पिएकी आमालाई पनि नियुक्ति दिलाएका थिए जबराले

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश जबराले प्रस्टीकरण दिइरहेका छन्– ‘सदस्यका हैसियतमा संवैधानिक परिषद्मा मेरो उपस्थिति ल्याप्चे लगाउने मात्र होइन, न्याय क्षेत्रका विज्ञ र काबिललाई सिफारिस गर्नु हो । योग्यलाई मात्र सिफारिस गरेको छु ।’ तर, वास्तविकतामा उनले न्याय क्षेत्रका ‘भित्रिया’हरूलाई मात्र होइन, शिक्षण पेसामा संलग्न आफ्नै पिएकी आमालाई समेत संवैधानिक नियुक्ति दिलाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रस्टीकरण दिइरहेका छन्– ‘सदस्यका हैसियतमा संवैधानिक परिषद्मा मेरो उपस्थिति ल्याप्चे लगाउने मात्र होइन, न्याय क्षेत्रका विज्ञ र काबिललाई सिफारिस गर्नु हो । योग्यलाई मात्र सिफारिस गरेको छु ।’ तर, वास्तविकता त्यस्तो छैन । उनले न्याय क्षेत्रका ‘भित्रिया’हरूलाई मात्र होइन, शिक्षण पेसामा संलग्न आफ्नै पिएकी आमालाई पनि संवैधानिक निकायमा नियुक्ति दिलाएका छन् ।

   * संवैधानिक निकायमा नियुक्त आफ्ना मान्छेमार्फत ब्ल्याकमेलिङ गर्ने जबराको योजना हो : ओमप्रकाश अर्याल, अधिवक्ता

बार्गेनिङमा भागबन्डा लिएर प्रधानन्यायाधीश जबरा आफ्ना मान्छेलाई नियुक्ति दिने अनैतिक काममा सक्रिय भए । संवैधानिक निकायमा तत्कालीन प्रधानमन्त्री केपी ओली र जबराका मान्छे नियुक्त गरिएकाले सर्वोच्चमा त्यससम्बन्धी मुद्दाको सुनुवाइ धकेल्ने काम मात्रै भयो । नियुक्त गरिएका आफ्ना मान्छेमार्फत ब्ल्याकमेलिङ गर्ने यिनीहरूको रणनीति हो । यो न्यायिक आचरणविपरीत हो । यसकारण पनि जबरा प्रधानन्यायाधीशको कुर्सीमा बस्न अयोग्य छन् । 
 

राष्ट्रिय महिला आयोगको सदस्यमा नियुक्त सावित्राकुमारी शर्मा प्रधानन्यायाधीश जबराको स्वकीयसचिव पुष्पा तिवारीकी आमा हुन् । शर्माको पुर्ख्यौली घर पर्वतको सरौँ खोला हो । त्यहीँको स्थानीय लक्ष्मी भवन प्राथमिक विद्यालयमा उनी शिक्षिका थिइन् । करिब तीन–चार वर्षअघि मात्रै उनी अवकाश भएकी थिइन् । 

शर्माको पारिवारिक पृष्ठभूमी कांग्रेस समर्थक हो । तर, उनको नियुक्ति भने प्रधानन्यायाधीश जबराको कोटामा भएको स्रोतको दाबी छ । शर्माका श्रीमान् ज्ञानप्रसाद तिवारी विद्यार्थीकालमा नेवि संघको राजनीतिमा सक्रिय थिए । तर, पछि शिक्षण पेसामा संलग्न भए र लक्ष्मी भवन प्राविमै पढाउन थाले । उनी पनि अवकाश भइसकेका छन् । 

‘उनी त्यस्तो कांग्रेस राजनीतिमा सक्रिय होइनन्, पारिवारिक पृष्ठभूमि मात्रै हो । अहिले शर्माकी छोरी प्रधानन्यायाधीशको सचिवालयमा कार्यरत छिन् । प्रधानन्यायाधीश जबराले नै जोडबल गरेर आफ्नो कोटाबाट शर्मालाई नियुक्ति दिलाएका हुन्,’ स्रोतको भनाइ छ । शर्माकी छोरी पुष्पा न्यायिक प्रतिष्ठानमा कार्यरत थिइन् । जबराले उनलाई त्यहाँबाट सचिवालयमा तानेका थिए ।

