जातीय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्छ : गृहमन्त्रीे

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा हुने गरेको जातीय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्ने बताएका छन् । ७ र ८ कात्तिकमा काठमाडौंमा भएको भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भूमिका विषयक दुईदिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५बुँदे घोषणापत्र बुझाउन गृह मन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिलाई खाणले जातीय विभेद गर्न नपाउने भनी संविधानमा स्पष्ट प्रावधान पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए । 

उनले जातीय विभेदलाई यही पुस्ताले सदाको लागि अन्त्य गर्नुपर्ने बताए । आगामी पुस्ताले जातीय विभेदको विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उनले बताए । उनले भने ‘जातीय विभेद गर्न पाइँदैन भन्ने हाम्रो संविधानको प्रावधान हो । त्यसलाई पालना गर्न हामी प्रतिबद्ध छौँ । हाम्रो दिमागमा रहेको यो जातीय विभेदलाई कसरी सदाको लागि अन्त्य गर्ने, कमसेकम हाम्रै पालामा त्यो सकियो भने धेरै ठूलो उपलब्धि हुन्छ । आउने नयाँ पुस्ता, हामी पछिको पुस्ताले त्यो कुरा उठाउनै नपरोस् । त्यसमा समय खर्चै गर्नु नपरोस् भन्ने नै हामी सबैको मानसिकता हो ।’

गृहमन्त्री खाणले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनै पनि भूभागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको बताए । यसको निम्ति सम्बन्धित सुरक्षा निकायलाई परिपत्र गरिएको पनि उनले जानकारी दिए । उनले भने, ‘चाडपर्व मनाउने क्रममा नेपालको कुनै पनि भूभागमा कुनै खालको असमान व्यवहार नहोस् । त्यसप्रति हाम्रो राज्यप्रणाली संवेदनशील छ । हाम्रो सम्बन्धित नियामक निकायहरूलाई र सुरक्षा निकायलाई त्यही खालको परिपत्र गरेका छौँ । त्यसले एउटा नयाँ अनुभूति अवश्य पनि दिनेछ । हामी सबैलाई त्यसप्रति उत्तरदायी पनि बनाउनेछ ।’

उनले विपतबाट पीडित नागरिकहरूलाई सरकारले राहत तथा पुनर्स्थापना गर्ने पनि बताए । क्षतिको विवरण अध्ययन गर्न सरकारले कार्यदल बनाएको र कार्यदलको प्रतिवेदन आएपछि आवश्यक निर्णय गरिने उनले बताए ।

सुझावित समाचार