असान्जलाई अमेरिकासमक्ष सुपुर्दगी गरियो भने उनले जासुसीको मुद्दा खेप्नेछन् र त्यहाँको अदालतमा कसुर पुष्टि भए उनले एक सय ७५ वर्षको जेल सजाय पाउनेछन्
सन् १७९१ मा आधुनिक अमेरिकाका संस्थापकमध्ये एक थोमस पेइनको महान् कृति द राइट्स अफ म्यानको पहिलो भाग प्रकाशन रोक्नका लागि तत्कालीन बेलायती सरकारले प्रतिलिपि अधिकार खरिद गर्न खोजेको थियो । प्रकाशकले बिक्री गर्न अस्वीकार गरे । लगत्तै अर्को वर्ष जब द राइट्स अफ म्यानको दोस्रो भाग प्रकाशित भयो, तब सरकारले पेइनमाथि राज्यद्रोहको अभियोग लगायो । क्रुद्ध पेइनले आफ्नो पुस्तकमा प्रकाशित धोकाधडीको पर्दाफास, युद्ध अन्त्य एवं विश्वशान्तिलगायत विषय उद्धृत गर्दै ‘यदि यी कुरा लेख्नु अपराध हो भने मलाई अपराधी करार गर्नेको नाम मेरो चिहानमा लेखिदिनू’ भनेका थिए ।
यो घटना भएको २०० वर्ष भइसक्दा पनि विश्वभरिका सरकारहरू आफूअनुकूल नरहेका सूचना दबाउन, अभिव्यक्ति स्वतन्त्रता हनन गर्न र महत्वपूर्ण सूचना खुलाउने मानिसलाई दण्डित गर्न उद्यत देखिन्छन् । आजका दिनहरूमा अमेरिकी सरकार जुलियन असान्जको सुपुर्दगी रोक्ने आदेशलाई उल्ट्याउन उद्यत रहेको छ । २७ र २८ अक्टोबरमा हुने सुपुर्दगीसम्बन्धी सुनुवाइका लागि गरिएको पुनरावेदनमा लन्डनको उच्च अदालतले विकिलिक्सका संस्थापक असान्जलाई अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्नेबारे फैसला गर्नेछ । यदि असान्जलाई अमेरिका सुपुर्दगी गरियो भने उनले जासुसीको मुद्दा खेप्नेछन् र त्यहाँको अदालतमा उनको कसुर पुष्टि भए उनले एक सय ७५ वर्षको जेल सजाय पाउनेछन् ।
अमेरिकी अभियोजनकर्ताहरूले असान्जले पूर्वअमेरिकी गुप्तचर विश्लेषक तथा मुखबिर (ह्विसलब्लोअर) चेल्सी म्यानिङसँग षड्यन्त्र रचेर गोप्य सूचना हासिल गरेको आरोप लगाएका छन् । अभियोजनकर्ताहरू ती सूचना र प्रमाणलाई असान्जले सार्वजनिक गरेर अमेरिकी सम्पत्तिलाई जोखिममा राखेको आरोप लगाइरहेका छन् । अमेरिकाले जुलियन असान्जलाई सख्तीसाथ कठोर जेलमा नराख्ने वा एकान्त काराबासमा राख्नेजस्ता यातना नदिने निर्णयको सुनिश्चितता गरेको छ । यद्यपि यी सुनिश्चिततालाई उल्ट्याउने अधिकार आफूसँग रहेको स्वीकारोक्तिले अमेरिकी प्रत्याभूति सन्देहास्पद देखिन्छ । बेलायतमा रहेको इक्वेडरको राजदूतावासमा शरण लिइरहेका बखत अमेरिकी गुप्तचर निकाय सिआइएले असान्जको अपहरण वा हत्या नै गर्ने योजनाको खुलासा भएको वेला असान्जसँग नरम रूपमा पेस हुने अमेरिकी वाचा थप सन्देहास्पद बनेको छ । र, यो खुलासाले अमेरिकाको राजनीतिक उद्देश्यलाई थप उजागर गरेको छ । यी खुलासा सतहमा आएर अदालतमा प्रस्तुत हुँदा पनि अमेरिकी सरकारले विरोध जनाएको छैन । अर्थात् अमेरिकी सरकारले सरकारसम्बद्ध व्यक्तिहरूले इक्वेडर दूतावासमा, असान्जका परिवार, सहयोगीहरूको घर र वकिलको कार्यालयमा जासुसी गरेको भन्ने आरोपको खण्डन गरेको छैन ।
