शिल्पी अर्थात् सभ्यताका असली निर्माता

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

शिल्पी समुदाय संस्कृतिको मूल आधारशिला नै हुन् । शिल्प–कला, संस्कृति, सम्पदा र सभ्यताको विकास भइसकेपछि मात्रै जातीय विभेद र उत्पीडन लादिएको हो । यसमा धेरै व्यक्तिलाई अलमल रहेकाले स्पष्ट हुन जरुरी छ ।


राज्यले नीति नै बनाएर लामो समयसम्म शूद्र–अछुतलाई शैक्षिक अधिकारबाटै वञ्चित ग¥यो । यसकारण मौखिक इतिहासबाहेक उनीहरूको लिखित इतिहासको कल्पना गर्न सकिँदैन । जति इतिहास छन्, ती सत्यतथ्य, वास्तविकताभन्दा निकै पर छन् । किनकि, शासकीय र वर्गीय पक्षधरतालाई नै विजित इतिहासले पक्षपोषण र गुनगाण गाउने गरेको छ । यसकारण पराजित पारिएका, दास बनाइएकाहरूबारे इतिहास कि त मौन छ, कि पूर्वाग्रही छ । नेपालको भूमिमा शिल्पी (कथित दलित) समुदाय बुद्धकालीन समयभन्दा अघिबाटै उपस्थिति रहेको पाइन्छ । आँखैअघिल्तिरको यो तथ्यलाई अनदेखा गरिन्छ । लाजै नमानी पृथ्वीनारायण शाहसँगसँगै शिल्पी÷दलितहरू देशभर विस्तार भएका भन्नसम्म भ्याइन्छ । 

मध्यपश्चिम–सुदूरपश्चिम र तराई क्षेत्रको सबभन्दा पुरानो बासिन्दा शिल्पी समुदाय नै हो । विशेषगरी, सुदूरपश्चिम र भेरी–कर्नाली प्रदेशमा खस–बाहुनको ठूलो समूह प्रवेशपछि शिल्पी समुदाय आफ्नो थातथलो, राजकाज, संस्कृति र अनादिकालीन शिल्प (मानव) सभ्यताबाट विस्थापित गरिए । केही तथ्यको अन्वेषण गरौँ– सुदूरपश्चिम र भेरी–कर्नालीका शिल्पी समुदायको जातीय नाममा दर्जनौँ गढी, किल्ला कोटहरूको नामकरण भएको छ । यस क्षेत्रमा ठूला र प्रख्यात देवीदेवता शिल्पी समुदायकै पुर्खाहरूले पाएका छन् । यस क्षेत्रको कला सांस्कृतिक विरासत करिब ९६ प्रतिशत यिनै समुदायले धान्दै आएका छन् । यहाँ विभिन्न ठाउँमा अहिले पनि भूमिपति (मट्या)को रूपमा रहेका छन् । झाँक्री विद्या, नाचगान, कला संस्कृति कुमशाल्या (कथित तल्ला जात) जातिको भन्ने तथ्य इतिहासमा उल्लेख गरिएको पाइन्छ । शिल्पी समुदायलाई विभिन्न ठाउँमा आमनरसंहार गरिएको इतिहास गायब छ । क्षेत्रगत र ऐतिहासिक निरन्तरताको रूपमा आजसम्म भेरी–कर्नाली क्षेत्रमा देशकै पहिलो ठूलो जनसंख्या रहेको छ । 

विभिन्न ऐतिहासिक दस्तावेज र स्थलगत अध्ययन गर्दा शिल्पी समुदाय भेरी–कर्नालीका अनादिकालीन रैथानेवासी रहेको प्रमाणित हुन्छ । शताब्दीयौँअघि नै वर्तमान समयमा कथित दलित भनिने जातीय समूहहरू यहाँ आइसकेको जनकलाल शर्मा, डा. केशवमान शाक्य, डा. सुरेन्द्र केसी, डा. महेश्वर जोशी, स्व. प्रा.डा. जयराज पन्त, डिल्लीराज शर्मा र नवराज सुवेदीलगायत इतिहास, संस्कृतिविद्हरूले पुष्टि गरेका छन् । यी तथ्य र वस्तुगत आधारहरूले लिखित इतिहासमा सत्यलाई गुमराह गरिएको स्पष्ट हुन्छ । देशैभर र विशेष गरी सुदूरपश्चिम र कर्नाली क्षेत्रमा शिल्पी समुदायको दर्जनौँ कोट, गढी र किल्लाहरू पाइन्छन् ।

