अज्ञानताका कारण समकालीन भारतमा भिडले सिर्जना गरेको घृणायुक्त अपरिपक्व राजनीति मौलाउँदै छ, जहाँ भिड विज्ञापनबाट उर्दू भएकै कारण ‘जस्न’ शब्दलाई हटाउन माग गर्दै छ । यी भिडलाई रामायणका असंख्य गद्य तथा पद्य कविता/श्लोकहरू उर्दूमा अनुदित छन् भन्ने थाहा छैन । कुनै वेला उर्दू भाषामा लेखिएको रामलीला पन्जाबमा प्रदर्शन गरिन्थ्यो र अहिले पनि यो परम्परा फरिदाबादमा जारी नै रहेको छ । कन्नड भाषामा करिब चार हजारभन्दा बढी फारसी मूलका शब्दहरू रहेका छन् । कर्नाटक राज्यका गुलबर्गा, बेलगाव, बगलकोटलगायत थुप्रै सहरको उर्दू र फारसी भाषामा नामांकन गरिएको छ । भाषाका अध्येता कृष्ण कोल्हार कुलकर्णीले आदील शाहका पालामा कर्नाटकमा बोलिने कन्नड र फारसी मिश्रित रब्बान–ए–मोहल्ला उर्दू भाषामा गहन कृति नै प्रकाशित गरेका छन् ।
भाषा विकासको आफ्नै लय हुन्छ र यसलाई बलपूर्वक परिवर्तन गर्न सकिँदैन । खासमा भारतका प्रमुखमध्येका तीन भाषाको नाम नै ‘विदेशी’ रहेको छ अर्थात् ‘हिन्दी’ अरबी शब्द हो । त्यसैगरी ‘पन्जाबी’ फारसी शब्द हो र ‘उर्दू’ तुर्की शब्द हो । खजान्जी, फोटेदार, नेहरू, नद्दाफ, लोहार, बारा, बलौटेदार, कुम्हार, कुलाल, पेस्वालगायत कमसेकम तीन सय हिन्दू थरहरू उर्दू वा फारसी मूलका हुन् । उर्दू÷फारसीको प्रभाव संगीत एवं लोक संस्कृतिमा पनि प्रशस्त मात्रामा देख्न सकिन्छ ।
एक समकालीन कविले ‘कत्ल उर्दूका भी होता है इसी निस्बत से/लोग उर्दूको मुसलमान समझ लेते हैँ’ अर्थात् मुसलमानको भाषा भनेर उर्दू भाषाको हत्या नै गरिँदै छ भनेर सेर लेखेका थिए । वास्तवमा भाषालाई कुनै धर्मको आवश्यकता पर्दैन बरु धर्मलाई भाषाको आवश्यकता रहन्छ । भारतमा कुरानको पहिलो अनुवाद सिन्धी भाषामा मकदुम मोहम्मद हसिम थत्वीले सन् १७४९ मा गरेका थिए त्यसपछि क्रमशः मलयाली एवं अंग्रेजीमा अनुदित भएको थियो । ठिक विपरीत हिन्दू धर्मका ग्रन्थहरू फारसी एवं उर्दूमा शताब्दियौँ पहिले अनुदित भएका थिए । वेद, पुराण, गीता, महाभारत र रामायणका सात सयभन्दा बढी उर्दू अनुवाद छन् ।
उर्दू विद्वान् सिन काफ निजामले हालै आफ्नो पुस्तक ‘लफ्ज के दर पर’मा मत्स्यपुराण र पुराण परिशीलनका अंशहरूको अनुवाद गरेका छन् । इस्लामिक युगका महान हस्ती एवं संस्कृतका धुरन्धर विद्वान् अल बिरुनीले (ईशापूर्व ९७३ देखि सन् १०५०) आफ्नो ज्ञानकोष ‘किताब अल–बिरुनी फी तहकिक मा लि–अल–हिन्द’मा वेद र गीताका केही अंश अनुवाद गरेका थिए । पञ्चतन्त्रका कथाहरू ईस्वीको आठौँ शताब्दीमा ‘कलिलाह व दम्नाह’ शीर्षकमा अरबीमा अब्दुल्ला इबन ए मुकफ्फाले अनुवाद गरेका थिए । अमीर खुस्रो (सन् १२५३ देखि १३२५) वेद र पुराणमा पोख्त विद्वान् मानिन्छन् । उनका हिन्दवी (हिन्दी/उर्दू) पुस्तकहरू जोगिए पनि दुर्भाग्यवश संस्कृतका कृतिहरू जोगिएनन् ।
