गत आर्थिक वर्ष २०७७/७८ मा विदेशी विनिमयदरमा भएको वृद्धिले नेपालको ऋण दायित्व नौ अर्ब ७० करोडले बढेको छ । ऋण लिँदाको समयभन्दा अहिले विदेशी मुद्राको भाउ बढ्दा नेपाललाई पौने १० अर्ब रुपैयाँ घाटा भएको हो । आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा नेपाली रुपैयाँसँगको तुलनामा विदेशी विनिमयदर औसत २.२२ प्रतिशतले बढेपछि ऋण दात्यिवसमेत वृद्धि भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गरेको छ ।
कार्यालयका अनुसार १ साउन २०७७ सम्ममा नेपालको विदेशी ऋणको मौज्दात १४ खर्ब ३३ अर्ब ४० करोड थियो । आर्थिक वर्ष २०७७/७८ मा तीन खर्ब ५२ अर्ब ७१ करोड ऋण थपियो । सोही आवमा सरकारले ६० अर्ब १६ करोड रुपैयाँ ऋण भुक्तानी ग¥यो । असार २०७८ सम्ममा विदेशी ऋणको अन्तिम मौज्दात १७ खर्ब २५ अर्ब ९४ करोड रुपैयाँ पुग्यो । तर, ३१ असार २०७८ को विदेशी विनिमयदरको गणनाका आधारमा अन्तिम ऋण मौज्दात १७ खर्ब ३५ अर्ब ६४ करोड हुन पुग्यो । यसरी नेपाललाई विदेशी विनिमयको भाउ बढ्दा झन्डै १० अर्ब रुपैयाँ नोक्सान भएको कार्यालयका प्रवक्ता ढाकाराम तिवारीले बताए ।
गत वर्षको तुलनामा अमेरिकी डलर, जापानिज येन र साउदी रियाल घटेको छ ने अरू सबै विदेशी मुद्रा बढेको देखिन्छ । ३१ असार २०७७ मा कायम रहेको विनिमयदरको तुलनामा ३१ असार २०७८ को विनिमयदरमा औसत २.२२ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । जसमा सबैभन्दा बढी एसडिआरको मूल्य १.३४ प्रतिशतले बढेको र अमेरिकी डलर १.१० प्रतिशतले घटेको छ ।
विनिमयदर परिवर्तन हुँदा आइपर्ने नोक्सान रोक्न आफ्नो मुद्रालाई बलियो बनाउनुबाहेकको विकल्प नरहेको तिवारी बताउँछन् । ‘सार्वजनिक ऋण लिने वेला नै ऋणको किस्ता तथा ब्याज तिर्ने म्याद तोकिएको हुन्छ, सोहीअनुसार हामीले डलर वा अन्य मुद्रा खरिद गरेर ऋण तिर्ने हो’ उनले भने, ‘त्यसैले सार्वजनिक ऋणको कारोबारमा फरेक्स लस कम गर्न आफ्नो मुद्राको मूल्य बढाउनुको विकल्प छैन ।’
सार्वजनिक ऋणको कारोबारमा फरेक्स लस कम गर्न आफ्नो मुद्राको मूल्य बढाउनुको विकल्प छैन
वर्षसम्मै ७२ अर्बसम्म विनिमय घाटा
नेपाल सरकारले वैदेशिक ऋण फरक–फरक वैदेशिक मुद्रामा लिने गरेको छ । ती मुद्राको विनिमयदरमा हुने परिवर्तनबाट वैदेशिक ऋण दायित्वमा पनि घटबढ हुने गरेको छ । २०७५ असार मसान्तको तुलनामा २०७६ असार मसान्तमा विनिमयदर सरदर १.६५ प्रतिशतले घटेको थियो । तर, २०७६ असार मसान्तको तुलनामा २०७७ असार मसान्तमा विनिमयदर सरदर ९.६९ प्रतिशत बढेको छ । विनिमयदर परिवर्तनका कारण आव २०७६/७७ मा ७२ अर्ब १६ करोड वैदेशिक विनिमय घाटा (फरेन एक्स्चेन्ज लस) हुन गएको कार्यालयको तथ्यांक छ ।
कुन–कुन मुद्रामा हुन्छ कारोबार ?
आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा नेपालको विभिन्न १८ वटा दातृ निकायसँग १० वटा सम्झौता मुद्रामा ऋण दायित्व रहेको छ । नेपालमा सबैभन्दा बढी वैदेशिक ऋण दायित्व एसडिआरमा ८०.३६ प्रतिशत रहेको छ । एसडिआर अन्तर्राष्ट्रि मुद्रा कोष (आइएमएफ)को मानक हो । एसडिआरको कुनै नोट वा सिक्का हुँदैन, तर यसको मान्यता विश्वव्यापी हुन्छ । तत्कालीन समयमा कुनै पनि मुद्राको एसडिआर भ्यालु कति छ भनेर हेरिन्छ र सोहीअनुसार कारोबार गरिन्छ । सो रकम अधिकांश अमेरिकी डलरमा कारोबार हुन्छ । त्यसपछि क्रमश: अमेरिकी डलर १०.५६ प्रतिशत र जापानी येन ४.४१ प्रतिशत मा रहेको छ । बहुपक्षीय सम्झौतामा एडिबी, आइडिए र आइफाडसँग एसडिआरमा र द्विपक्षीय सम्झौतामा भारत, इआइबी र ओफिडसँग युएसडीमा सम्झौता गरेको छ । एसडिआरमा गरेको सम्झौतामा पनि भुक्तानी मुद्रा अमेरिकी डलर नै हुने रहेको छ ।

