हरितगृह ग्यास उत्सर्जन शून्य हुँदा तापक्रम थप जटिल हुनबाट मात्र रोकिन्छ, तर जति क्षति पुगिसकेको हुन्छ, त्यो आफैँ ठीक हुँदैन
यो पृथ्वीलाई कसरी चिस्याउन सकिन्छ ? त्यसका लागि औद्योगिक क्रान्तिपछिको मानव विकासमा महत्वपूर्ण भूमिका खेलेको खनिज इन्धनलाई कार्बनमुक्त विकल्पले विस्थापित गर्नुपर्छ । सौर्य तथा आणविक ऊर्जा सबैभन्दा बलियो प्रतिस्पर्धीको रूपमा देखिएका छन् । तर, नवीकरणीय इन्धनलाई सर्वव्यापी प्रयोग गरेर कार्बन उत्सर्जन शून्यमा झारेर मात्र पृथ्वी चिसिनेछैन । औद्योगिक युगको सुरुदेखि हालसम्म वातावरणमा जम्मा भएका कार्बनडाइअक्साइड आफैँ हट्नेछैन । कार्बन उत्सर्जन शून्य भएपछि वातावरणमा थप उत्सर्जन नथपिने मात्र हो । जति तापक्रम बढिसकेको हुन्छ, त्यो त आफैँ तल आउँदैन ।
सन् २०५० को अघि–पछि कार्बन उत्सर्जन शून्यमा झार्न कठिन भए पनि असम्भव नै छैन । मानौँ, सन् २०५० सम्म विश्वव्यापी कार्बन उत्सर्जन शून्य बन्यो । परिणामस्वरूप औसत तापक्रम वृद्धि हुन रोकिनेछ, तर कुनै हस्तक्षेपविना पृथ्वी पुनः चिसो हुन सयौँ वर्ष लाग्छ । कार्बन उत्सर्जन शून्यमा झर्ने वेलासम्म पृथ्वीको तापक्रम निकै बढिसक्ने हुँदा तातो हावा, आँधी हिजोआजको भन्दा भयानक हुनेछ । समुद्रको सतह वृद्धि हुन रोकिनेछैन । किनकि, तातो वातावरणमा ध्रुवीय क्षेत्रका हिमनदी पग्लिरहनेछ ।
यो वर्षको जुलाईमा तापक्रम नाप्न थालेयताकै गर्मी मापन भयो । तर, कार्बन उत्सर्जन रोकिएपछिका वर्षहरूको जुलाई महिनाको तुलनामा यो वर्षको जुलाई चिसो ठहरिनेछ । हरितगृह ग्यास उत्सर्जन शून्य हुँदा तापक्रम थप जटिल हुनबाट मात्र रोकिन्छ, तर जति क्षति पुगिसकेको हुन्छ, त्यो आफैँ ठीक हुँदैन । तापक्रमलाई पहिलेजस्तै चिसो बनाउनका लागि हामीले वातावरणमा जम्मा भइसकेको कार्बनसमेत कटौती गर्नुपर्ने हुन्छ । यही शताब्दीमा हाम्रो पृथ्वीलाई चिस्याउने हो भने मानिसले न त हावाबाट कार्बनलाई सोस्नुपर्छ, न त सौर्य जियोइन्जिनियरिङ अपनाउनुपर्छ । विज्ञदेखि सर्वसाधारणमाझ जियोइन्जिनियरिङभन्दा कार्बन कटौती लोकप्रिय छ । तर, मलाई सोध्नुहुन्छ भने मध्य–शताब्दीसम्म तापक्रम कटौतीको उत्कृष्ट माध्यम सौर्य जियोइन्जिनियरिङ नै हुनेछ । म आफैँ हावाबाट कार्बन सोस्ने प्रविधि विकास गर्ने कम्पनीको संस्थापक हुँ ।
कार्बन सोस्ने प्रविधिले धेरै ढिलो गरी वातावरणबाट कार्बन सोस्छ । अर्कोतर्फ जियोइन्जिनियरिङ सस्तो र छिटो हुन्छ । बर्सेनि २० लाख टनजति सल्फर वातावरणको ‘स्ट्रटोस्फेयर’ तहमा छर्किए पुग्छ । त्यसले पृथ्वीमा आउने उल्लेख्य सौर्य तापलाई परावर्तन गरेर तापक्रम छिटै एक डिग्रीले घटाउँछ । स्ट्राटोस्फेयरबाट सल्फर तल झर्न दुई वर्ष लाग्छ । फेरि सल्फर छर्कने कि नछर्कने नाफा–नोक्सान हिसाब गरेर पुनः निक्र्योल गर्न सकिन्छ ।
वातावरणमा २० लाख टन सल्फर हाल्ने कुरा सुन्दा गैरजिम्मेवार कामजस्तो सुनिन्छ । तर, त्यसको २० गुणा सल्फर बर्सेनि खनिज इन्धन जल्दा वातावरणमा मिसिने गर्छ । जियोइन्जिनियरिङले वायु प्रदूषण केही बढाउन सक्छ । ओजोन तहमा पनि केही क्षति पुर्याउन सक्छ । तर, अध्ययनअनुसार जियोइन्जिनियरिङले गराउने नोक्सानीको तुलनामा फाइदा धेरै हुनेछ । सल्फर प्रदूषणले गराउने मृत्यु विषम तापले गराउने मृत्युको तुलनामा १० देखि १०० गुणा कम हुनेछ ।
