कर्णालीमा रोग, भोक र विपन्नता मात्रै छैन । रोग निवारण गर्ने जडीबुटी यहीँ छ, भोक मेट्ने अन्न यहीँ छ ।
कर्णालीको नाम नसुन्ने नेपाली कमै होलान् । कर्णाली भन्नेबित्तिकै मनमा रोग, भोक, दरिद्रता र विपन्नताको तस्बिर नाच्छ । धेरै मान्छेको दिमागमा छाप परेको छ, कर्णाली भनेको दुःखको सागर हो । आफूलाई विकासविद्, राजनीतिज्ञ ठान्नेहरूले कर्णालीलाई चरम खाद्यसंकट, गरिबी, अविकास र अभावैअभावको पर्यायका रूपमा चिनाए ।
तर, कर्णालीवासी त्यस्तो विपन्न छैनन् । कर्णाली सम्पन्नताको उच्च सम्भावना बोकेको प्रदेश हो । हामी कर्णालीवासी सुनको सिरानी हालेर नुनको खोजी गरिरहेका छौँ । कर्णालीलाई चिनाउनेहरूले रोग, भोक दरिद्रता र अभावलाई कर्णालीको पहिचान बनाए । विकासविद्, कर्मचारी, राजनीतिज्ञ, पत्रकारलगायत सबैले यसैगरी आफ्नो दुनो सोझ्याइरहेका छन् । कर्णालीमा रोग, भोक र विपन्नता मात्रै छैन । रोग निवारण गर्ने जडीबुटी यहीँ छ, भोक मेट्ने अन्न यहीँ छ । सिंगो देशलाई सम्पन्न बनाउने पर्यटकीय स्थल पनि यही प्रदेशमा छन् । तर, पहिचान गर्ने दृष्टि र इच्छाशक्तिको मात्रै कमी छ । राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा अन्य विकासका पूर्वाधारबाट सदियौँदेखि कर्णाली पछाडि पारिएको छ । जसको प्रत्यक्ष प्रभाव मानिसको जनजीवनमा असर पारेको छ ।
गैरसरकारी क्षेत्रको मनोमानी : कर्णालीको मानचित्रलाई पीडाको भूमि मानेर चित्रण गर्ने धेरै पक्षमध्ये एक गैरसरकारी संस्था पनि हुन् । कर्णाली प्रदेशका अधिकांश जिल्लामा गैरसरकारी संस्था सक्रिय छन् । कर्णाली प्रदेशका घरघरका भित्तामा गैरसरकारी संस्थाले सञ्चालन गरेका परियोजनाका विज्ञापन देखिन्छन् । गरिबी भोकमरी, महामारी, सामाजिक समानता तथा अन्य अभावका विषयमा कर्णालीका गैरसरकारी संस्थाको बुझाइ राम्रो देखिन्छ । बर्सेनि शृंगारपटार गरेका अनुसन्धानात्मक प्रतिवेदन गैरसरकारी संस्थाले लेख्छन्– कहाँ–कहाँ समस्या छ, कहाँ–कहाँ सम्भावना छ, उनैलाई धेरै थाहा हुन्छ ।
गैहसरकारी संस्थाले अनेकौँ प्रतिवेदन लेख्छन्, लेखा प्रतिवेदन रच्छन् । गरिबी, भोकमारी र रोग व्यथाका कथा लेख्छन् र दातालाई बेच्छन् । दाताले मानेपछि गाउँगाउँ, टोलटोल गएर दुई–चार दिन तालिम दिन्छन्, भेला तथा गोष्ठी आयोजना गर्छन् । लालीगुराँसका माला लगाएर दाताको आवाज बोल्छन् । अन्त्यमा खचाखच तस्बिर क्यामेरामा कैद गर्छन् । अलिअलि तालिम, गोष्ठी र सेमिनारपछि दुई–चार सय भत्ता बाँडेर नयाँ परियोजनाको रणनीतितिर लाग्छन् । कर्णालीको पीडा देखाएर केही थान प्रतिवेदन लेखिएला, लेखा प्रतिवेदन अघि सारेर केही लाख खान पाइएला, तर यस्तो प्रवृत्तिले कर्णालीका जनताको पीडामा मलम लगाउन सक्दैन ।
