नेपाल ल्युबको ३५ प्रतिशत लाभांश पारित

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

नेपाल ल्युब आयल लिमिटेडको ३०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरिएको ३५ प्रतिशत लाभांश पारित गरेको छ । ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो । 

भर्चुअल तथा स्वयं उपस्थितिमा भएको सभामा ५३ प्रतिशत सेयरधनी स्वयं उपस्थित र २५ प्रतिशत सेयरधनी भर्चुअल माध्यमबाट सहभागी भएको जनाइएको छ । साधारणसभामा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले चलिरहेको महामारीले अगाडि राखेका चुनौतीका बाबजुद उत्कृष्ट वृद्धि हासिल गर्न सक्षम भएको बताए । चालू आर्थिक वर्षमा बिक्री दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेको उनको भनाइ थियो । यस्तै, बजारमा लुब्रिकेन्टसहित ब्याट्री र सोही प्रकृतिका सामान रिटेलरहरूमार्फत कारोबार हुने वस्तु टायरको समेत कारोबार गर्ने लक्ष्य लिएअनुसार ब्याट्रीको बिक्री–वितरण सुरु भइसकेको अध्यक्ष चौधरीले जानकारी दिए । 

सभामा सेयरधनीले सहभागी हुँदै १५ वर्षअघि अनिश्चित भविष्य रहेको कम्पनीले विगत ६–७ वर्षदेखि राम्रो लाभांश वितरण गरिरहेको भन्दै यो वर्षको लाभांश उल्लेख्य रहेको बताएका थिए । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण गर्दै आएको छ । 

सुझावित समाचार