टिग्रेको भोकमरी रोक्न राष्ट्रसंघले पहलकदमी लिनैपर्छ

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण

इथियोपियाको टिग्रेमा युद्ध सुरु भएको एक वर्ष पुगिसक्दा पनि संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्ले कुनै पहलकदमी लिएको छैन । टिग्रेमा भोकमरीजन्य अवस्था रहेको र इथियोपियाली सरकारले सो क्षेत्रमा आवश्यक राहत सामग्री एवं सहयोग नपु¥याइरहेको भन्ने राष्ट्रसंघको आफ्नै मूल्यांकनका बाबजुद पनि उसले यस मुद्दालाई उपेक्षा गरिरहेको छ । आज वास्तविकताहरू परिवर्तित हुँदै गइरहेका छन् । इथियोपियाली सेनाको क्रमबद्ध हारसँगै विजेता टिग्रेली शक्ति एवं ओरोमो साझेदारहरू राजधानी अदिसअबाबानजिक पुग्दै छन् । यस्तो वेलामा राष्ट्रसंघसँग सकारात्मक पहल लिने अन्तिम मौका छ । अहिलेको न्यूनतम काम भनेको टिग्रे क्षेत्रको भोकमरी अन्त्य गर्ने एवं इथियोपियाका अन्य क्षेत्रमा बढ्दो मानवीय संकट रोक्न तुरुन्तै पहलकदमी लिनु हो ।

भोकमरी इथियोपियाली सरकारले छनोट गरेकै हतियार हो । टिग्रेलाई भोकमरीमा राख्ने प्रधानमन्त्री अबी अहमेदको योजना नै थियो । करिब आठ महिना उनको सेना र इरिट्रियाका साझेदारहरूले टिग्रेमा लुट मच्चाएका थिए । उनीहरूले खाद्य पदार्थको चोरी र आगजनी गरे, किसानलाई खेत जोत्न दिएनन् । अस्पताल, खानेपानीमा ठूलो विध्वंस मच्चाए । यति मात्रै होइन, उनीहरूले महिला एवं किशोरीलाई बलात्कार गरेर वा बलात्कारको धम्की दिएर आतंकित पारे र बाहिर आएको राहतसमेत आफैँले कुम्ल्याए । अबीले भोकमरी योजनाबद्ध र व्यवस्थित रूपमै लादेका थिए । टिग्रेका बासिन्दालाई कमजोर बनाएर उनीहरूलाई दण्डित गर्नु वा उनीहरूको समूल नाश गर्नु अबीको भित्री अभीष्ट थियो । जुनसुकै उद्देश्य भए पनि आफ्नो ज्यानै जोखिममा पर्ने अवस्थाका कारण टिग्रेली बासिन्दाको विजयी हुने दृढ संकल्पलाई दोब्बर बनाइदियो ।

गत जुनमा टिग्रेली प्रतिरोधले अवैध कब्जा जमाएर बसेका सेनालाई खेदे । अबीले व्यापक रूपमा गैरकानुनी नाकाबन्दी लादे अर्थात् खाद्य पदार्थ एवं औषधी टिग्रे क्षेत्रमा प्रवेश गर्न पाएन र त्यहाँबाट भोकमरीको खबर बाहिर आउन पाएन । राष्ट्रसंघको अनुमानअनुसार टिग्रे क्षेत्रमा ५० लाख मानिसलाई खुवाउन दैनिक सय ट्रक खाद्यान्नको आवश्यकता रहेको छ र यी ५० लाख मानिसमा करिब चार लाख चरम भोकमरीमा परेका छन् । र, यो आवश्यकताको १३ प्रतिशत खाद्यान्न मात्रै ढुवानी गर्न दिइएको छ । टिग्रेका बालबालिका दिनानुदिन कमजोर हुँदै गइरहेका छन् । तीमध्ये करिब २० प्रतिशत चरम कुपोषणको सिकार भएका छन् । पाँच गर्भवतीमध्ये चार महिला तीव्र रूपमा कुपोषित हुँदै गइरहेका छन् । काम गर्दागर्दै नर्सहरू भोकले बेहोस भइरहेका छन् ।    

जनताको बाँच्न पाउने अधिकारको सम्मान गर्दै राष्ट्रसंघले टिग्रेको समस्या समाधानका लागि विद्रोही टिडिएफ, ओरोमोलगायत समूहसँग वार्ता गर्नैपर्छ
 

