अहिलेको सरकार सात दिनमा ढाल्न सकिन्छ तर चाहना छैन : केपी ओली (भिडियोसहित)

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफूले चाहेमा अहिलेको सरकार सात दिनमा ढाल्न सक्ने बताएका छन् । एमाले भरतपुर महानगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले सात दिनमा सरकार ढाल्न सक्ने बताएका हुन् । 

‘हामीले चाहाने हो भने सात दिनमा सरकार ढाल्न सक्छौँ तर हामी सरकार ढाल्न हतारो गर्दैनौँ । विपक्षीलाई फकाउन, मिलाउन  समय खेरा फाल्नभन्दा हामी तयारीमा छौँ । आगामी चुनावमा धोबीले लुगा पछारे जसरी यिनीहरूलाई पछार्नुपर्छ ।’ ओलीले भने । 

पवित्रभूमि चितवनमा प्रचण्डका लागि गत निर्वाचनमा भोट माग्न आएर आफूले गल्ती गरेकोसमेत उनले बताए । ‘हामीले अध्ययन गर्दै जाँदा, खोज्दै जाँदा भगवान भनेर पुजिरहेका रामको जन्मभूमि चितवन रहेछ,’ ओलीले भने, ‘रामको जन्मभूमि यही रहेछ, रामायण लेखिएको वाल्मीकि आश्रम, त्रिवेणीलगायतका अनेक पक्ष यही छन् । सीता अन्तरध्यान भएको देवघाट यहीँ छ । अनि यस्तो ठाउँमा अघिल्लोपटक म दुई–दुईपटक आएर के काँधमा बोकेर ल्याएर प्रचार गर्दै हिँड्ेछु, म छक्कै परेको छु अहिले ।’


आउँदो महाधिवेशन चितवनमा गर्नु सामान्य प्रक्रिया भएको भन्दै ओलीले यस विषयमा कसैले पनि टाउको दुखाउन नपर्ने बताए । ‘महाधिवेशन नगरे पनि गरे पनि यो जिल्ला आगामी निर्वाचनमा एमालेले जित्छ,’ ओलीले भने, ‘म त धोका पाएर दुईपटक भोट माग्न आएँ, अब जनताले कहाँ भोट दिन्छन् । जालझेल गरेर अदालत मिलाएर गरेको रहेछ भनेर थाहा भइसक्यो अब कहाँ भोट आउँछ ? अब सूर्यका दिन आए ।’

अहिलेको पाँचदलीय गठबन्धन समाजवादी यात्राको संकल्प भत्काउन बनाइएको प्रतिक्रियावादी गठबन्धन भएकोसमेत आरोप लगाए । उनले एमालेले मात्र देश बनाउन सक्ने दाबी पनि गरे ।

सुझावित समाचार