शर्मा मात्रै होइन, करिब एक दर्जन संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशले भागबन्डा लिएको स्रोतको भनाइ छ । अध्यक्षका हैसियतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्ति सिफारिस गर्न बोलाएको संवैधानिक परिषद् बैठक सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बहिष्कार गरेका थिए । ओलीसँगै प्रधानन्यायाधीश जबरा र राष्ट्रिय सभा अध्यक्ष उपस्थित बैठकले विभिन्न संवैधानिक निकायमा ५२ जनालाई नियुक्तिको सिफारिस गरेको थियो । 

प्रधानन्यायाधीश जबराको पनि उपस्थिति नभएको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार नियुक्ति सिफारिस सम्भव नै थिएन । त्यसैले पनि त्यतिखेर आफ्ना मान्छेहरूको नियुक्तिमा हिस्सा माग्न जबराको ‘बार्गेनिङ पावर’ बढेको थियो । 

परिषद्को गत ३० मंसिरको बैठकले ३२ जना र २६ वैशाखको बैठकले २० जना नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइविना नै २१ माघ र १० असारमा उनीहरूको नियुक्ति भएको थियो ।

प्रधानन्यायाधीश जबराकै कोटामा सर्वाेच्चका पूर्वन्यायाधीश तपबहादुर मगरलाई मानवअधिकार आयोगको अध्यक्ष र मनोज दुवाडीलाई सदस्य नियुक्त गरिएको हो । त्यस्तै, मावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सिना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा किशोरकुमार सिलवाल तथा निर्वाचन आयोगको आयुक्तमा सगुनशमशेर जबरा र रामप्रसाद भण्डारी पनि प्रधानन्यायाधीशकै कोटाबाट नियुक्त भएको स्रोतको भनाइ छ । 

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था छ  । ६ सदस्यीय परिषद् बैठकमा अध्यक्ष र तीन सदस्य अर्थात् चारजना उपस्थित भए मात्रै गणपूरक संख्या पुग्ने व्यवस्थालाई ओली सरकारले अध्यादेशमार्फत संशोधन गरेर ‘तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भए गणपूरक संख्या पुगेको मानिने’ व्यवस्था गरेको थियो  । त्यसकै आधारमा गरिएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । तर, प्रधानन्यायाधीश जबराल सुनुवाइ नै अघि बढाएनन् । 

जबराले आफ्नो कोटामा क–कसलाई दिलाए नियुक्ति ?

महिला आयोगमा पिएकी आमा

सावित्राकुमारी शर्मा सदस्य, महिला आयोग

राष्ट्रिय महिला आयोगको सदस्यमा नियुक्त सावित्राकुमारी शर्मा प्रधानन्यायाधीश जबराको स्वकीयसचिव पुष्पा तिवारीकी आमा हुन् । शर्माको पुर्ख्यौली घर पर्वतको सरौँ खोला हो । त्यहीँको स्थानीय लक्ष्मी भवन प्राथमिक विद्यालयमा उनी शिक्षिका थिइन् । करिब तीन–चार वर्षअघि मात्रै अवकाश भएकी हुन् । शर्माको पारिवारिक पृष्ठभूमी कांग्रेस समर्थक हो । तर, उनको नियुक्ति भने प्रधानन्यायाधीश जबराको कोटामा भएको हो । शर्माका श्रीमान् ज्ञानप्रसाद तिवारी विद्यार्थीकालमा नेवि संघको राजनीतिमा सक्रिय थिए । तर, पछि शिक्षण पेसामा संलग्न भए । शर्माकी छोरी पुष्पा न्यायिक प्रतिष्ठानमा कार्यरत थिइन् । जबराले उनलाई त्यहाँबाट सचिवालयमा तानेका थिए ।

मानवअधिकार आयोगमा मगर

तपबहादुर मगर, अध्यक्ष मानवअधिकार आयोग

सर्वाेच्चका पूर्वन्यायाधीश तपबहादुरमगरलाई प्रधानन्यायाधीश जबराले यसअघि राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेका थिए । प्रतिष्ठानको अध्यक्ष  प्रधानन्यायाधीशले नै नियुक्त गर्ने व्यवस्था छ । निकट मगरलाई पछि राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमै सिफारिस गरे । 

