महोत्तरीमा दसैँलक्षित बजार अनुगमन तीव्र, करिब ८० हजार मूल्यबराबरको खाद्य सामग्री नष्ट

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

महोत्तरीमा चाडबाड नजिकिँदै गर्दा बजार अनुगमन तीव्र पारिएको छ। जिल्लाको जलेश्वर, सम्सी, रामगोपालपुर, गौशाला र औरही पालिकाहरूमा रहेको बजार अनुगमन गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भेटेरेनरी अस्पताल, उपभोक्ता समिति, उद्योग वाणिज्य संघ, सुरक्षा टोलीलगायत सम्मिलित टोलीले बजार अनुगमन गरेको हो। अनुगमनका क्रममा फेला परेको म्याद गुज्रेको ७८ हजार आठ सय २५ रुपैयाँबराबरको विभिन्न खाद्य सामग्रीहरू नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।

टोलीले बिस्कुट, जुस, पेयपदार्थ, घिउ, तेल, मसला, पाउडर दूध, ह्यान्डवासलगायतका विभिन्न म्याद गुज्रेको सामग्री नष्ट गरेको हो। सम्बन्धित पसलहरूलाई पहिलोपटकलाई चेतावनी मात्र दिएर म्याद सकिएको सामग्री नष्ट गरिएको हो। महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले अझै केही पालिकाहरूमा अनुगमन बाँकी रहेकोमा यसलाई नियमित गरिने बताए । उनले पहिलोपटकलाई चेतावनी दिइए पनि पुनः सोही पसलहरूमा म्याद गुज्रेको सामग्री भेटिए कानुनबमोजिम सजाय हुने बताए। 

सम्सी र गौशालालगायतका विभिन्न स्थानमा अनुगमन टोली पुग्दा केही व्यापारी पसल बन्द गरेर भागेका थिए। त्यस्ता पसलहरू शंकाको घेरामा रहेको र जुनसुकै वेला छड्के जाँच गरी गलत भेटिएको खण्डमा कारबाही गरिने न्यौपानेले चेतावनी दिएका छन्। उनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीमा म्याद र मूल्यले प्रभाव पार्ने भएकोले जनस्वास्थ्यसँग खेलवाड गर्नेलाई कानुनअनुसार कारबाही गरिने बताए।

सुझावित समाचार