नास्टले भौतिकशास्त्रका रिसर्च प्रोफेसरहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । केही परियोजना बनाई कार्यान्वयन पनि गरिरहेको छ, तर यतिले मात्र देशको उन्नति सम्भव छैन ।
भौतिकशास्त्र विश्वमै प्राथमिकताको विषय हो । नेपालमा भौतिक विज्ञान अध्ययन–अध्यापन सुरुवातको इतिहास लामो छैन । यो विधाले यथोचित फट्को मार्न पनि सकेको देखिन्न । निरन्तर कडा मिहिनेत चाहिने हुँदा पनि यसलाई अलि कठिन विषयका रूपमा हेरिने गरेको छ । यद्यपि, यो विषय अति नै जीवनोपयोगी छ । हाम्रो सिकाउने र सिक्ने तौरतरिका उचित नभएर होला, भौतिक विज्ञान पढ्ने विद्यार्थीको संख्या घट्दो छ ।
त्रिविको केन्द्रीय तथा आंगिक क्याम्पसहरूले बर्सेनि सयौँको संख्यामा भौतिकशास्त्री उत्पादन गर्छन्, तर ती कहाँ छन् र के गर्दै छन्, लेखाजोखा कतै छैन । अति जीवनोपयोगी भएर पनि भौतिकशास्त्रप्रति एकखाले अलगाव देखिन्छ । विज्ञान मन्त्रालयले भौतिक विज्ञानलाई उचित प्राथमिकतामा राख्न सकेको छैन । समय बदलिएको छ । आजभोलि विद्यार्थीहरू प्राविधिक विषय पढ्न र छिटो–छिटो कुनै कार्य, पेसामा लाग्न चाहन्छन् । हालको त्रिविको भौतिकशास्त्रको स्नातकोत्तर प्रवेश परीक्षालाई उदाहरणका रूपमा लिन सकिन्छ । कुनै वेला भौतिकशास्त्रमा स्नातकोत्तर गरेको भनेपछि पाइने मानसम्मान र अहिले यसलाई हेर्ने दृष्टिकोणमा धेरै नै फरक छ । अहिले भौतिकशास्त्रीहरूका लागि निजी उच्च माध्यमिक विद्यालयहरूमा शिक्षक हुनुको विकल्प छैन ।
कतिले निजी उच्च माध्यमिक विद्यालयमा पढाउने जागिर पाए पनि सेवाको उचित मूल्य नपाउँदा धेरै निराशापूर्ण जीवन जिउन बाध्य छन् । कतिपयले होम ट्युसनमै चित्त बुझाउनुपरेको छ । लोकसेवा आयोगमा खुल्ने पदहरू तुलनात्मक रूपमा धेरै नै कम छन् । यस क्षेत्रमा लोकसेवा आयोगको फारम भर्नु भनेको एकातिरको पहिरो अर्काेतिरको झलुंगे पुल जस्तो हुन्छ । आफ्नो उत्पादनमूलक समय शिक्षा क्षेत्रमा दिइसकेपछि पनि फेरि अर्काे तीन–चार वर्ष लोकसेवाको तयारीका लागि बिताउनुपर्ने हुन्छ । भौतिक विज्ञान आफैँमा अथाह सागर हो । यसको कुनै एउटा विधामा मात्र फट्को मार्न सके पनि हाम्रो देशका लागि कोसेढुंगा साबित हुन्छ । यदि स्कुलदेखि नै विद्यार्थीहरूमा यो विषयको महत्व र आवश्यकता अनुभूत गराउने हो भने सायद हामीले समाज तथा देश विकासलाई सजिलै गति दिन सक्ने थियौँ ।
व्यक्तिगत रूपमा जति कार्यक्रम भयो भयो, त्यसबाहेक सरकारी नीति–नियम तर्जुमा गर्नेहरूको यसप्रति खासै चासो देखिँदैन । विकसित देशले आफ्नो बजेट विनियोजन गर्दा विज्ञानलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । विडम्बना, भौतिक विज्ञानको महत्व नबुझ्दा हामीकहाँबाट धेरै नै अब्बल र सक्षम मानिस विदेश पलायन हुन बाध्य छन् । थप अध्ययनार्थ विदेशका राम्रा विश्वविद्यालयमा जानु राम्रो हो, तर उतै पलायन हुने स्थितिचाहिँ विडम्बना हो । भौतिक विज्ञानमा विद्यावारिधि गरेका धेरै नेपाली देशबाहिरै बसेर व्यक्तिगत रूपमा उन्नति र प्रगति गरेका छन्, तर उनीहरूबाट देशले अत्यन्त नगण्य मात्र योगदान पाइरहेको छ । हरेक वर्ष झन्डै सात सय भौतिकशास्त्री ग्य्राजुयट हुन्छन् । तीमध्ये धेरैको पहिलो रोजाइ स्टुडेन्ट भिसामा अमेरिका जानु हुन्छ । आधाउधी विद्यार्थी लोकसेवा वा ग्य्राजुयट रेकर्ड एक्जामिनेसनको तयारीमा लाग्छन् । खोजमूलक तथा उत्पादनमूलक पढाइभन्दा कसरी राम्रो अंक ल्याउने र विदेश जाने भन्ने होडबाजी चलिरहेको परिवेशमा वेलैमा सम्बन्धित निकायको ध्यान गएन भने भोलि देशले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
यसबीच नास्टले कति नेपाली वैज्ञानिकलाई रोजगारी दिएको छ र कति बिदेसिएका वैज्ञानिक फर्कायो त ? नास्टले रिसर्च प्रोफेसरहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । केही परियोजना बनाई कार्यान्वयन पनि गरिरहेको छ, तर यतिले मात्र देशको उन्नति सम्भव छैन । जबसम्म विज्ञानलाई ठूलो महत्व दिएर कुनै ठोस कार्यक्रम निरन्तर रूपमा कार्यान्वयन गरिँदैन, तबसम्म देशले प्रविधि विकासमा फड्को मार्न सक्दैन । विद्यालय तहदेखि नै ‘आउटरिच’ र ‘इनरिच’ कार्यक्रम गर्न सके मात्र पनि भौतिकशास्त्र र प्रविधिको विषयमा विद्यार्थीको ध्यान खिच्न सकिन्छ । यो विषय पढेपछि मेरो भविष्य यही देशमा उज्ज्वल हुन्छ, देशका लागि समेत केही गर्न सक्छु भन्ने जबसम्म हुँदैन, तबसम्म विदेश पलायन हुनेहरूको संख्या बढ्ने मात्र छ ।
निजी विद्यालयको पढाउने शैली केही फरक त छ, तर त्यो पनि बिद्यार्थी तान्न मात्र केन्द्रित जस्तो देखिन्छ । स्कुलहरूले भौतिक सुविधालाई प्राथमिकतामा राखेको देखिन्छ । पढाउने तरिकालाई पनि समयसापेक्ष बनाउनु जरुरी देखिन्छ । माथिल्लो तहमा गएर भन्दा पनि प्राथमिक तहबाटै विद्यार्थीमा यस विषयको महत्व बुझाउनु जरुरी छ ।
(पौडेल सिटी युनिभर्सिटी न्युयोर्कबाट विद्यावारिधि गरिरहेकी छिन्)