ठेकेदारको बदमासीले रोकियो प्रशासनिक भवनको काम

सोमबार, २५ असोज, २०७८
डिजिटल संस्करण

ठेकेदार कम्पनीले प्रयोगशालाको नक्कली प्रतिवेदन बनाएर बुझाएको खुलासा भएपछि खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको काम रोकिएको छ। ठेकेदार कम्पनी रुज–जगदम्बा–भुवनेश्वरी एन्ड वैभव जेभीका ठेकेदारले निर्माणाधीन प्रशासनिक भवनको पिलरको गुणस्तर परीक्षणको नक्कली प्रतिवेदन बनाएपछि गाउँपालिकाले पत्र पठाएर काम रोक्न लगाएको हो।

ठेकेदार कम्पनीले निर्माणाधीन भवनको काममा लापरबाही गरेकाले गाउँपालिकाको तर्फबाट गत भदौ– १५ गते औपचारिक रूपमा पत्राचार गरेर निर्माणको काम तथा भुक्तानीलगायतका सम्पूर्ण प्रक्रिया रोकिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिए। गाउँपालिकाले पत्राचार गर्नुअघि नै निर्माण व्यवसायीले निर्माणाधीन प्रशासनिक भवनको पहिलो स्ल्याब ढलान गरिसकेका थिए।

गाउँपालिकाको प्रशासनिक भवनको भुइँतलाको पिलरको गुणस्तर परीक्षणका लागि गत जेठ– २१ गते स्याम्पल (कंक्रिट क्युब) संकलन गरिएको थियो। संकलन गरिएका कंक्रिट क्युब परीक्षण गर्न ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको गाउँपालिकाले जनाएको छ।

केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौताअनुसारको गुणस्तर कायम नगरेको’ उल्लेख गर्दै असार– २३ गते प्रतिवेदन दिएको थियो। तर, निर्माण कम्पनीले साउन– १० गते मात्रै गाउँपालिकालाई ल्याबको प्रतिवेदन बुझाएको थियो। पहिलो प्रतिवेदन बुझाएको दुई दिनपछि त्रुटि भएको भन्दै अर्को प्रतिवेदन इमेलमार्फत गाउँपालिकामा पठाएको जनाइएको छ। जसमा ‘२३ असारमा परिपत्र भएको क्युब टेस्टको प्रतिवेदन मेसिनमा केही त्रुटि भई गलत भएकाले उक्त प्रतिवेदन फेरि सच्याएर पठाइएको’ उल्लेख छ। तर, भदौ– २७ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले पनि गाउँपालिकालाई प्रतिवेदन पठाएको थियो।  

दोस्रोपटक प्रतिवेदन पठाएलगत्तै शंका लागेर अध्ययन गरेपछि मात्रै निर्माण कम्पनीले दिएको ल्याब प्रतिवेदन नक्कली भएको खुलेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जानकारी दिइन्। ‘प्राविधिक शाखामा पेस भएको ल्याब प्रतिवेदन अध्ययन गर्दा नक्कली र झुटो भएको आशंका भएपछि त्यसको पुष्टि गर्न गाउँपालिकाले केन्द्रलाई पत्राचार गरेको थियाे,’ उनले भनिन्, ‘केन्द्रले जवाफ पठाएपछि निर्माण कम्पनीले सरकारी कागजात दुरुपयोग गरी नक्कली ल्याब प्रतिवेदन तयार गरेको पाइएको छ। यस विषयमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।’ 

निर्माण व्यवसायीले उपलब्ध गराएको प्रतिवेदनमा ल्याब इन्चार्जको हस्ताक्षर फोटोकपी गरेर टाँसिएको छ। त्यस्तै, पत्रमा ‘महोदय’, ‘चिठ्ठी’ जस्ता शब्द प्रयोग गरिएका छन्। जसका आधारमा गाउँपालिकाले शंका लागेर पुष्टि गर्न खोजेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले बताए। निर्माण कम्पनीका प्रतिनिधि गणेश राईले भने ल्याबको प्रतिवेदन नक्कली नभएको दाबी गरेका छन्। गाउँपालिकाका इन्जिनियर बाबुराम राउतसँग लेनदेनमा कुरा नमिलेपछि ल्याब परीक्षण प्रतिवेदन गलत भनिएको कम्पनीका प्रतिनिधि राईको आरोप छ। 

गाउँपालिकाले एक प्रदेश सरकारको अनुदानमा प्रशासकीय भवन निर्माणका लागि २०७६ माघ– २६ गते बोलपत्र (टेन्डर) आह्वान गरेको थियो। तीन करोड ६९ लाख ८५ हजार ८ सय ७३ रुपैयाँमा टेन्डर आह्वान गरिएको भवन ठेकेदार कम्पनीले दुई करोड ६८ लाख ४३ हजार ३ सय ४६ रुपैयाँमा कामको जिम्मा लिएको हो। 

निर्माणाधीन प्रशासनिक भवनको ७० प्रतिशत काम बाँकी हुँदा ३९ लाख ९० हजार ७५३ रुपैयाँ भुक्तानी लिइसकेको गाउँपालिकाको कार्यालयले जनाएको छ। भवन निर्माणमा ढिलासुस्ती र लापरवाही हुनुका साथै काम पनि गुणस्तरीय नभएको गाउँपालिकाका उपप्रमुख पुष्पकला भुजेलले बताइन्।

०७७ माघ– १९ गते निर्माण सम्पन्न गर्नुपर्ने १६ कोठा भएको तीनतले सुविधासम्पन्न निर्माणाधीन प्रशासनिक भवनको लागि सम्झौता भएको थियो। समयमा काम नसकिएपछि ०७८ असारसम्म म्याद थपिएको थियो। आरसिसी ढलानसहितको निर्माणाधीन प्रशासनिक भवनको पहिलो तला ढलान गरेर दोस्रो तलाका लागि तयारी गरिएको ठेकेदार कम्पनीले जनाएको छ।

प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही देखिएसँगै गाउँपालिकाले नै पत्राचार गरेर निर्माण रोकेपछि अहिले उक्त भवन अलपत्र बनेको छ।

सुझावित समाचार