पहाडका विभिन्न जिल्लालाई समेट्दै पूर्व–पश्चिम लम्बिएको मध्यपहाडी लोकमार्ग पनि निर्माणाधीन अवस्थामै रहेको छ । यस आलेखमा भने नेपालका हिमाली भेगका १८ जिल्ला जोड्ने गरी पूर्व–पश्चिम लोकमार्गको पाँचौँ शृंखलाका रूपमा’ ताप्लेजुङ–दार्चुला हिमाली लोकमार्ग’ को परिकल्पना गरिएको छ ।
नेपालका प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरी पाँच प्रदेशका हिमाली भेगका १८ जिल्ला जोडिने गरी परिकल्पना गरिएको यो लोकमार्गको प्रदेश नं. १ को ताप्लेजुङ जिल्लाको श्रीजंगा स्थानीय तह सुरु बिन्दु हुनेछ भने सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली स्थानीय तह अन्तिम बिन्दु हुनेछ । श्रीजंगाबाट पश्चिम लागेको यो लोकमार्गले ताप्लेजुङकै फुङलिङ, मेरिङदेन, मैवाखोलाजस्ता चार स्थानीय तह पार गर्नेछ । त्यसपछि संखुवासभाको सभापोखरी, खाँदबारी, सिलिचोङ हुँदै यो लोकमार्गले सोलुखुम्बु टेक्नेछ ।
सोलुखुम्बुका महाकुलुङ, सोताङ, दूधकोसी, सोलुदूधकुण्ड, लिखुपिके हुँदै रामेछाप जिल्लातर्फ यो मार्ग लाग्नेछ । रामेछापका उमाकुण्ड, गोकुलगंगा पार गरी यो लोकमार्गले दोलखाका जिरी, गौरीशंकर, कालिञ्चोक, भीमेश्वर हुँदै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी टेक्नेछ । त्यसपछि बाह्रबिसे, जुगल, पाँचपोखरी, थानपाल, हेलम्बु पार गरी रसुवा जिल्ला भेट्नेछ । रसुवाका गोसाइँकुण्ड, पार्वतीकुण्ड हुँदै धादिङको रुबी भ्याली पार गरेर यो लोकमार्गले गोरखाको चुमनुब्री हुँदै मनाङका नासोङ, चामे, नेस्याङ पार गर्नेछ । त्यसपछि मुस्ताङका घरपजोङ, बारगाउँ, मुक्तिक्षेत्र पार गरी पश्चिम लम्किने यस लोकमार्गले डोल्पाका छर्काताङसोङ, काइके, ठुलीभेरी, त्रिपुरासुन्दरी, मुड्केचुला पार गरी जुम्ला जिल्ला टेक्नेछ ।
जुम्लाका गुठीचौर, चन्दननाथ, कनकासुन्दरी हुँदै अगाडि बढेको लोकमार्गले मुगुका छायानाथ–रारा, सोरु र हुम्लाका सार्केगाड, खार्पुनाथ, सिमकोट पार गर्नेछ । त्यसपछि, दक्षिणपश्चिम ढल्किँदै बाजुराका हिमाली, बुढिनन्दा, गौमूल पार गरेपछि यो लोकमार्गले बझाङका मष्ट, जयपृथ्वी, सुरमा, बुनगाल पार गर्नेछ । अन्तिममा दार्चुलाका मर्मा, नौगढ, हुँदै महाकाली स्थानीय तहमा पुगेर यस हिमाली लोकमार्गले विश्राम लिनेछ । यसरी यस लोकमार्गले पाँच प्रदेशका १८ जिल्लाका हिमाली बस्तीहरू समेट्दै विकासको गति तीव्र बनाउन योगदान दिनेछ ।
हिमाली भेग सडक निर्माणका लागि तराई र पहाडभन्दा अप्ठ्यारो भूगोल हो । यही अवस्थालाई मध्यनजर गर्दै अप्ठ्यारो भूगोलमा दुई लेन र केही सजिलो भूभागमा तीन लेनको कालोपत्रे सडक बनाउन सकिन्छ । यो लोकमार्गले कोसी, गण्डकी, कर्णाली जलाधार क्षेत्र पार गरी मेची–महाकाली भेट्नुपर्ने भएकाले धेरै नदी, खोला र खोल्सामा लामाछोटा पुलको आवश्यकता पर्नेछ । यो लोकमार्ग करिब दुई हजारदेखि दुई हजार पाँच सय किलोमिटरसम्म लामो हुन सक्नेछ । यो लोकमार्ग बन्ने स्थानीय तहमा रहेका पुराना जिल्ला, क्षेत्रीय तथा स्थानीय, कृषि सडकहरूलाई नै स्तरवृद्धि गरी लोकमार्गमा परिणत गर्न पनि सकिनेछ । यस लोकमार्गले कतिपय हिमाली जिल्लाका सदरमुकामका साथै महत्वपूर्ण ठूला बस्तीहरू समेट्नेछ । यस लोकमार्गसँग ठाउँ–ठाउँमा उत्तर–दक्षिण लोकमार्गहरूको जम्काभेट हुनेछ ।
हिमाली भेगमा स्याउका बगैँचा वृद्धि हुनेछन् । जडीबुटी खेतीतर्फ आकर्षण बढ्नेछ । हिमाली फलफूल, जडीबुटी र ऊनका घरेलु उद्योग खुल्नेछन् । सो भेगमा चौँरी, भेडा, च्यांग्रापालनका ठूला–ठूला फर्महरू खुल्नेछन् । हिमाली फलफूल, अन्न, सिमी, जडीबुटी, मासु, ऊन, चिज, दूध आदि जस्ता उत्पादनले बजार भेट्टाउनेछन् । यो लोकमार्ग निर्माणले थप्ने सेवा सुविधाको वृद्धिसँगै हिमाली भेगमा पर्यटकको सागर उर्लनेछ । यसरी अप्ठ्यारो भूगोलका कारण पछाडि परेको भेग पनि लोकमार्ग निर्माणसँगै विकसित बन्न सक्नेछ ।