पेट भर्ने अन्न कर्णालीमा फल्छ : कर्णालीमा रातो मार्सीदेखि कागुनोसम्म, लट्टेदेखि सिमीसम्म, मकैदेखि कोदोसम्म, फापरदेखि जौसम्म, स्याउदेखि जडीबुटीसम्म, आलुदेखि पिँडालुसम्म सबै फल्छ । कागुनोदेखि चिनोसम्म के उत्पादन हुँदैन कर्णालीमा ? यस्तो विविधता संसारमा बिरलै भेटिन्छ । कर्णालीमा उत्पादन हुने धान संसारकै उच्च स्थानमा फल्ने बाली हो । त्यस्ता बाली अरू पनि थुप्रै छन् । जे फल्छन्, स्वादिष्ट र प्रांगारिक फल्छन् । जैविक विविधताको हिसाबले कर्णाली सबैभन्दा धनी छ । तराईको गर्मीदेखि बाहै्र महिना हिउँ रहिरहने क्षेत्र कर्णालीमा छन् । उच्च हिमाली क्षेत्रको हावापानी पाइने क्षेत्र यही कर्णाली भएकाले नेपालमा पाइनेमध्ये सबैभन्दा बढी गुलियोपना भएको स्याउ कर्णालीका हिमाली जिल्लामा पाइन्छन् ।
जडीबुटीको खानी : यो प्रदेशको सांस्कृतिक र प्राकृतिक जडीबुटी मात्रै सही रूपमा उपभोग गर्ने सक्यो भने पनि यो प्रदेशको समृद्धि हुने सम्भावना छ । रोग निको गर्ने विभिन्न किसिमका जडीबुटी यही प्रदेशका सम्पत्ति हुन । कर्णाली जडीबुटीकै खानी मानिन्छ । पाँचआँैले, जटामसी, कुड्की, अतिस, सेतो चिनी, वनलसुन, गुन्दाइनो, गुच्ची च्याउ, देवदार, निरमसी, धुपी, सल्लो, लौठसल्लो, भोजपात, यार्चागुम्बालगायत जडीबुटी यहाँ प्रशस्त पाइन्छन् । यसको व्यवस्थित उपयोगतर्फ स्थानीय र प्रदेश, सरकारको ध्यान पुग्न सकेको छैन ।
जनावरहरू : कर्णाली क्षेत्र हिमचितुवा कस्तुरी, मृग घोरल, नाउर, नायन, डाँफे, कालो भालु, लिकस, रातो फ्याउरो, तिब्बती फ्याउरो, फ्याउमुसो, जंगली कुकुर, वनचौँरी, वनघोडा आदि यसै प्रदेशका सम्पत्ति हुन् ।
दुर्लभ चरा : विश्वकै दुर्लभ र लोपोन्मुख चराहरू कालीकण्ठे सारस, चितुरमा भारद्वाज चरा यही उपत्यकामा फेला परेका छन् । उपत्यकाको माथिल्लो क्षेत्रमा ७० प्रजातिका चरा पाइन्छन् । साइबेरिया र मानसरोबरबाट हिउँदमा बसाइँ सरेर जाडो छल्न आउने चराचुरुंगीको वासस्थान हो रारा र से–फोक्सुन्डो । रारा र से–फोक्सुन्डोजस्ता देशका सबैभन्दा ठूला र गहिराइ भएका ताल कर्णालीमै पर्छन् । कर्णालीमा धेरै राम्रा कुरा छन्, तर त्यसको चर्चा हुँदैन । कर्णालीमा यस्ता धेरै चिज छन्, जसको यथार्थमा खोजी भएकै छैन । यति धेरै सम्भावना बोकेको कर्णालीका नाममा किन यति धेरै नकारात्मक टीकाटिप्पणी हुन्छन् ? कर्णालीवासी सधैँ किन हेपिन्छन् ?