थनबर्गले छुटाएको आणविक ऊर्जाको विकल्प

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

आणविक ऊर्जा प्रयोगका कारण पछिल्ला ५० वर्षमा ७४ गिगाटन कार्बन उत्सर्जनमा कटौती भएको छ । उल्लिखित कार्बन कटौती दुई वर्षको वैश्विक उत्सर्जनबराबर हो । कार्बनको मामिलामा जलविद्युत् ऊर्जा पनि एक शुद्ध विकल्प हो ।


ग्रेटा थनबर्ग फेरि चर्चामा आएकी छिन् । विश्वका नेताहरू एक ठाउँमा ल्याउने गरी स्कट्ल्यान्डमा हुने कोप २६ जलवायु सम्मेलनअघि अघिल्लो साता इटालीको मिलानमा भएको ‘युथ फर क्लाइमेट’ समारोहमा स्विडेनकी युवा अभियन्ता थनबर्ग थुप्रै समाचारको शीर्षक बनिन् । भाइरल भएको भाषणमा उनले वातावरण, सामाजिक एवं कर्पोरेट शासन प्रणाली (इएसजी)को व्याख्यान गर्ने सबै कर्पोरेट मालिक र लगानीकर्तालाई व्यंग्य गरेकी थिइन् ।

थनबर्गको व्यंग्यबाट जलवायु परिवर्तन नियन्त्रणको नारा उछाल्ने, तर पहलकदमी नलिने अमेरिकी राष्ट्रपति जो बाइडेनजस्ता विश्वका नेताहरू पनि अछुतो थिएनन् । थनबर्गले नेताहरूको आकर्षक झुटा नाराले हाम्रा आशा र महŒवाकांक्षालाई रसातलमा पुर्याउने बताएकी थिइन् । आफ्नो स्वाभाविक भावशून्य व्यंग्यात्मक भाषण प्रस्तुतिले कोप २६ लाई खास चासो नदिएको इटालीको मारियो द्राघी सरकारलाई तत्परताका साथ अघि बढ्न प्रेरित गरेको देखिन्छ ।     

फेरि १८ वर्षकी किशोरी थनबर्गको भाषणले उनीजस्ता लाखौँ किशोर÷युवालाई अभियन्ता बन्न प्रेरित गरेको छ । थनबर्गको भाषणले इटालीको राजधानीका मृतप्रायः सडकमा आन्दोलन गर्ने जीवन्त सामथ्र्य र जोस भरिदिएको छ । हरेक किशोर÷किशोरी वातावरण नाश गर्न ३० वर्षभन्दा बढी समय कटाएका ‘बुमर’ (२०औँ शताब्दीको ४० देखि ६० का दशकमा जन्मेका मानिस)सँग क्रुद्ध हुनु स्वाभाविक हो । यद्यपि, नयाँ पुस्ताको क्रोधले भुंग्रो बन्न आँटेको विश्व चिसिँदैन ।

थनबर्गलाई अहिले विश्व मञ्चबाट ऊर्जाको आणविक रूपान्तरणको पैरवी गर्ने मौका छ । यो पैरवी कुनै अतिशयोक्ति होइन । संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी)ले हालै प्रकाशित गरेको प्रतिवेदनले विश्व तापमान वृद्धिदर एक दशमलव पाँच डिग्री सेल्सियसमा स्थिर राख्नुपर्ने जनाएको छ । यो स्थिरता आणविक ऊर्जाविना सम्भव हुन गाह्रो छ ।     

विज्ञान अकाट्य छ, यसलाई अस्वीकार गर्न सकिन्न । आइपिसिसीका अनुसार आणविक ऊर्जा प्रयोगका कारण पछिल्ला ५० वर्षमा ७४ गिगाटन कार्बन उत्सर्जनमा कटौती भएको छ । उल्लिखित कार्बन कटौती दुई वर्षको वैश्विक उत्सर्जनबराबर हो । कार्बनको मामिलामा जलविद्युत् ऊर्जा पनि एक शुद्ध विकल्प हो । थुप्रै अर्थतन्त्र विकसित हुन बाँकी रहेको अवस्थामा ऊर्जाको वैश्विक मागमा बढोत्तरी अवश्यम्भावी छ र आइपिसिसी प्रतिवेदनले पनि वैश्विक ऊर्जाको विकल्प खोज्न ढिला भइसकेको जानकारी दिएको छ । वायु र सौर्य ऊर्जा खपत बढ्दै गइरहेका वेला शून्य–कार्बन विकल्पको माग अत्यावश्यक भइसकेको छ । यस सन्दर्भमा थनबर्गले चर्चित भाषण गरेको समारोहमा आणविक ऊर्जाको विषयले प्रवेश नै नपाउनु आश्चर्यजनक छ ।