जसमा–मुसहरकोट (अहिले मुसीकोट) रुकुम, भियालकोट (सार्की) र सुनारकोटमुगु, भुलकोट (सार्की) बाग्लुङ÷बझाङ, डुमकोट–सुर्खेत, तिरुवाकोट (कामी), रुचालकोट (सार्की), समुद्रपालगढी (सार्कीकोट) र सार्कीदेउ–हुम्ला, सुवर्णनगर (कामी) जुम्ला, डुमराजाकोट (अर्थात्, उदुम्बरपुरी) डोटी, सराङकोट (सार्की) कास्की, दर्नाकोट (दमाई) अछाम, बादीकोट (बादी) प्युठान, कुमालीकोट (बादी) डोटी, गन्धर्वकोट (गल्कोट) र नरसिंहकोट बाग्लुङ प्रमुख छन् । तराईमा शिल्पी समुदायका थुप्रै राजा–महाराजा रहेको इतिहास छ । 

सातौँदेखि १३औँ शताब्दीबीच वर्तमान सिरहा जिल्लालाई केन्द्र बनाएर राजा सहलेशले शासन गरेका थिए । सिरहा नगरपालिकामा रहेको मैसोथागढमा राजा सहलेशको राजदरबार थियो । सहलेश (दुसाध­÷पासवान) शिल्पी समुदायका सबभन्दा ख्यातिनाम राजा रहे । उनी किराँतीहरूका समेत पूज्य थिए । उनको प्रभाव तराईमा मात्रै सीमित नभएर महाभारत शृंखलादेखि गंगा नदीसम्म फैलिएको थियो । गंगाको किनारस्थित मुक्माघाटमा अहिले पनि ठूलो संख्यामा दुसाध (पासवान) जातिको बसोवास छ । त्यो समयका खस राजा कुलेश्वरसँग पनि राजा सहलेशको सुमधुर मैत्रीपूर्ण सम्बन्ध थियो । खस राजाका सेनापति चुहरमल्लको उदण्ड व्यवहारलाई नियन्त्रण गर्न कुलेश्वरलाई सहलेशले मद्दत गरेको भनिन्छ।

सहलेशले राज्यमा न्यायका लागि ‘गहबर’ को स्थापना गरिदिएका थिए । मैथिली भाषामा गहबरको अर्थ गुहार लाउने, अपिल गर्ने, न्याय माग्ने, मेलमिलाप केन्द्र, ग्रामीण अदालत भन्ने हुन्छ । पूर्व एमाले सांसद रामप्रित पासवानका अनुसार, ‘अहिले पनि तराईका सबै जिल्लामा दुसाध (पासवान) जातिको घर–आँगनमा गहबर मन्दिर बनाइएको हुन्छ । जहाँ राजा सहलेश उपस्थिति भएर न्याय पाइन्छ भन्ने जनविश्वासले पूजाआजा र प्रार्थना गरिन्छ ।’ पासवान सम्झिन्छन्, ‘किराँतीहरूले देउराली वा गहबरमा जय सहलेश महाराज भन्दै श्रद्धाभावले शिर झुकाएको म आफैँले देखेको छु ।’ 

शिल्पी राजा सहलेशको इतिहास गौरवशाली थियो । मिथिला प्रदेशमा प्राचीन र मध्यकालमा राजा जनक (शिरध्वज) र डोमराजाको शासनकालमा विविध क्षेत्रमा चमत्कारपूर्ण उन्नति भएको देखिन्छ । कारिक महाराज (चमार), सोसिया महाराज (खत्वे­­) तराईका चर्चित राजा रहे । यिनका वंशज आज आगन्तुकहरूबाट अपहेलित, तिरष्कृत भई विस्थापनको चरणमा छन् । भूमिहीन र नागरिकताविहीन उनीहरू नै बढी देखिन्छन् । एक समयको गौरवशाली जाति, समुदाय आज किन गर्तमा छ ? कसले पुर्यायो उनीहरूलाई यो स्थितिमा ? यो अपराधको भागिदार को ? यसको भरपाई के ? यसरी अनार्य द्रबिड, शिल्पी समुदायलाई उनीहरूको आफ्नै राजकाज, भूमि, सभ्यताबाट बेदखल गरेर शासकहरूले सदियौँ चुसेको इतिहास साक्ष्य छ । शिल्पी समुदायको भूमि र अस्तित्वसँग जोडिएका अन्य नामहरू पनि छन्, जस्तो– ललितपुर जिल्लामा दमाईटार, भक्तपुर जिल्लामा नगरा–नगरकोट, काभ्रे जिल्लामा कामीडाँडा, कास्की जिल्लामा माछापुच्छ«े हिमशृंखलामा रहेको गन्धर्वचुली, तराईमा सुनारीपुर, लोहारीपुर, चमारीपुर, पत्थरकोट आदि । 