हावाबाट कार्बन सोस्ने कार्य पृथ्वीलाई स्थायी रूपमा चिसो बनाउने सबैभन्दा सुरक्षित बाटो हो । तर, त्यसले दशौँ अझ सयौँ वर्षपछि प्रभाव देखाउँछ, तर सौर्य जियोइन्जिनियरिङ प्रयोग गरे केही वर्षमै तापमान वृद्धिको नकारात्मक प्राभावलाई घटाउन सकिन्छ ।
जियोइन्जिनियरिङको खास समस्या भूराजनीतिक देखिन्छ । वातावरणमा सल्फर कुन मुलुकले हाल्ने, कति र कहिलेसम्म हाल्ने जस्ता निर्णय आखिर कसले गर्न सक्छ ? आजको अस्थिर विश्वमा यस्तो किफायती र उच्च लाभदायक प्रविधिलाई व्यवस्थापन गर्ने स्थायी प्रक्रिया निर्माण गर्ने सजिलो मार्ग छैन ।
हावाबाट कार्बन सोस्ने कार्य पृथ्वीलाई स्थायी रूपमा चिसो बनाउने सबैभन्दा सुरक्षित बाटो हो । तर, त्यसले दशौँ अझ सयौँ वर्षपछि प्रभाव देखाउँछ, तर सौर्य जियोइन्जिनियरिङ प्रयोग गरे केही वर्षमै तापमान वृद्धिको नकारात्मक प्राभावलाई घटाउन सकिन्छ । यद्यपि, जियोइन्जिनियरिङबारे पर्याप्त बहस भइरहेको छैन । जियोइन्जिनियरिङको अनुसन्धानमा निकै थोरै बजेट आउने गरेको छ र यससम्बन्धी जे जति काम भएका छन्, अधिकांश काम वैज्ञानिकले तिनको संस्थानको प्राथमिकताका काम गरेपछि बचेको समयमा गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले पेरिस सम्झौतामा १.५ डिग्री सेल्सियसको लक्ष्य हासिल गर्न कार्बन सोस्ने प्रविधिलाई जोड दिएको छ । त्यो पनि कार्बन सोस्ने प्रविधि र सौर्य इन्जिनियरिङबीच तुलनात्मक वैज्ञानिक अध्ययनपछि गरिएको होइन । जियोइन्जिनियरिङका प्रशस्त विरोधी छन् । जियोइन्जिनियरिङ अनुसन्धानप्रतिको बलियो प्रतिरोधको पछाडि एउटा डर छ । विश्वका औद्योगिक शक्ति र पेट्रोलियम शक्तिले यथास्थिति कायम राख्न यसको उपयोग गर्लान् कि भन्ने डर छ । वातावरणमा सल्फर हालेर पृथ्वीलाई चिस्याउन सकिन्छ भने किन कार्बन उत्सर्जन कम गर्ने तर्क तिनले गर्न सक्छन् ?
धनाढ्यले यथास्थितिलाई कायम राख्न खोज्लान् भन्ने डर वास्तविक हो, तर जियोइन्जिनियरिङबारे अनुसन्धान नगर्नु पनि सही होइन । किनकि, जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिममा विश्वका सबैभन्दा विपन्नहरू छन् । उनीहरूलाई तत्काल तापक्रम वृृद्धिको जोखिमबाट जोगाउनुपर्ने जिम्मेवारी पनि त छ । ताप वृद्धिले बौद्धिक तथा भौतिक उत्पादनशीलता घटाएर अर्थतन्त्रलाई नकारात्मक असर पार्छ ।
गर्मी क्षेत्रहरू अतिरिक्त डिग्रीको तापमान वृद्धिप्रति थप संवेदनशील हुन्छन्, चिसो क्षेत्रलाई थोरै तापमान वृद्धिले बरु फाइदा पुर्याउन सक्छ । सामान्यभन्दा एक डिग्री तातो कुनै वर्ष भारतको आर्थिक वृद्धि १७ प्रतिशले कम हुन सक्छ, जबकि स्विडेनमा २२ प्रतिशतको वृद्धि हुनेछ । जियोइन्जिनियरिङले घटाउने तापक्रमले विश्वव्यापी आर्थिक असमानता झन्डै २५ प्रतिशतले कम गर्ने देखायो । अमेरिकामा सबैभन्दा धेरै असमानता घटाउन जिम्मेवार ‘न्यु डिल’ कार्यक्रमले चार दशकको अवधिमा यस्तो लक्ष्य हासिल गरेको थियो ।
हार्वर्ड विश्वविद्यालयमा एप्लाइड फिजिक्सका प्राध्यापक डा. किइथ ‘इनर्जी भर्सेस क्लाइमेट’ पोडकास्टका सह–उद्घोषक हुन् । साथै, उनी वातावरणबाट कार्बनडाइअक्साइड पक्रने प्रविधि बिक्री गर्ने कम्पनी कार्बन इन्जिनियरिङ कम्पनीका संस्थापक तथा बोर्ड सदस्य हुन् ।