इथियोपियाको समस्याका लागि एक व्यक्ति जिम्मेवार

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण

इथियोपियाका युद्धरत पक्ष शान्तिवार्ताका लागि तयार भएनन् भने विकल्प निकै भयावह हुनेछ


हजारौँ मानिसको ज्यान गइसक्यो, २० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित छन् र झन्डै दश लाख भोकमरीको सामना गरिरहेका छन् । इथियोपियाका प्रधानमन्त्री अबी एहमदले दुई वर्षअघि टिग्रे क्षेत्रमा सैन्य आक्रमण सुरु गरेपछि इथियोपियामा द्वन्द्व सुरु भएको थियो । अहिले द्वन्द्व व्यापक विस्तार भइसकेको छ । पछिल्लो संकट जुन महिनादेखि बढ्न थालेको थियो । टिग्रेयन लडाकुले अधिकांश टिग्रे भेगलाई नियन्त्रणमा लिएर आत्मविश्वासका साथ उनीहरू छिमेकी क्षेत्रमा प्रवेश गरे । 

छोटो असहज अल्पविरामपछि सरकारी फौज अघिल्लो महिना विद्रोहीविरुद्ध जाइलाग्यो । तर, आत्मविश्वासी टिग्रेयन लडाकुले सरकारी फौजलाई पछाडि हट्न बाध्य बनाइदियो । त्यसयता, टिग्रे फौजले एकपछि अर्को रणनीतिक रूपमा महत्वपूर्ण सहर कब्जा गर्यो । हाल ऊ देशको राजधानी अदिसअबाबानजिक पुगेको छ । जवाफमा सरकारले देशव्यापी संकटकाल घोषणा गरेको छ भने प्रधानमन्त्री अबी युद्ध भड्काउने र कट्टर देशभक्तिपूर्ण भाषा प्रयोग गरिरहेका छन् । उनी नागरिकलाई हतियार बोक्न आह्वान गरिरहेका छन् । राजधानी र देशका अन्य भेगमा बसोवास गर्ने टिग्रेयन जातिविरुद्ध व्यापक धरपकड सुरु भएको छ । संयुक्त राष्ट्रसंघका १६ स्थानीय कर्मचारी हिरासतमा छन् । सहरहरूमा अव्यवस्थाको वातावरण व्याप्त छ । 

रणनीतिक रूपमा महत्वपूर्ण ‘हर्न अफ अफ्रिका’ क्षेत्रको संरक्षक तथा अफ्रिकाको दोस्रो घना मुलुक इथियोपिया विभक्त हुँदै छ । झन्डै तीन दशकदेखि अभ्यासमा रहेको जातमा आधारित देशको संघीय प्रणाली टुक्रिन सक्छ । तर, युद्धरत पक्ष सहमत देखिए अझै पनि वार्तामार्फत सहमति मात्र होइन, शान्ति सम्भव छ । अफ्रिकन युनियन र अमेरिकाको सहयोगमा दुई युद्धरत पक्षले देशलाई दुर्घटनाबाट बचाउन सक्छन् । 

थोरैले मात्र स्थिति आजको अवस्थामा पुग्नेछ भन्ने अपेक्षा गरेका थिए । प्रधानमन्त्रीले पनि यो स्थितिको कल्पना गरेका थिएनन् होला । अघिल्लो वर्ष नोभेम्बरमा प्रधाननमन्त्री अबी एहमदले टिग्रे प्रदेशको फौजविरुद्ध सैन्य आक्रमणको आदेश दिँदा उनले आक्रमण छोटो सर्जिकल स्ट्राइक हुने बताएका थिए । सर्जिकल स्ट्राइक ‘स्पष्ट, नियन्त्रित र कार्यान्वयन गर्न सकिने’ हुने व्याख्या गरिएको थियो । प्रधानमन्त्रीले एकपक्षीय रूपमा चालेको यो सैन्य कारबाहीले ‘इथियोपियन राज्यको पहिचान र चरित्र पुनर्निर्माणको अन्तिम अवरोध रहेको टिग्रे क्षेत्र’लाई केही हप्तामा सरकारको नियन्त्रणमा ल्याउने बताइएको थियो । तर, त्यो गम्भीर भूल साबित भयो । 

द्वन्द्व महिनौँ लम्ब्यिो र द्वन्द्वले ठूलो क्षति ल्याएको छ । यो सशस्त्र अभियानको सबैभन्दा ठूलो चोट आमनागरिकले व्यहोर्नुपरेको छ । धेरै ठाउँमा जातीय सफाया, यौनहिंसा र आमहत्याका घटना भएका छन् । यी गम्भीर अपराध इथियोपियाको सेना, उसलाई सघाइरहेको इरिट्रियन फौज र तिनका अन्य सहयोगी मिलिसियाबाट भएको छ । र, यसले समाजलाई त्राहिमाम बनाउनुका अतिरिक्त विभाजन वृद्धि गर्ने र ध्रुवीकरण गहिरो बनाउने काम गरेको छ । 

विगतमा पश्चिमको प्रशंसाका पात्र रहेका अबी एहमदले सन् २०१९ को नोवेल शान्ति पुरस्कारसमेत हासिल गरेका थिए । तर, हालको द्वन्द्वमा अबीले निभाएको भूमिकालाई लिएर उनको अन्तर्राष्ट्रिय आलोचना भइरहेको छ । मानवनिर्मित भोकमरी, आर्थिक ह्रास र व्यापक हिंसाका कारण इथियोपियाको परिस्थिति यति गम्भीर भइसकेको छ कि सरकारले लामो युद्ध थेग्न सक्दैन । 

