वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन्- जबराको गलत आचरणले न्यायपालिका कोल्याप्सको अवस्थामा पुग्यो

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायपालिका पतनको अवस्थामा पुगेको टिप्पणी गरेका छन्। संवैधानिक कानुन व्यवसायी मञ्चले मंगलबार नेपाल बार एसाेसिएसनको कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा मञ्चका अध्यक्षसमेत रहेका त्रिपाठीले यस्तो बताएका हुन्।

प्रजातान्त्रिक मुलुकमा न्यायपालिकाको विकल्प नभएको उल्लेख गर्दै उनले प्रधानन्यायाधीश नै समस्याको हिस्सा भएको बताए। ‘प्रजातान्त्रिक मुलुकमा न्यायपालिकाको विकल्प छैन। विकल्प सुधार मात्रै हो। संविधानले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको हुन्छ। त्यसको नेतृत्व प्रधानन्यायाधीशले गरेका हुन्छन्। तर, प्रधानन्यायाधीशको गैरआचरणले न्यायपालिका कोल्याप्सको अवस्थामा पुगेको छ,’ वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘प्रधानन्यायाधीश नै पार्ट अफ द प्रोब्लम भए।’

न्यायालय सामान्य नागरिकका लागि बनेको संस्था भएको उल्लेख गर्दै उनले प्रधानन्यायाधीश जबराले न्यायलाई किनबेचको वस्तु बनाएको आरोप लगाए। उनले भने, ‘न्यायपालिका प्रधानन्यायाधीशको प्राइभेट कम्पनी होइन। वकिल र न्यायाधीशका लागि मात्रै न्यायालय बनेको होइन। सामान्य नागरिकका लागि बनेको पब्लिक संस्था हो। प्रधानन्यायाधीशले न्यायलाई किनबेचको वस्तु बनाउनुभयो। नेतृत्व गर्न नसक्नेले नेतृत्व छाड्नुपर्छ।’

सुझावित समाचार