उनीहरूबारे नेपालका इतिहासकारहरूले आफ्नो लेखनमा कतै पनि खुलेर लेखेका छैनन् । लेखेकाले पनि सत्यलाई बाहेक गरेर लेखेका छन् । किनकि, इतिहास वर्गीय रूपमा शासकहरूकै गुणगान गाउने हतियार भएकाले जित्नेहरूको इतिहास लेखियो, देवत्करण गरियो, प्रशस्ती गाइए, हाराइएकाहरूलाई खेदियो, तिनको इतिहास मेटाइयो र दमन शोषणको अखप शृंखला आजपर्यन्त चलाइएको छ । शासन र सत्ताबाट लखेटेर शिल्पी समुदायलाई आगन्तुक शासकहरूले मनुको अमानवीय वर्णव्यवस्थाको जाँतोमा हालेर कहिल्यै तंग्रिन नसक्ने गरी किनाराकृत गर्दै लगे । उनीहरूको अस्तित्व नष्टीकरण, इतिहास भ्रष्टीकरण र पहिचानलाई विकृतीकरण गरियो । शिल्प ज्ञानले सम्पन्न समुदायलाई वर्णव्यवस्थाको जाँतोमा पिसिन थालेपछि तिनले क्रमशः आफ्नो सान, सम्पत्ति, मान सबै गुमाउँदै गए । ती प्राणहीन, अस्तित्वविहीन, पशुतुल्य बनाइए । शासकहरूले सबै हिसाबले लुटेर नांगो बनाए, गाउँको छेउ, भिर, किनारमा पु¥याए, अछुत करार गरे, सम्पत्तिबाट पूर्ण रूपले विमुख बनाए । पेट पाल्नकै लागि समेत अहोरात्र श्रम गर्नुपर्ने भएपछि यी बोधीविहीन जस्ता हरतरहले दास भए, बनाइए । यो बेहिसाब पीडा, शोषण र दलनको हिसाब यो समुदायसँग कहिले र कसरी माग्ने ?

यति मात्रै होइन, खस भाषाभन्दा पुरानो दमाईहरूको कलाउँते (दमु) मातृभाषा प्रचलनमा रहेको प्रमाण छ । अछामी वंशावलीका अनुसार वि.सं. १७५८ मा राजा भीम शाही पितृ शाहीको एक ताम्रपत्रमा खस लिपि र कलाउँते (दमु) लिपि प्रयोग भएबाट पुष्टि हुन्छ । राजदरबारमा समेत दमु मातृभाषा प्रयोग हुनुले यी समुदायहरू त्यस समयअघिबाटै भाषा, संस्कृति, परम्परामा सम्पन्न थिए भन्ने देखिन्छ । गन्धर्वको आफ्नै मातृभाषा र पिंगुल लिपि छ । कामी जातिको आफ्नै मातृभाषा लापोन्मुख अवस्थामा रहेको लेखक रणेन्द्र बराइली बताउँछन् । बादी जातिको आफ्नै मातृभाषा रहेको नन्दराम बादीबाट जानकारी पाएको छु । खेतीपाती, कृषि उत्पादनमा किराँती शिवसँगै कामी जातिको योगदान रहेको झाँक्री उख्खा फलाकले भन्छ । चर्मशास्त्रको विकासमा सार्कीको विशिष्ट भूमिका छ । यसरी हिमवत्खण्डमा शिल्पी समुदायले शिल्प सभ्यता, संस्कृति, सम्पदाको विकासमा उल्लेख्य योगदान दिँदै आएका छन् । मूलतः शिल्पी समुदाय प्रकृतिपूजक हुन् र बोन परम्परालाई मान्छन् । 

