इन्जिनियरिङको छात्रवृत्ति पहुँचवालाको खल्तीमा

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

एमबिबिएसमा जस्तै इन्जिनियरिङलगायत प्राविधिक विषयमा पनि सम्बन्धित कलेजले १० प्रतिशत छात्रवृत्ति दिनुपर्छ, तर कोटा उपलब्ध गराउन शिक्षा मन्त्रालयले ताकेता नगर्दा कलेजहरूको मनपरी

  • मन्त्रिपरिषद्ले एकपटक फर्काएपछि फेरि प्रयास भएन
  • त्रिवि र कृषि विश्वविद्यालयमा छात्रवृत्तिमा सिफारिस

इन्जिनियरिङ, कृषि, भेटेरेनरीलगायतका प्राविधिक विषय अध्यापन गराउने निजी शैक्षिक संस्थाले एमबिबिएसमा जस्तै १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था छात्रवृत्ति ऐनमै उल्लेख छ । विदेशी लगानीका कलेजको हकमा २० प्रतिशत छात्रबृत्ति कोटा निर्धारण गरिएको छ । तर, शिक्षा मन्त्रालयमा छात्रवृत्ति कोटा उपलब्ध गराउनुपर्ने र मन्त्रालयले परीक्षा लिएर मेरिट तथा समावेशीका आधारमा विद्यार्थी मनोनयन गर्नुपर्नेमा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । 

मन्त्रालयले प्रयास गरेको छ, तर टुंगिएको छैन  : डा. हरिप्रसाद लम्साल, सहसचिव, शिक्षा मन्त्रालय  

इन्जिनियरिङसहितको छात्रवृत्ति शिक्षा मन्त्रालयबाट एकद्वार प्रणालीमा वितरण गर्दा प्रभावकारी हुन्छ । एकद्वार प्रणाली गर्दा एमबिबिसएको जस्तै गरी मेरिट र समावेशी ढंगले लक्षित वर्गले छात्रवृत्ति पाउँछन् । मन्त्रालयले वितरण गर्दा व्यवस्थित हुन्छ । इन्जिनियरिङलाई व्यवस्थित गर्न मन्त्रालयले प्रयास गरेको छ, तर टुंगिएको छैन । 

इन्जिनियरिङका कार्यक्रम सञ्चालनका लागि ५३ स्वदेशी  र विभिन्न प्राविधिक विषयका लागि ८० भन्दा बढी विदेशी लागनीका निजी शैक्षिक संस्थाले अनुमति लिएका छन् । तर, यी कुनै पनि संस्थाबाट सरकारले विद्यार्थी छनोट गरेर छात्रबृत्तिमा अध्ययनका लागि पठाएको छैन ।

यस्तो मनमौजीकै कारण स्वदेशी तथा विदेशी सम्बन्धनमा सञ्चालन भएका इन्जिनियरिङ कलेजमा एक हजार एक सयभन्दा बढी लक्षित विद्यार्थी (छात्रा, गरिब, जेहेन्दार तथा पिछडिएका) छात्रवृत्ति पाउनबाट बञ्चित भएका छन् । 

शिक्षा मन्त्रालयका अधिकारीका अनुसार इन्जिनियरिङमा करिब नौ सय र विदेशी सम्बन्धनका कलेजमा साढे दुई सयको हाराहारीमा लक्षित विद्यार्थीले छात्रबृत्ति पाउन सकेका छैनन् । शिक्षा मन्त्रालयबाट आशयपत्र (एलओआई) लिएका स्नातक तहका कार्यक्रममा मात्र निजी कलेजका लागि ६ हजार तीन सय ९२ सिट निर्धारण गरिएको छ । 

१० प्रतिशत छात्रबृत्ति दिने सम्झौता कार्यान्वयन भए यी कलेजबाट मात्रै प्रत्येक वर्ष ६४० विद्यार्थीले छात्रबृत्ति पाउँछन् । मन्त्रालयले एलओआई लिने व्यवस्था नहुँदै सुरु भएका कलेजसमेत गर्दा करिब नौ सय विद्यार्थीले छात्रबृत्ति पाउन सक्ने शिक्षा मन्त्रालयका अधिकारी बताउँछन् ।

औषत आठ लाख खर्च हुने इन्जिनियरिङ कार्यक्रममा मन्त्रालयले छात्रबृत्ति बितरण गर्न नसक्दा विपन्न विद्यार्थी मारमा परेका छन् भने छात्रवृत्तिमा पढाएर उत्पादित जनशक्तिलाई सेवामा खटाउन सक्ने सरकारको अवसर पनि गुमेको छ । 

केही नेता र शक्तिशाली व्यक्तिको सोर्सफोर्समा केही विद्यार्थीलाई छुट दिने गरेका इन्जिनियरिङ कलेजले मन्त्रालयमा कोटा पठाएका छैनन् भने मन्त्रालयले पनि ताकेता गरेको छैन । केही कलेजले विश्वविद्यालयको प्रवेश परीक्षामा मेरिटमा रहेकालाई छात्रबृत्ति दिएका छन् भने केही कलेज आफैँले प्रवेश परीक्षा लिएर नेता तथा शक्तिशाली व्यक्तिको रोजाईमा छात्रवृत्ति दिने गरेका छन् । 