सो समारोहको मुख्य सन्देश अर्थात् विकासशील अर्थतन्त्र एवं सीमान्तकृत समुदायका युवा तथा किशोर आवाजको समावेशीकरणले ठूलो अर्थ राख्छ । सो समारोहले गैरराज्य समूहका कर्ताहरूको वातावरणीय पारदर्शिता एवं जवाफदेहिताको माग गरेको छ । अर्थात् सन् २०३० भित्र पेट्रोलियम ऊर्जाका उद्योगलाई पूर्ण रूपमा बन्द गरेर उर्जा रूपान्तरणको सुझाब दिएको छ । यी सुझाब निश्चय नै उत्तम सुझाब हुन्, तर ठोस नीतिसम्बन्धी सुझाब नदिँदा उनीहरूको समारोह अर्थहीन हुने जोखिम रहन्छ ।

कुल विद्युत्को ४० प्रतिशत विद्युत् आणविक ऊर्जाबाट खपत हुने स्विडेनकी थनबर्ग यो विषयमा मौनप्रायः देखिन्छिन् । दुई वर्षअगाडि ‘अत्यधिक खतरनाक, महँगो र समय लाग्ने’ भएकाले उनले आणविक ऊर्जाको व्यक्तिगत रूपमा विरोध गर्ने जनाएकी थिइन् । तर, उनले आइपिसिसीको प्रतिवेदनमा रहेका सुझाबलाई समर्थन गरेकी थिइन् । यस मुद्दामा आफ्नो मत परिवर्तनलाई पुष्टि गर्न थनबर्गले बहसको आह्वान गरेकी थिइन् । वास्तवमा बहस थाल्ने सही समय आइसकेको छ । आणविक ऊर्जाका चेर्नोबिल वा फुकुसिमाजस्ता भयावह दुर्घटना निम्त्याउने जोखिम नभएका होइनन्, तथापि आइपिसिसीका अनुसार आणविक ऊर्जा सुरक्षाका लागि प्रविधिमा निकै विकास भइसकेको छ । यही अगस्टमा ‘आणविक ऊर्जासम्बन्धी हालै भएका विकासले सुरक्षा र रियाक्टरबारे लाभदायक नतिजा दिइरहेको’ आइपिसिसीले बताएको छ । आइपिसिसीले साना र प्रभावकारी रियाक्टरको प्रयोग गरेर ऊर्जा रूपान्तरणको सल्लाह दिएको छ । 

यति भन्दै गर्दा कोइला र ग्यासलाई आणविक ऊर्जाले विस्थापित गर्न अझै गाह्रो देखिन्छ । सुरक्षा स्थितिमा सुधार भए पनि ‘जेनरेसन ४’ प्रणालीमा थप अनुसन्धानको टड्कारो आवश्यकता रहेको छ । ‘जेनरेसन ४’ प्रणालीमा रियाक्टरहरूलाई चिस्याउने प्रक्रिया संलग्न रहेको हुन्छ । आणविक ऊर्जासँग आणविक हतियार र ऊर्जा उत्पादनमा निम्तिने फोहोर हामीमाझ रहेका ठूला चुनौती हुन् । यिनै चुनौतीमा थनबर्ग र उनका अनुयायीले खबरदारी गरेर सहयोग गर्न सक्छन् । विकसित वा विकासशील मुलुकमा कार्बन उत्पादन गराउने ऊर्जाका ठाउँमा आणविक ऊर्जाको सार्वजनिक एवं ठोस मान्यता निर्माण गर्न थनबर्गलगायत युवा लाग्नुपर्छ । विश्वलाई कार्बन उत्सर्जनमुक्त बनाउन यो उपाय सबैभन्दा प्रभावकारी देखिन्छ । यदि यी उपायतर्फ ध्यान दिइन्न भने थनबर्गले भाषणमा गरेको खोक्रो नारा र शून्य पहलकदमीको व्यंग्य आफैँतर्फ सोझिनेछ । 

सुझावित समाचार