पुराना सहकर्मीलाई नियुक्ति

मनोज दुवाडी, सदस्य राष्ट्रिय मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगको सदस्यमा नियुक्त मनोज दुवाडी प्रधानन्यायाधीश जबराका पूर्वसहकर्मी हुन् । जबरा र दुवाडीले अधिवक्ता किशोर अधिकारीको ल फर्ममा सँगै अभ्यास गरेका थिए । दुवाडी किशोरका भान्जा पनि हुन् ।

पुराना साथी अख्तियारमा

किशोकुमार सिलवाल आयुक्त, अख्तियार

पूर्वन्यायाधीश सिलवाल प्रधानन्यायाधीश जबराका पुराना साथी हुन् । विशेष अदालतमा हुँदा दुवैजनाको संयुक्त इजलासले गरेका थुप्रै फैसला विवादमा परेका थिए । जबरा प्रधानन्यायाधीश भएपछि सिलवाललाई विशेषबाट सरुवा गरेर उच्च अदालत पोखराको कामु मुख्य न्यायाधीश बनाएका थिए । पछिल्लोपटक आफ्नो कोटाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाए । आयोगमा नियुक्त भएपछि सिलवालले न्यायाधीशबाट राजीनामा दिएका थिए ।

तिमल्सेनालाई पटकपटक नियुक्ति

रामकृष्ण तिमल्सेना अध्यक्ष, समावेशी आयोग

सर्वोच्चका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेना प्रधानन्यायाधीश जबराका घनिष्ट हुन् । जबराले नै उनलाई संवैधानिक इजलासविज्ञ नियुक्त गरेका थिए । पछि आफ्नो कोटामा समावेशी आयोगको अध्यक्ष बनाए । ओली सरकारले मंसिरमा संवैधानिक निकायमा सिफारिस गर्दा तिमल्सेना आयोगको सदस्यमा सिफारिस भएका थिए । त्यतिखेर अस्वीकार गरेका उनी दोस्रोपटक जबराको कोटाबाट अध्यक्ष भए । 

निर्वाचन आयुक्तमा पनि दुई घनिष्ट

निर्वाचन आयोगको आयुक्तमा नियुक्त रामप्रसाद भण्डारी र सगुनशमशेर जबरा पनि प्रधानन्यायाधीश जबराकै कोटामा नियुक्त भएको उनीनिकट स्रोतहरूको दाबी छ । उनीहरू जबराका घनिष्ट हुन् ।

‘संकट टार्न’ जबराले गरेको प्रस्ताव न्यायाधीशहरूद्वारा अस्वीकार

संघर्षरत न्यायाधीशहरूको निष्कर्ष

कार्यपालिकासँग सौदाबाजी गरेर मन्त्रिपरिषद्देखि संवैधानिक निकायसम्मका नियुक्तिमा भाग खाँदा लागेको दाग मेटाउन र तत्काल आफ्नो संकटमोचन गर्दै न्यायाधीशहरूलाई फुटाएर पद लम्ब्याउन जबराको प्रस्ताव आएको हो

वैशाखपछि मात्रै पद छाड्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्तावलाई सर्वोच्चका संघर्षरत न्यायाधीशहरूले अस्वीकार गरेका छन् । कार्यपालिकासँग सौदाबाजी गरेर मन्त्रिपरिषद्देखि संवैधानिक निकायसम्मका नियुक्तिमा भाग खाँदा लागेको दाग मेटाउन र तत्काल आफ्नो संकटमोचन गर्दै न्यायाधीशहरूलाई फुटाएर पद लम्ब्याउन जबराको प्रस्ताव आएको उनीहरूको निष्कर्ष छ ।

प्रधानन्यायाधीश जबराले वैशाखसम्म अदालतको प्रशासनिक कार्य गर्ने र त्यसपछि सम्मानजनक रूपमा पद त्याग्ने प्रस्ताव सोमबार न्यायाधीशहरूसमक्ष पठाएका थिए । तर, यसमा लिखितम भने नगर्ने उनको ‘बटमलाइन’ थियो । जबरासँग छलफल गर्ने जिम्मा पाएका न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्माले उक्त प्रस्ताव न्यायाधीशहरूको बैठकमा सुनाएका थिए । उक्त प्रस्तावमा प्रधानन्यायाधीशको चालबाजी झल्किएको बैठकमा सहभागी एक न्यायाधीशले बताए । 

