पार्टी विभाजनपछि गुमेको शक्ति आर्जनको उपाय खोज्न एमालेले ६ हजारभन्दा धेरै नेता/कार्यकर्ताबीच आत्ममन्थन गर्दै
सरकारबाट बहिर्गमनपछि बदलिएको भूमिका र पार्टी विभाजनपछि गुमेको शक्ति आर्जनको उपायको खोजीमा प्रमुख प्रतिपक्ष दल एमालेले आत्ममन्थन सुरु गर्दै छ । संघीय सरकारबाट बाहिरिएको अढाई महिना र पार्टी विभाजनको पाँच हप्तापछि एमालेले देशभरबाट ६ हजारभन्दा धेरै नेता–कार्यकर्ता सहभागी गराएर आत्ममन्थन गराउन थालेको हो ।
शुक्रबारबाट ललितपुरको गोदावरीमा एमालेको तीनदिने प्रथम विधान महाधिवेशन सुरु हुँदै छ । यति ठूलो सहभागितामा एमालेले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो । विधि र नीति निर्माणका लागि केन्द्रित गरेर विधान महाधिवेशन आयोजना गरिएको एमाले नेताहरूले बताएका छन् ।
एमालेले पहिलो विधान महाधिवेशनमार्फत राज्यसत्तामा पुनरागमन गर्ने सन्देश दिने तयारी गरेको छ । नेकपा छुट्टिएर पूर्ववत् एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै माधव नेपाल नेतृत्वको समूह बाहिरिएपछि दोस्रो क्षति व्यहोरेको एमालेले धेरै प्रतिनिधि भेला पारेर पूर्ववत् हैसियतमा फर्किने सन्देश दिने तयारी गरेको छ । एमाले विभाजन गरी ९ भदौमा माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ ।
एक महिनाकै बीचमा विभाजनको क्षति व्यहोरेको एमालेले नेपालको नेतृत्वमा बनेको नेकपा एसमा लागेका नेता–कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ । त्यसका लागि नेतृत्वमा ७० वर्षे उमेरहदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र सांगठनिक प्रतिवेदनमा समेटेर विभाजन चिर्नेलगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ ।
महाधिवेशनमा पेस हुने अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमा सहभागीले समूहगत आधारमा मन्थन गर्नेछन् । र, उनीहरूका सुझाबसमेत समेटेर ती प्रतिवेदन पारित गर्ने र घर फर्कँदा नेता–कार्यकर्तामा उत्साह भर्ने एमालेको योजना छ । ओलीले प्रतिवेदनमा आफ्नो कमजोरीबारे उल्लेख गरेको भन्दै घनश्याम भुसाललगायतका केही नेताले भने असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

महाधिवेशन हुने गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । तस्बिर : नयाँ पत्रिका
सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले पार्टी विभाजनको गलत सन्देश चिर्दै पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउन र फेरि पनि बहुमत प्राप्त पार्टीको पुरानै बिरासतमा फर्काउने उद्देश्यले धेरै प्रतिनिधिको सहभागितामा महाधिवेशन आयोजना गर्न लागिएको बताए । ‘अबको कार्यभार आउने स्थानीय, प्रदेश र संघको चुनावमा एमालेले बहुमत ल्याउन र त्यसका लागि देशभरिका अगुवा साथीहरूलाई अगाडि बढ्न आह्वान विधान महाधिवेशनबाट गर्नेछौँ,’ भट्टराईले भने ।
एमाले नेताहरूका अनुसार एमाले र माओवादीबीचको एकतामा नपुगेको, पार्टी विभाजनमा नेपाल समूहको भूमिका, संविधान र लोकतन्त्रको रक्षा, आफ्नो नेतृत्वको सरकारले सुरु गरेको कामको निरन्तरतालगायतका विषयमा विधान महाधिवेशनमा आत्ममन्थन केन्द्रित हुनेछ । आगामी चुनावमा बहुमत प्राप्त सरकार बनाउने र यसका लागि आवश्यक सिद्धान्त, कार्यक्रम–कार्यदिशा, नीति र संगठनको ढाँचा तय गर्ने कार्यसूची छ ।
विधान महाधिवेशनमा ७७ जिल्ला, जनसंगठन, प्रवाससहितका प्रतिनिधि सहभागी हुँदै छन् । आत्ममन्थनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ–संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य सहभागी हुनेछन् ।
विधान महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले बताएका छन् । सहभागीलाई समूहमा विभाजन गरेपछि दोस्रो दिन समूहगत छलफल गरेर समूहगत नेताले साझा धारणा प्रस्तुत गर्नेछन् । तेस्रो दिन उठेका प्रश्नको ओली, पोखरेल र पौडेलले जवाफ दिनेछन् । त्यसपछि परिमार्जनसहित प्रतिवेदन पारित हुनेछन् । एमाले नेताहरूले महाधिवेशन प्रतिनिधिकै सुझाब प्रतिवेदन परिमार्जनमा निर्णायक हुने बताएका छन् । तर, समूहमा धेरै हुने भएकाले सबैका सुझाब लिन कठिन छ ।

विधान महाधिवेशनको हलको मञ्चमा पदाधिकारी र स्थायी समितिहरू सदस्यलाई राखिने, सभाहलमा तीन हजार प्रतिनिधि र हलको दायाँ–बायाँ खाली स्थानमा एक–एक हजार प्रतिनिधिहरू राखिने प्रबन्ध गरिएको मूल व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै, हलको दायाँ–बायाँ प्यासेजहरूको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप दुई हजार प्रतिनिधि राख्न सकिने गरी व्यवस्थापन गरिएको जनाइएको छ ।