अमेरिकी सरकारको अभियोगले अमेरिका र विश्वका अन्य मुलुकका प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गराएको छ । अभियोगमा भनिएका अधिकांश आचरण पत्रकार एवं प्रकाशकले दैनिक रूपमा गर्ने आचरण नै रहेका छन् । यदि उनको सुपुर्दगी हुने हो भने पत्रकारिताका सामान्य अभ्यासको अपराधीकरण हुनेछ । विश्वसनीय स्रोतका आधारमा सरकारका गल्ती एवं अपराधको खुलासा गर्ने पत्रकार एवं अन्य व्यक्तिलाई पर्ने सम्भावित भयावह असरले आमजनताको उनीहरूको सरकारले के गरिरहेको छ भनेर थाहा पाउने अधिकारलाई कुण्ठित गर्नेछ । विश्वभरि प्रेस स्वतन्त्रतामा भइरहेको निरन्तर हमलाका वेला असान्जलाई चुप लगाउने कामलाई सबैले महसुस त गर्नेछन्, तर यसले पत्रकारहरूमा प्रत्यक्ष एवं परोक्ष रूपमा अभियोगको भय सिर्जना गरेर थप असर गर्नेछ ।
गोप्यता कायम गर्नुपर्ने दायित्व अर्थात् ‘नन–डिस्क्लोजर अब्लिगेसन’ नभएको, अमेरिकी नागरिक नभएको र अमेरिकामा बसोबास नभएको व्यक्तिलाई जासुसीको अभियोग लगाउनुले अमेरिकाले सरकारका गलत कामहरूको सूचनाको खुलासा गर्ने व्यक्तिलाई पक्राउ गर्न विश्वभरि आफ्नो न्यायिक क्षेत्राधिकार भएको देखाउन खोजिरहेको भान हुन्छ । बेलायती अदालतले विगत १८ महिनादेखि लन्डनको एक कडा सुरक्षा प्रबन्ध भएको जेलमा राखिएका कमजोर मानसिक स्वास्थ्य भएका असान्जले अमेरिकाका खराब अवस्थाका जेलहरूमा राखिँदा आत्महत्या गर्नेसम्मको जोखिम रहेको पाएको छ ।
२७ अक्टोबरका दिन एम्नेस्टी इन्टरनेसनलका सचिव जेनरल एग्नेस केलामार्डले अमेरिकी अधिकारीलाई असान्जविरुद्ध लगाएका अभियोग हटाउन आग्रह गरेकी छिन् । र, केलामार्डले बेलायती अधिकारीलाई असान्जलाई सुपुर्दगी नगर्न र तुरन्तै रिहा गर्न माग गरेकी छिन् । ‘२० वर्षयता अफगानिस्तान एवं इराकमा अमेरिकी युद्ध अपराधका लागि हालसम्म कसैलाई जवाफदेही बनाइएको छैन वा अभियोजनसमेत लगाइएको छैन, तर ती २० वर्षका अमेरिकी युद्ध अपराधको खुलासा गर्ने प्रकाशकले भने सम्भवतः आजीवन काराबास भोग्नेछन्’ केलामार्ड भन्छिन् । ‘असान्जलाई अमेरिकी सरकारले भएजति सामथ्र्य लगाएर पक्राउ गर्नुले उनलाई दण्डित गर्ने नै मनसाय राखेको देखिन्छ । यो मुद्दा एक व्यक्तिको नियतिमा सीमित छैन । यसले प्रेस स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर जोखिममा पार्नेछ’ केलामार्ड थप्छिन् । सरकारलाई निगरानी गर्न र मानवअधिकार हनन गर्नेलाई कठघरामा ल्याउन मुखबिर, प्रकाशक एवं पत्रकारको भूमिका निकै महत्वपूर्ण हुन्छ । असान्जमाथि लगाइएका आरोपलाई खारेज गरिनुपर्छ र उनलाई तुरुन्तै रिहा गर्नुपर्छ ।
(साइमनोइट्ज पत्रकार, प्रसारक एवं विश्लेषक हुन्)
अलजजिराबाट