उर्दू भाषाको शब्द भएकै कारण विज्ञापनबाट ‘जस्न’ शब्द हटाउन माग गर्ने अतिवादी भिडलाई रामायणका असंख्य गद्य तथा पद्य उर्दूमा अनुदित छन् भन्ने थाहा छैन
इतिहासकार स्टेन्ली लेन–पुलका अनुसार असफल खोज यात्राका कारण चतुर मूर्ख कहलाइने मोहम्मद तुग्लक (सन् १२९० देखि १३५१) ‘संस्कृत भाषाका जेहेन्दार विद्यार्थी एवं ज्ञानी पुरुष’ थिए । दिल्ली सल्तनत (साम्राज्य)का सुल्तान फिरोज तुग्लक (सन् १३०९ देखि १३८८)ले पहिलोपटक वेद र र पुराणहरूलाई फारसी भाषामा अनुवाद गराउन निर्देशन दिएका थिए । ईस्वीको १५औँ शताब्दीका कास्मिरका शासक जैन उल अबिदिनले महाभारत एवं राजतरंगिणी अनुवाद गर्न अनुवादक नै नियुक्त गरेका थिए । अबिदिनको उद्देश्य हिन्दू दर्शन एवं संस्कृतिलाई विश्वभर फैलाउनु रहेको थियो ।
मुगल शासनकालमा सम्राट् अकबरको शासन अवधि (सन् १५४२ देखि १६०५)लाई वैदिक साहित्यको स्वर्णकाल नै भने पनि हुन्छ । अकबरले मुल्ला अब्दुल कादिर बदयुनीलाई अथर्ववेद, रामायण एवं सिंहासन बत्तिसीको अनुवाद गर्न नियुक्त गरेका थिए । अकबरले पण्डितहरूसँग काम गरेका दारा सिकोहलाई भागवत गीता र ५५ उपनिषद् अनुवाद गर्न मार्गप्रशस्त गरिदिएका थिए । यिनै अनुवादहरू पछि फ्रेन्च, जर्मन एवं अंग्रेजी अनुवादको आधार बन्न पुगे ।
भारतीय संस्कृति र भाषाहरूबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ र कुनै पनि राजनीतिक व्यवस्थाका लागि संस्कृति र भाषालाई अलग गर्न सम्भव नै छैन । १० हजारभन्दा बढी सहर एवं गाउँका नामहरू उर्दूमा छन् । थुप्रै हिन्दू र सिख समुदायमा दिइने नामसमेत उर्दू भाषाबाट लिइएका छन् । यहाँसम्म कि सबैभन्दा धेरै सम्मानित एवं पूजनीय कवि तुलसीदासले पनि मिस्किन, मुजरा, गरिब नवाज, मनसब्दार, रजाई, साहेब, सरताज, गुलामजस्ता उर्दू शब्दहरू आफ्ना कवितामा पटक–पटक प्रयोग गरेका थिए । तुलसीदास मात्रै होइनन् जयसी पद्मावतको पहिलो हिन्दी लघुकथा ‘रानी खेतकी कहानी’ पनि उर्दू लिपिमै लेखिएको थियो । स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीले भाषण गर्ने क्रममा समेत शब्द अपुग हुँदा निदा फज्लीको उर्दू सेर सुनाउन पुगेका थिए ।
द इन्डियन एक्सप्रेस