‘प्रधानन्यायाधीशको तर्फबाट ६ महिनापछि पद छाड्ने तर, लिखित सहमति भने नगर्ने भन्ने प्रस्ताव आयो । यस्तो अपरिपक्व कुरामा हामीलाई विश्वास छैन,’ ती न्यायाधीशले भने, ‘सहमतिको नाममा अहिले आफूमाथि लागेका दाग मेटाउने र वैशाखसम्म न्यायाधीशहरूबीच विभाजन ल्याएर आफ्नो पद लम्ब्याउन थप कदम चाल्ने चालबाजी हुन सक्छ ।’ 

प्रधानन्यायाधीशको प्रस्तावबारे बैठकमा धारणा राख्ने न्यायाधीशहरूले प्रतिनिधिसभा दोस्रोपटक विघटन गर्दाको प्रसँग उठाएका थिए । राष्ट्रिय महत्वको उक्त मुद्दामा जबराले वरिष्ठ न्यायाधीशलाई किनारा लगाएर स्वार्थ बाझिने आफूनिकट जुनियरलाई सुनुवाइमा राखेका थिए । त्यतिवेला न्यायाधीशहरू विद्रोहको तयारीमा रहँदा विवाद मिलाउन गरेका मौखिक सहमति जबराले कार्यान्वयन नगरेको भन्दै अहिले फेरि फस्न नहुने आवाज जोडदार रूपमा उठाएका छन् । त्यस्तै, पछिल्लोपटक २८ भदौमा बारबेन्च समन्वय समितिको बैठकमा पनि जबराले गणेश रेग्मी निवेदक रहेको रिट संवैधानिक इजलासमा पठाउने सहमति गरेर पालना नगरेको विषय बैठकमा उठेको थियो । उक्त रिट हेर्न जबराले डिभिजन बेन्च तोकेका थिए । 

‘प्रतिनिधिसभा विघटनजस्तो राष्ट्रिय महत्वको मुद्दामा उहाँ (प्रधानन्यायाधीश जबरा)ले वरिष्ठ न्यायाधीशलाई किनारा लगाएर स्वार्थ बाझिने आफूनिकट जुनियरलाई सुनुवाइमा राख्नुभएको थियो । आफूहरू विद्रोहका लागि तयार भएपछि विवाद मिलाउन मौखिक सहमति गर्नुभएको थियो । तर, पालना गर्नुभएन । त्यस्तै, बारबेन्च समन्वय समितिको बैठकमा गणेश रेग्मीको रिट संवैधानिकमा पठाउनेबारे गरेको सहमतिसमेत पालना भएन, डिभिजन बेन्च तोक्नुभयो,’ बैठकमा सवाल उठाएका न्यायाधीशलाई उद्धृत गर्दै ती न्यायाधीशले भने, ‘त्यस्तो उच्चस्तरीय बैठकमा बोलेको वचन त पालना गर्नुभएन । पटक–पटक प्रतिबद्धता कार्यान्वयन नगर्ने उही व्यक्तिलाई फेरि कसरी विश्वास गर्ने ?’ यसमा सबै न्यायाधीशको समान धारणा रहेको उनले बताए । बिदामा रहेकाबाहेक सबै १६ न्यायाधीश सोमबारको बैठकमा उपस्थित थिए ।

एक न्यायाधीशका अनुसार तीन न्यायाधीश रहेको अनौपचारिक समितिले आइतबार साँझ नै प्रधानन्यायाधीशलाई भेटेको थियो । प्रधानन्यायाधीशलाई ‘सेल्फ एक्जिट’ (स्वयं राजीनामा) गर्न प्रस्ताव गरेकोमा मध्यमार्गी बाटोमा जाऊँ भन्दै तत्काल नछाड्ने जवाफ दिएको उनीहरूले न्यायाधीशहरूको बैठकमा सुनाएका थिए । 

वार्ता भने जारी राख्ने न्यायाधीशहरूको निर्णयअनुसार समितिले सोमबार पनि जबरालाई भेटेको छ । समितिका एक न्यायाधीशले भने, ‘हामी मध्यस्थकर्ता हौँ । हामीले न्यायालयको गरिमा यहाँसहित सबै न्यायाधीशको हातमा छ भन्यौँ । बार पनि आन्दोलनमा छ, सेवाग्राहीलाई समस्या छ, त्यसैले यो विषयमा संवेदनशील बनौँ भनेर आग्रह गरेका छौँ ।’ 