प्राचीन इतिहासका अनुसार उनीहरू आफ्ना संस्कारहरू वैदिक विधिबाट गर्दैनथे । जन्मदेखि मृत्युसम्मका मानवीय संस्कृति आफ्नै मौलिक मन्त्र–तन्त्र परम्पराबाट गर्थे । जब १२औँ शताब्दीमा खस साम्राज्य विस्तार अघि र पछि ठूलो संख्यामा भेरी–कर्नालीबाट स्थानान्तरण हुँदै गण्डकी, काठमाडौं र पूर्वतिर लागे, तबबाट आफ्नो मौलिक परम्परा छोड्दै गएको पाइन्छ । तराईका शिल्पी समुदायहरू मौलिक शिल्पकला, भाषा, संस्कृति, राजकाज, रीतिरिवाज, परम्परा, सम्पदा र सभ्यताका धनी छन् । डोमले ढकिया नबुनीकन छट पर्व अपूरो हुन्छ । मुसहरले माटो वा भूमि पुज्छन्, ती परम्परागत औषधिविज्ञ मानिन्छन् । अध्येता सौरभका अनुसार तत्माहरू कुनै समयका नाम चलेका व्यापारी थिए । परिबन्धले तिनको व्यापारिक पहिचान हराएको मात्र हो । विशेषगरी हिमाल, पहाड र तराईका शिल्पी समुदाय शासकीय उत्पीडन, विभेद र बहिष्करणले आजको अवस्थामा छन् । 

शासन र सत्ताबाट लखेटेर शिल्पी समुदायलाई आगन्तुक शासकहरूले मनुको अमानवीय वर्णव्यवस्थाको जाँतोमा हालेर कहिल्यै तंग्रिन नसक्ने गरी किनाराकृत गर्दै लगे । उनीहरूको अस्तित्व नष्टीकरण, इतिहास भ्रष्टीकरण र पहिचानलाई विकृतीकरण गरियो । 

प्रकृतिमा मानव पहिलो हो, सामुदायिक चिनारी, पहिचान दोस्रो मानिन्छ । कुनै पनि व्यक्ति धर्तीमा पदार्पण हुँदा केवल मानव भएर जन्मिन्छ । उसलाई जात, धर्म, भाषा, वंश थाहा हुँदैन । यसरी फराकिलो मानवीय कोणबाट हेर्दा धर्तीका सबै मानव मानव मात्रै हो । तर, सामुदायिक र जातीय सीमाभित्र बाँधिएर मानवबाट दानव बन्ने अवस्थामा झरेको देखिन्छ । 
आदिम कबिला युग, जंगली युग, पशुपालन र कृषियुगको चरण पार गर्दै आजको अवस्थामा मानिस आइपुगेको छ । विकासको उपक्रममा मानिसले मानिस–मानिसबीच असंख्य विभाजनका रेखा पनि को¥यो । आफूजस्तै अर्काेको शोषण खातिर छुवाछुत, उच–निच बनायो । दैनिक उपभोग्य वस्तु, जस्तै– वस्त्र, खाद्य पदार्थ, घर, सुरक्षा र आत्मसन्तुष्टिका लागि प्रकृतिको पूजा, मनोरञ्जनका लागि बाजा, संगीतको आविष्कार र विकास ग¥यो । यही उपक्रममा मूर्त, अमूर्त संस्कृतिहरू विकास भए । आदिम कबिला साम्यवादी समाजमा साझा संस्कृति थियो । बिस्तारै भूमि, पशुपालन र महिला एकअर्काले हडप्ने, खोस्ने, चोर्ने कारणले झुन्ड–झुन्ड, समूह–समूहमा विभाजित हुँदै गए । पृथक जातिको रूपमा विकास हुँदै गए ।

नेपालको सन्दर्भमा जाति, भाषा, संस्कार, संस्कृति, धर्मलाई पहिचानको आधार मानिएको छ । तर, पुरातनवादमा आधारित उत्पीडनले नष्ट पारिएका शिल्पी समुदायको पहिचानका चिनारी र आधारहरू नष्ट भइसकेका छन् । उनीहरूसँग वर्तमानमा बाँचेको शिल्पकौशलमा आधारित सीप कला, प्रविधि र संस्कृति नै यिनको साझा पहिचान हो । यसभित्र पुख्र्यौली ज्ञान परम्परामा आधारित शिल्पकला, संस्कृति, सम्पदा र सभ्यता समाहित छन् । शिल्पी समुदाय संस्कृतिका मूल आधारशिला नै हुन् । जुन समुदायसँग आफ्नो जातीय सीप–कला हुन्छ, उनीहरू नै संस्कृति, सम्पदा र सभ्यताका धनी हुन्छन् । शिल्पकलाको निर्माणबाट संस्कृतिको विकास हुन्छ । संस्कृतिको विकास भएर सम्पदामा परिणत हुन्छ । यही सम्पदाको विकसित रूप नै सभ्यता हो । जस्तो, डोमको ओढ्नी, मुसहरको मृदंग, बादीको मसक, गन्धर्वको अरबाजो, कामीको मुर्चुंगा, दमाईको हुड्को, पञ्चैबाजा, सार्कीको साबर, कुलु, मादल बनाउने, बजाउने पुस्तौनी ज्ञान, सीप–कला, प्रविधिको विकास पुर्खाहरूको प्रकृतिसँगको हजारौँ वर्षको अन्तरक्रिया र सामीप्यबाट मात्र सम्भव भएको हो । एउटा बाजा र शिल्पकलाको विकास हुनका लागि हजारौँ वर्ष लाग्छ । 