 सतहमा आइरहेका भोकमरीका तस्बिर, समाचार एवं सूचनामाथि नियन्त्रण गर्न समाचार संस्थाहरूमाथि व्यापक रोक लगाउने प्रयास भइरहेको छ । यद्यपि सत्यलाई लुकाउन असम्भव छ र अबीले जनतालाई भोकमरीमा राख्दा पहिलेका नेतृत्वहरूले वैधानिकता गुमाएको इतिहास बिर्सेका देखिन्छन् । सम्राट् हैली सेलासीको सत्ता पनि सन् १९७३ को भोकमरीपछि पतन भएको थियो, सेलासीले भोकमरीलाई लुकाउने हरसम्भव प्रयत्न गरेका थिए । अपदस्थ भएका कर्नेल मेंगेन्स्टु हैली मारियमले सन् १९८४ को भोकमरीको अस्तित्वलाई नै अस्वीकार गरेका थिए र राष्ट्रिय सम्प्रभुता रक्षा गर्ने नाममा विद्रोही रहेका क्षेत्रमा वैदेशिक सहायता प्रवेश गर्न दिएका थिएनन् ।       

युद्धले भोकमरी निम्त्याउँछ । त्यसैगरी भोकमरीले पनि युद्ध निम्त्याउँछ । यो भयलाई सम्बोधन गर्ने उद्देश्यले राष्ट्रसंघले सन् २०१८ मा संकल्प २४१७ अपनाएको थियो, जसअनुसार ‘सशस्त्र द्वन्द्व र खाद्य असुरक्षाबीचको दुष्चक्र तोड्नुपर्ने आवश्यकता रहेको’ थियो । मानवीय संकटले इथियोपियामा युद्ध निम्त्याएको थियो । अन्तर्राष्ट्रिय परोपकारी संगठनहरूले इथियोपियामा ढिलाइ गर्दा टिग्रेली प्रतिरोधले सबै मामिला आफ्नो हातमा लिए । आफ्नो गृहक्षेत्रमा नियन्त्रण जमाइसकेपछि टिग्रे डिफेन्स फोर्स (टिडिएफ) ले आफ्ना सैन्य दस्तालाई सीमाक्षेत्रहरूमा तैनाथ गरेर आक्रामक रणनीति लिएका छन् । उनीहरूले यो भोकमरीलाई जसरी भए पनि अन्त्य गर्ने दृढ संकल्प लिएका छन् । टिडिएफको दस्ताले छिमेकी अम्हारा र अफर क्षेत्रमा आफ्नो पहुँच बढाउँदै जाँदा खाद्यान्न एवं औषधीमा नियन्त्रण बनाउन सफल भएका छन् । आउँदा दिनमा जिबुटीबाट आउने मार्ग पनि उनीहरूको नियन्त्रणमा पर्ने देखिन्छ । स्मरण रहोस्, सो मार्ग मानवतावादी सहयोग एवं अदिसअबाबा सीधै जोड्ने प्रमुख मार्ग हो । अबी अहिले पनि टिग्रेको मेकेले सहरमा वायुसेनाबाट आक्रमण गर्न उद्यत् छन् र नयाँ ड्रोन हतियार पनि खरिद गरिरहेका छन् । र, अबीले हालसम्म पनि बेरोकटोक मानवीय सहयोग गर्न अनुमति दिएका छैनन् ।    

अबीको जनतालाई भोकमरीको गर्तमा धकेल्ने योजना एक अन्तर्राष्ट्रिय अपराध हो, यसलाई शान्त पारेर थामथुम गर्नु हुन्न । यो अपराधको भण्डाफोर एवं नियन्त्रण हुनुपर्छ र अबीलाई अपराधका लागि दण्ड दिइनुपर्छ । जुनसुकै प्रतिकूलता किन नहोस् सहयोग रोकिनुहुँदैन र यही कानुन हो । राष्ट्रसंघ कानुन पालना गर्न प्रतिबद्ध हुनुपर्छ ।  बाँच्न पाउने अधिकारलाई लागू गर्न राष्ट्रसंघले समस्या समाधानका लागि धरातलीय यथार्थसँग सामना गर्नैपर्छ । यसको अर्थ हो, संयुक्त राष्ट्रले मानवीय सहयोगका लागि टिडिएफ, ओरोमोलगायतका समूहसँग वार्ता गर्नैपर्छ । यदि यो वार्ताले अबीको वैधानिकतालाई अवमूल्यन गर्छ भने पनि राष्ट्रसंघ पछि पर्नु हुन्न ।
अलजजिराबाट    

सुझावित समाचार