कलेजहरूले जसरी छात्रवृत्ति दिएका छन्, पाउनुपर्ने विद्यार्थीले नपाएको हुन सक्छ : रमेश श्रेष्ठ, महासचिव, एसोसिएसन अफ इन्जिनियरिङ कलेज, नेपाल

जुन उद्देश्यले छात्रवृत्ति वितरण गर्ने नीति बन्यो, त्यसअनुसार काम भएन । निजी कलेजले छात्रवृत्ति दिएका छन्, तर सबैको मापदण्ड एउटै छैन । पाउनुपर्ने विद्यार्थीले नपाएको हुन सक्छ । लक्षित वर्गले छात्रवृत्ति पाउने गरी शिक्षा मन्त्रालयले संयन्त्र बनाए राम्रो हुन्छ । कुनै न कुनै हिसाबले छात्रवृत्ति दिएकाले मन्त्रालयबाट सिफारिस भएर आउने लक्षित वर्गलाई छात्रवृत्ति दिँदा कलेजलाई घाटा हुँदैन । 

विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भएका कलेजमा झन् भद्रगोल छ । यस्ता कलेज ८० भन्दा बढी छन् । कानूनअनुसार यी कलेजबाट बिबिए, एमबिए, होटल म्यानेजमेन्ट तथा प्राविधिक विषयमा करिब साढे दुई सय विद्यार्थीले छात्रबृत्ति पाउनुपर्ने हो । तर, कतिपयले केही रकम छुट गरेर छात्रबृत्ति दिएको दाबी गर्ने गरेका छन् । कतिपयले भने सोर्सफोर्समा भर्ना भएकालाई छात्रबृत्तिको सूचीमा राख्ने गरेका छन् । 

उच्च शिक्षाका छात्रबृत्ति विश्वविद्यालयसँग जोडिएकाले सहकुलपतिसमेत रहेका शिक्षामन्त्री वा कुलपति रहेका प्रधानमन्त्रीले प्रयास गरे नियमअनुसार विद्यार्थीलाई उपलब्ध गराउन सकिन्छ । ‘शिक्षामन्त्री विश्वविद्यालयका सहकुलपति हुने व्यवस्था छ, सहकुलपतिका रुपमा निर्णय गरे इन्जिनियरिङको छात्रबृत्ति पनि सहजरुपमा मन्त्रालयमार्फत् लक्षित विद्यार्थीलाई वितरण गर्न सकिन्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने । 

मन्त्रिपरिषदले एकपटक फर्काएपछि फेरि प्रयास भएन
छात्रबृत्ति ऐन २०२१ र निजी लगानीमा सञ्चालन गरिने प्राबिधिक कलेज÷क्याम्पस सम्बन्धमा बनेको आधारभूत निति २०६३ अनुसार नेपाली लगानीका प्राबिधिक शैक्षिक संस्थाले १० तथा बिदेशी लगानीमा सञ्चालन भएका संस्थाले २० प्रतिशत छात्रबृत्ति उपलब्ध गराउनुपर्छ । प्राबिधिक विद्यालयमा सम्बन्धित जनशक्ति, पुनर्निर्माणमा इन्जिनियर र स्थानीय तहमा कृषिका जनशक्तिको अभाव छ । 

शिक्षा मन्त्रालयले छात्रवृत्तिमा पढाएर उत्पादित प्राविधिक जनशक्तिलाई चिकित्सा शिक्षामाजस्तै निर्वाह भत्ता दिएर यस्ता सरकारी सेवामा खटाउने नीतिगत निर्णयका मन्त्रिपरिषद्मा पठाएको थियो । तर, मन्त्रिपरिषद्ले ‘थप छलफल गर्नुपर्ने’ भन्दै मन्त्रालयमै फर्काइीदएको थियो । त्यसपछि मन्त्रालयले दोस्रो प्रयास गरेको छैन । शिक्षामन्त्री देवेन्द्रपौडेलले शिक्षाका विभिन्न विषयमा अहिले बुझ्दै गरेको र केही दिनपछि आफ्ना धारणा राख्ने बताए । 

त्रिवि र कृषि विश्वविद्यालयमा छात्रबृत्तिमा सिफारिस
अहिले कृषि तथा बन बिज्ञान कार्यक्रममा शिक्षा मन्त्रालयबाटै छनोट गरी छात्रबृत्तिमा अध्ययनका लागि पठाउने गरेको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त विएस्सी एजी सञ्चालन गरेका तीनवटा शैक्षिक संस्थाले ०७६/०७७ देखि निशुल्क छात्रबृत्ति दिन सुरु गरेका छन् । 

त्यस्तै, त्रिवि अन्तर्गतको काठमाडौं फरेस्ट कलेजमा समेत बिगत वर्षदेखि नै मन्त्रालयले छनोट गरी छात्रबृत्तिमा पठाउने गरेको छ । मन्त्रालयले कृषि तथा बन बिज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सातवटा कलेजमा कृषि तथा बन बिज्ञान विषयमा शैक्षिक सत्र ०७६/७७ देखि निशुल्क छात्रबृत्तिमा विद्यार्थी मनोनयन गरी पठाएको छ । चालु शैक्षिक सत्रमा त्रिवि र कृषि विश्वविद्यालयमा गरी ६० विद्यार्थीले निशुल्क छात्रबृत्तिमा अध्ययन गरेका छन् ।

सुझावित समाचार