अहिलेको सबैभन्दा उत्तम विकल्प अमेरिकाको सीमामा आइसकेका हैटीका शरणार्थीलाई अस्थायी संरक्षण हैसियत (टिपिएस) दिनु हो
जो बाइडेन राष्ट्रपति भएदेखि उनको प्रशासनले अमेरिका–मेक्सिको सीमामा बढ्दै गइरहेको आप्रवासीहरूको व्यापक गिरफ्तारीलाई ‘संकट’ नभई नियमित प्रक्रिया भनिरहेको छ । वर्तमान बाइडेन प्रशासनले अहिलेको आप्रवासी विवादका लागि पूर्वराष्ट्रपति ट्रम्प र अन्य रिपब्लिकनलाई दोष लगाएका छन् । ट्रम्पबारे बाइडेन प्रशासन पूर्ण रूपमा गलत नभए पनि बाइडेन प्रशासन पनि आप्रवासी विवादमा अछुतो छैन ।
सीमामा अहिले जे भइरहेको छ, त्यो अमेरिका र मेक्सिको दुवै मुलुकको संकट हो । सेप्टेम्बरको अन्त्यसम्म १५ हजार आप्रवासी र शरणार्थी मुख्यतः हैटीका शरणार्थी टेक्सास डेल रियोको खुला आकाशमा बस्न बाध्य भएका छन् । यो बसाइले आप्रवासी समस्यालाई सतहमा ल्याइदिएको छ । गर्मीयामभरि अमेरिकी अधिकारीहरूले शरणार्थीको संख्या घट्ने अपेक्षा गरेका थिए । तर, संख्या दिनानुदिन बढिरहेको छ । सन् २००० यता जुलाईमा सबैभन्दा धेरै अर्थात् दुई लाख शरणार्थी पक्राउ परेका छन् र अगस्टमा यो संख्या थप बढेको छ । यसले आप्रवासी समस्या समाधान हुने छाँटकाँट देखिन्न ।
यो संकटको पूर्वानुमान पहिल्यैबाट थियो । पहिलेदेखि समस्याग्रस्त हैटी गत जुलाईमा राष्ट्रपतिको हत्या भएदेखि भयावह अवस्थामा पुगेको छ । राष्ट्रपति हत्याले निम्त्याएको राजनीतिक अस्थिरता भूकम्प र आँधी–तुफानको शृंखलाले मुलुक तहसनहस भएको छ । हैटीका जनता वर्षौंदेखि मुलुक छाडिरहेका छन् । पहिले उनीहरू ब्राजिल जान्थे, त्यसपछि चिली जान थाले । ब्राजिल र चिलीको आर्थिक एवं कानुनी अवस्था शरणार्थीमैत्री नभएकाले उनीहरू अमेरिकातर्फ जान थालेका छन् ।
अमेरिकी सीमामा देखिएको संकट शरणार्थी समस्याको सानो हिस्सा मात्रै हो । ग्वाटेमाला सीमानजिकको मेक्सिकोको तापाचुला सहरमा तीन लाख ५० हजार जनसंख्या रहेको छ, जहाँ ५० हजारदेखि एक लाख शरणार्थी बसिरहेका छन् । यीमध्ये आधा शरणार्थी हैटीका छन् । मेक्सिकन अधिकारी शरणार्थी दाबीको कागजात तयार नहुँदासम्म शरणार्थीलाई हलचल गर्न दिइरहेका छैनन् । यद्यपि, त्यस प्रक्रियालाई एक वर्षभन्दा बढी लाग्ने देखिन्छ र आप्रवासी मेक्सिकोबाट छुटकारा खोजेर उत्तरतर्फ जान उद्यत् रहेका छन् ।
तापाचुलास्थित मेक्सिकन आप्रवासन अधिकारी उत्तरतर्फ लागिरहेका हजारौँ आप्रवासी एवं शरणार्थीको लस्करलाई रोक्न थालेका छन् । पारिवारिक बिछोड, असुली र हातपातका सूचनाहरू आइरहेका छन्, केही घटनाहरूको भिडियोसमेत बाहिर आएका छन् । यी अत्याचारका बाबजुद विभिन्न देश तथा जातिका शरणार्थी अमेरिका–मेक्सिको सीमातर्फ जाने क्रम रोकिएको छैन । अर्थात्, शरणार्थी नियन्त्रण सहज देखिँदैन ।
