पाँच जिल्ला हेर्ने गुण नियन्त्रण कार्यालयलाई दुई कर्मचारी

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

१५ कात्तिक ०७५ देखि सरकारले तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्यो। उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो, तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन्। कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन्।

प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी रिक्त छ। कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए। ‘कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ,’ उनले भने, ‘कर्मचारी पूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ।’

उक्त कार्यालय भाडामा भवन लिएर सञ्चालन हुँदै आएको छ। कार्यालयले गत आर्थिक वर्ष ०७७/७८ मा ८८  खाद्य नमुनाको संकलन गरेको छ। ५१ खाद्य उद्योगहरूको निरीक्षण गर्दा कार्यालयले १८ पटक संयुक्त बजार अनुगमन गरेको थियो। तीनपटक चार ठाउँमा होटेल रेस्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गरिएको छ भने तीन ठाउँमा होटेल स्तरीकरण लोगो वितरणसम्बन्धी अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ।

यसैगरी चौधपटक गरी कुल एकवटा विभिन्न स्तरका होटेल, रेस्टुरेन्ट, मिठाई पसल तथा भोजनालय निरीक्षण गरिएको प्रमुख पोखरेलले जानकारी दिए। कार्यालयले विभिन्न खाद्य उद्योगको अनुज्ञापत्र नवीकरण जारी सम्बन्धमा निवेदन लिई, उद्योग निरीक्षण गरी आवश्यक कार्यका लागि भैरहवास्थित खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाइएको जनाएको छ।

कार्यालय यो वर्षको ६ महिनाको अवधिमा ३० ठाउँमा बजार अनुगमन गरेको छ। कार्यालयले तनहुँ, लमजुङ, गोरखा र नवलपुरका विभिन्न ३० ठाउँमा अनुगमन गरेको हो। अनुगमनका क्रममा कार्यालयले कैफियत देखिएका दुई उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ। खाद्य अनुसन्धान अधिकृत पोखरेलका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ स्थित कृष्ण पाउरोटी उद्योग र नवलपुरको गैँडाकोटस्थित सरस्वती डेरी उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ। त्यस्तै दशवटा मुद्दा अनुसन्धानका क्रममा रहेको पोखरेलले बताए।

सुझावित समाचार