यता, नेपाल बार एसोसियसनले पनि प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने अडान दोहो-याएको छ । जबराको राजीनामा माग्दै बारले सोमबार दोस्रो दिन पनि सर्वोच्च अदालत प्रांगणमा एक घन्टा धर्ना दियो । ‘अहिले पनि हाम्रो बटमलाइन प्रधानन्यायाधीशको राजीनामा नै हो । राजीनामा नआएसम्म आन्दोलन रोकिँदैन,’ उपाध्यक्ष रक्षा बस्यालले भनिन्, ‘उहाँले सहज वातावरणमै मार्गप्रशस्त गर्नुहुनेछ भन्नेमा आशावादी छौँ ।’ 

बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै बुधबारसम्मका लागि विरोधका कार्यक्रम तय गरिसकेको छ । मंगलबार धर्नासँगै विरोधसभासमेत गर्ने कार्यक्रम छ । ‘मंगलबार एक घन्टाको धर्ना सकिएपछि केहीबेर बारका साथीहरू, वरिष्ठ अधिवक्ताहरूलगायतले मन्तव्य राख्ने कार्यक्रम छ । आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि आफ्नो धारणा राख्नुहुनेछ । बुधबार धर्ना कार्यक्रम समापन छ । त्यसपछि परिस्थिति हेरेर बैठक बसेर थप निर्णय गर्छौँ,’ अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने । 

न्यायाधीशहरूले हेर्न थाले बन्दीका मुद्दा, अरू मुद्दा नहेर्ने
वैशाखसम्म प्रशासनिक कार्य गर्ने चाहना राखेका जबराले आफू एकल वा संयुक्त कुनै पनि इजलासमा नबस्ने प्रस्ताव पनि गरेका छन् । त्यस्तै, न्यायालय सुधारका लागि हरिकृष्ण कार्की प्रतिवेदनले तोकेबमोजिम गोलाप्रथा वा स्वचालित प्रणाली सक्दो छिटो सुरु गरेर सोहीअनुसार पेसी तोक्ने, प्रतिवेदनले औँल्याएका अन्य सुधारका कार्यक्रम लागू गर्दै लैजाने पनि जनाएका छन् । यी सबै न्यायाधीशहरूले उठाउँदै आएका माग हुन् ।

प्रधानन्यायाधीश इजलासमा नबसे बन्दीका मुद्दा हेर्नुपर्ने विषयमा न्यायाधीशहरू केही दिनदेखि नै छफलमा थिए । आफूअनुकूल वातावरण निर्माणमा प्रयत्नशील प्रधानन्यायाधीशले सोमबार न्यायाधीशहरूको मनस्थितिअनुसार इजलास तोके । आफ्नो इजलास नतोकेका उनले १० न्यायाधीशका लागि ६ वटा इजलास तोके । सबैमा बन्दी प्रत्यक्षीकरणका एक–एकवटा मुद्दा मात्र थिए । अघिल्लो सोमबारदेखि इजलास ‘बहिष्कार’ गर्दै आएका न्यायाधीशहरू एक सातापछि सोमबार इजलासमा बसे । चियाब्रेकअघि भएको छलफलको निष्कर्षअनुसार उनीहरू इजलास बसेका हुन् । बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा भने नहेर्ने निर्णय भएको एक न्यायाधीशले बताए । 

सोमबार न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुँयाल, आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा, कुमार चुडाल, बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार रेग्मीलाई इजलास तोकिएको थियो । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत, प्रकाशकुमार ढुंगाना र सुष्मालता माथेमालाई भने कुनै पनि इजलास तोकिएको थिएन । 

* (नयाँ पत्रिका दैनिकको मुख्य समाचारमा अधिवक्ता ओमप्रकाश अर्यालको फोटो हुनुपर्ने ठाउँमा अर्कै फोटो पर्न गएकोमा क्षमा माग्दै भुल सुधार गरिएको छ - प्रधान सम्पादक)

सुझावित समाचार