मेक्सिकोको रक्षा मन्त्रालयले ‘सबै किसिमको आप्रवासन’ रोक्न १४ हजार सेना परिचालन गरिएको बताएका छन् । तर, मन्त्रालयको यस्तो दाबीका बाबजुद मेक्सिकोसँग यस्ता कारबाहीलाई सफल बनाउन चाहिने वित्तीय स्रोत एवं जनशक्तिको कमी छ । सन् २०१४ मा राष्ट्रपति बाराक ओबामाले मेक्सिकोका राष्ट्रपति एनरिके पेना निएटोलाई आप्रवासी रोक्न सहयोग मागेका थिए । मेक्सिकोका अधिकारीले आप्रवासी रोक्न सहजै सहमति पनि जनाएका थिए, तर सहयोग दुई वर्षभन्दा बढी टिक्न सकेन । नतिजा २०१७ देखि मेक्सिकोले गर्ने आप्रवासीलाई सम्बन्धित मुलुक फिर्ती गर्ने काम कम गर्यो भने अमेरिकामा आप्रवासीलाई हिरासतमा लिने र सम्बन्धित मुलुक फर्काउने क्रम बढ्यो । अहिले यो क्रम उच्चतम बिन्दुमा पुगेको छ ।
माथि उल्लेखित प्रवृत्ति दोहरिने सम्भावना देखिन्छ । मेक्सिकोको प्रयास अपूरो छ । झन् अहिले त अर्थहीन र अपमानजनक पनि छ । अमेरिका डेल रियोमा रहेका हैटी शरणार्थीलाई सहजै उपेक्षा गर्न सक्दैन, न यो समस्याको समाधान लागतरहित छ । हालको सीमा शरणार्थी समस्या समाधान गर्नका लागि मेक्सिकोका वर्तमान राष्ट्रपतिद्वारा भइरहेको अर्थतन्त्र र महामारीको कुव्यवस्थापन, विधिको शासन र लोकतन्त्रमाथिको हमलालाई बाइडेनले अनदेखा गर्नुपर्छ । अहिलेका लागि सबैभन्दा उत्तम विकल्प त्यहाँ रहेका हैटीका शरणार्थीलाई अस्थायी संरक्षण हैसियत (टिपिएस) दिनु हो । उसो त टिपिएस सिद्धान्ततः अस्थायी हो, यद्यपि यो अनिश्चित समयसम्म लम्बिन सक्छ ।
इडेनले स्थलमार्गबाट अमेरिका पुग्न लाग्ने चिली, मेक्सिको र पानामाजस्ता ट्रान्जिट मुलुकका आप्रवासीलाई उचित आश्रयस्थल एवं कागजात उपलब्ध गराउन आग्रह गर्नुपर्छ । तर, हैटीका आप्रवासीलाई उचित आश्रयस्थल एवं कागजातको आग्रह गर्दा स्वभावतः अमेरिकाले यी मुलुकलाई सहयोग गर्नुपर्छ । यस सन्दर्भमा सहयोग रकम अमेरिका, चिली, पानामा र मेक्सिकोमध्ये कहाँ खर्च गर्ने भन्ने प्रश्न उठ्छ ।
सीमामा रहेका हैटीका शरणार्थीलाई टिपिएस दिँदा सम्भवतः अन्य शरणार्थी अमेरिका जान प्रोत्साहित हुन्छन् । यो उपायले क्युबा, होन्डुरस, एल साल्भाडोरलगायतका मुलुकका मानिसलाई अमेरिका आउन प्रोत्साहन गर्न सक्छ । सन् १९९० को दशकताका डुंगाबाट आउने हैटीका शरणार्थी अमेरिका आउन रोकिएझैँ शरणार्थी समस्या लामो समयसम्म भने रहनेछैन । अर्थात्, शरणार्थीको ठूलो प्रवाह बिस्तारै विभिन्न आर्थिक, सामाजिक एवं सांस्कृतिक कारणहरूले रोकिनेछन् । तर, अहिले आउने शरणार्थी एवं आप्रवासीलाई अमेरिकाले सजिलै व्यवस्थापन गर्न सक्छ । सन् २०२२ र २०२४ को चुनावलाई ध्यान दिएर हेर्ने हो भने डेमोक्रेटलाई जबरजस्ती हैटीका बालबालिकालाई प्लेनमा खाँदेर कलह, निराशा एवं दुःखको गर्तमा जाक्नुभन्दा अमेरिकामै विकल्प उपलब्ध गराउनु उचित देखिन्छ ।
मेक्सिकोका पूर्व–विदेशमन्त्री कास्टानेडा न्युयोर्क विश्वविद्यालयका प्राध्यापक हुन्।