कतिपय भन्ने गर्छन्– जातीय विभाजन पेसासँगै भएको हो । बाजा, संगीत, शिल्पकला र हस्तकलाको इतिहास, विकास र निर्माण प्रक्रियाको ज्ञानको अभावमा यस्तो भ्रम सिर्जना भएको हो । कामीले सुन, चाँदी, फलाम जोड्ने (रसायनशास्त्र) पदार्थ, चुनढुंगा, पानीको मात्रा मिलाउने विधि, सार्कीले विभिन्न जनावरको छालामा विभिन्न रङ चढाउन प्रयोग गर्ने विभिन्न वनस्पतिको प्रयोग विधि, गन्धर्वले नाहुरको आन्द्रा प्रशोधनबाट अरबाजो, सारंगीको तार बनाउने विधि, डोमले बाँसको चोयाबाट ढकिया, नाङ्लो बनाउने विधिलगायत जति पनि पुख्र्यौली ज्ञान, सीप–कला, प्रविधि समयका हिसाबले आदिम कबिला समुन्नत सभ्यताका साक्ष्य प्रमाण हुन् । 

१५औँ शताब्दीमा कडा रूपमा जातीय विभेद थालनी हुनुभन्दा हजारौँ वर्षअघि नै यी सीप, कला विकसित भएका थिए । शिल्पकला, संस्कृति, सम्पदा र सभ्यताको विकास भइसकेपछि मात्रै जातीय विभेद र उत्पीडन लादिएको हो । यसमा धेरैजसो व्यक्तिलाई अलमल रहेकाले स्पष्ट हुन जरुरी छ । कथित दलितहरूको सामुदायिक चिनारी र पहिचान नै शिल्पकौशल हो । शिल्पी समुदायको जातिगत रूपमा आ–आफ्ना मौलिक भाषा, संस्कृति, संस्कार, परम्परा, रीतिरिवाज, मूल्यमान्यता, राजकाज रहेको तथ्य हो । लामो उत्पीडन, विभेद र बहिष्करणले लोप जस्तो भएको मात्रै हो । जब कुनै पनि जात वा समुदायको इतिहास विलोपीकरण गरिन्छ, उसलाई सदाका लागि दास बनाउन सकिन्छ । मनुनिर्मित वर्णव्यवस्था नामक अमानवीय हतियारको प्रयोग यहीँनेर गरियो र मानव सभ्यतालाई समृद्ध बनाउने सिंंगो शिल्पी समुदायलाई नै पिँधमा पु¥याइयो । चतुर, गफास्ट वर्ग, जातिले आफूलाई समाजको शिरमा राख्यो, क्रमैसँग पदसोपानको भारीले किच्दै झन्झन् तल–तल सामाजिक संरचनाको गर्तमा बलपूर्वक धकेलेर कहिल्यै उठ्न नसक्ने दुष्चक्र खडा गरिदियो । शासक र उच्च जातिको गठजोड खडा गरेर मनुका अनुयायीहरूले गरेको अपराध अक्षम्य छ । 

सभ्यताका निर्मातालाई इतिहासबाट बेदखल गरेर, शक्तिहीन बनाइयो । विजित शासकको, प्रभुत्व र वर्चस्वले गुमनाम पारिँदै आयो । शिल्पी समुदायलाई निर्जीवीकरण गरिएको छ । समुदायगत पहिचान र राष्ट्रियताविहीन बनाएर सदियौँ शोषण गरियो, जुन चक्र अझै ज्युँकात्युँ छ । शिल्पी÷दलित समुदायले आफ्नो इतिहास खोजून्, पढून् । वर्तमानलाई विश्लेषण गरून्, बुझून । अन्तहीनजस्तो लाग्ने यो त्रासद शोषण, दमन, बहिष्करण, अमानवीकरणबाट छुटकारा, मुक्ति सम्भव छ, बोधी जाग्नु मात्रै पर्छ । 

सुझावित समाचार