विगतमा पश्चिमको प्रशंसाका पात्र रहेका अबी एहमदले सन् २०१९ को नोवेल शान्ति पुरस्कारसमेत हासिल गरेका थिए । तर, हालको द्वन्द्वमा अबीले निभाएको भूमिकालाई लिएर उनको अन्तर्राष्ट्रिय आलोचना भइरहेको छ । आलोचनाका बाबजुद यही वर्षको जुनमा सम्पन्न चुनावले अबी एहमदको सत्तामाथिको पकड थप बलियो बनेको छ । तर, चुनावले देशभित्रको द्वन्द्व कम गर्न कुनै सहयोग गरेन । त्यसपछि सरकारले शृंखलाबद्ध सैन्य असफलता भोग्यो । टिग्रेयन फौजले असाधारण प्रत्याक्रमण अभियान सञ्चालन गर्नुका अतिरिक्त आरोमिया क्षेत्रको विद्रोही समूह ओरोमो लिबरेसन आर्मीसँग सहकार्य सुरु गरेको छ । गत साता सात प्रतिपक्षी समूहसँग मिलेर यिनले एक गठबन्धन बनाएका छन् । गठबन्धनको उद्देश्यमा अबी एहमदको सरकारलाई विस्थापित गर्ने विषय पनि छ । 

प्रधानमन्त्री अबी एहमदका सैन्य विकल्पहरू खुम्चिँदै गएका छन् । उनको वैधानिकतामा पनि उल्लेख्य क्षति पुगेको छ । नयाँ विकासक्रमका कारणले उनको सरकारले वार्ताप्रति सकारात्मक रहेको बताउन थालेको छ । ‘हामी सधैँ लडिरहन सक्दैनौँ । हामी मात्र होइन, कुनै पनि मुलुक लामो कालसम्म लडिरहन सक्दैन । हरेक द्वन्द्व संवाद र शान्तिपूर्ण तरिकाले अन्त्य गरिनुपर्छ’ नोभेम्बरको प्रारम्भमा विदेश राज्यमन्त्री रेदवान हुसेनले कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय संगठनको ठूलो समूहसँग बताएका थिए । सरकारको वार्ताप्रतिको इच्छा सुनेपछि कूटनीतिज्ञ र क्षेत्रीय नेताहरूले युद्धविरामका लागि सक्रियता बढाएका छन् ।

उनीहरूको एक प्रकारको राजनीतिक सहमति हासिल गर्न चाहन्छन् । यसै उद्देश्यका साथ हर्न अफ अफ्रिका क्षेत्रका लागि अमेरिकाकी विशेष दूत जेफ्री फेल्टम्यानले इथियोपिया र केन्याका अधिकारीसँग भेटे । त्यस्तै, हर्न अफ अफ्रिका क्षेत्रका लागि अफ्रिकन युनियनका उच्च प्रतिनिधि ओलुसेगुन ओबासान्गोले पनि इथियोपिया सरकार र टिग्रे नेतृत्वसँग वार्ता सम्पन्न गरेका छन् । यो सुरुवात मात्र भएकाले धेरै काम गर्न बाँकी छ । मुख्यतः अमेरिका, अफ्रिकन युनियन र छिमेकी देशको समन्वयात्मक भूमिकाको आवश्यकता देखिन्छ । तिनले एक समावेशी र विश्वसनीय वार्ता आयोजना गराए दिगो राजनीतिक सहमतिको सम्भावना छ । अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध, दबाब र अनुदानजस्ता आफूसँग उपलब्ध हरेक औजारलाई प्रयोग गरेर दुवै पक्षलाई सहमतिमा आउन बाध्य बनाउनुपर्छ । 

अन्तिममा, इथियोपियाको भविष्य त्यहीँको पार्टीको व्यवहारमा निर्भर रहन्छ । अबीको मनशायप्रति आमरूपमा गम्भीर अविश्वास कायम छ । उनले युद्धविरामलाई सेना पुनर्संगठित गर्न, सशक्त र सबल बनाउन प्रयोग गर्छन् भन्ने डर धेरैमा छ । अर्कोतर्फ, टिग्रेयन र ओरोमो फौजमा अबीलाई अपदस्थ गरेर संक्रमणकालीन सरकार गठन गर्न सकिन्छ भन्ने विश्वास आएको छ । राजनीतिक गर्मीमाझ प्रधानमन्त्री अबी टिग्रेयन फौजलाई ‘क्यान्सर’ भनिरहेका छन् भने टिग्रेयन नेता उनी र उनको सरकारलाई ‘फासीवादी’को संज्ञा दिइरहेका छन् । दुवै पक्षका यस्तो चर्को गालीगलौज भाषाले सौहाद्र्रपूर्ण संवादको वातावरण सिर्जना गर्दैन ।

यद्यपि, सबै कुरा सकिसकेको छैन । दुवै पक्षले आफू विजयी हुने आशा लिँदा सहमति उनीहरूको विकल्पमा नपर्न सक्छ । तर, मानवनिर्मित भोकमरी, आर्थिक ह्रास र व्यापक हिंसाका कारण परिस्थिति यति गम्भीर भइसकेको छ कि दुवै पक्षले लामो समय युद्ध थेग्न सक्दैनन् । अबीको सरकारप्रतिको विश्वसनीयता उल्लेख्य कम भइसकेको छ । टिग्रेयन र ओरोमा नेतृत्वले पनि यदि मानवीय संकट कम गरेनन् भने उनीहरूको आमसमर्थन गुम्न सक्छ । दुवै पक्ष शान्तिवार्ताका लागि तयार भएनन् भने विकल्प निकै भयावह हुनेछ । 

सुझावित समाचार