महाधिवेशन अवधिभर प्रतिनिधिहरूलाई बिहान ९ देखि ११ बजेसम्म खाना खुवाउने, दिउँसो ३ बजे खाजा खुवाउने तथा आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरूको सहयोगमा व्यवस्थापन गरिने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, निजी सवारी नभएका प्रतिनिधिहरूलाई ललितपुरको सातदोबाटोबाट बसको व्यवस्था गरिएको तथा प्रतिनिधिहरूको व्यवस्थापन र महाधिवेशन सम्पन्न गर्न दुई सय स्वयंसेवक परिचालन गरिएको छ । काठमाडौंको दरबारमार्ग, तिनकुने, चाबहिल, चुच्चेपाटी, हात्तीसार, कमलादी, थापाथलीलगायतका स्थानमा डिजिटल बोर्डको माध्यमबाट प्रचारप्रसारको प्रबन्ध गरिएको छ ।
एमालेमा प्यानल निर्वाचनमा बन्देज
आठौँ र नवौँ महाधिवेशनमा प्यानल (समूह) निर्वाचनबाट नेतृत्व चुनेको एमालेले दशौँ महाधिवेशनमा भने त्यसमाथि बन्देज लगाएको छ । नवौँमा केपी ओली र माधव नेपालको प्यानलबीच पदाधिकारी र केन्द्रीय कमिटीमा प्रत्यक्ष निर्वाचन भएको थियो ।
त्यसले गुटबन्दी चर्काएर पार्टी विभाजन गराएको भन्दै एमालेले विधान संशोधन प्रस्तावमा प्यानल निर्वाचन निषेध गरेको छ । धारा २० को निर्वाचन प्रणालीमा छ, ‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्यहरू महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुने । निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने । समावेशिताको व्यवस्था तोकेबमोजिम हुने । सबै तहका पार्टी कमिटी, आयोग वा परिषद्मा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने ।’ विधान संशोधन प्रस्ताव पास भएमा अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यमा एमालेका नेता–कार्यकर्तालाई समूहगत रूपमा होइन, व्यक्तिगत प्रतिस्पर्धा गर्नुपर्नेछ ।
जबज सिद्धान्त पुष्टि भइसक्यो, समाजवादका लागि पनि सान्दर्भिक : बादल
एमाले स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनताको बहुदलीय जनवाद नेपाली जनवादी क्रान्ति सफल बनाउने पथप्रदर्शक बनेर सिद्धान्तकै रूपमा पुष्टि भइसकेकाले अब पनि पार्टी त्यही बाटोबाट अगाडि बढ्ने बताए । पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अगाडि सारेको जबज नै माक्र्सवाद–लेनिनवादकै हाराहारीमा सिद्धान्तका रूपमा पुष्टि भइसकेकाले यसबाटै नेपाललाई समाजवादमा संक्रमण गराउन सकिने दाबीसमेत गरे ।
‘जबज नेपालको जनवादी क्रान्तिलाई पथप्रदर्शन गर्ने प्रणाली हो, क्रान्ति सफल हुनुले पनि मदन भण्डारीले विचार र कार्यक्रमका रूपमा अगाडि सारेको परिकल्पना सही साबित भइसकेकाले यो सिद्धान्तका रूपमा परिणत भइसक्यो,’ विधान महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका बादलले भने, ‘नेपालको सन्दर्भमा जबज सही साबित भएकाले नै हामीले यसलाई विकसित सिद्धान्तका रूपमा प्रस्ताव गरेका छौँ ।’
उनले जबजको कार्यक्रम अहिले पनि सान्दर्भिक रहेकाले समाजवादमा संक्रमणका लागि यसका कार्यक्रम कार्यान्वयन गर्न प्रस्ताव गरिएको पनि बताए । ‘जबजको कार्यक्रम अहिले पनि सान्दर्भिक छ, त्यसैले हामीले तात्कालिक कार्यक्रम कार्यान्वयनका लागि अगाडि सारेका छौँ, यसमा समाजवादमा संक्रमण गर्ने कार्यक्रम पनि छ, हामी त्यसलाई लागू गर्दै अगाडि बढ्छौँ,’ बादलले भने ।
पार्टीभित्र जबलाई हेर्ने दृष्टिमा केही केन्द्रीय सदस्यको भिन्न मत रहे पनि यसलाई नै सिद्धान्त मानेर जाने जबजकै कार्यक्रमअनुसारको कार्यदिशा बनाउने विषयमा कुनै फरक मत नरहेको उनले प्रस्ट्याए । संसद् विघटनलाई केही केन्द्रीय सदस्यले लोकतन्त्रविरोधी कदमका रूपमा विश्लेषण गर्नुपर्ने मत राखे पनि पार्टीले त्यसलाई आधिकारिक रूपमा सही कदमका रूपमा व्याख्या गरेको जानकारी दिँदै बादलले संगठनात्मक रूपमा विधान महाधिवेशनले पार्टीलाई अझ लोकतान्त्रिक बनाउने विश्वास पनि व्यक्त गरे ।
महाधिवेशनले एमालेलाई कमब्याकको आधार दिनेछ : योगेश भट्टराई, सचिव तथा प्रचार विभाग प्रमुख
एमालेको प्रथम विधान महाधिवेशनको कार्यसूचीमा के–के छन् ?
आज पार्टी अध्यक्ष केपी ओलीले भव्य समारोहबीच प्रथम विधान महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । विधान, प्रतिवेदन, संगठनात्मक प्रस्ताव प्रतिनिधिका बीचमा छलफलका लागि प्रस्तुत हुनेछ । अध्यक्षले राजनीतिक, महासचिवले संगठनात्मक र उपमहासचिवले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । समूह विभाजन कतिवटामा हुन्छ पछि थाहा हुन्छ, तर उनीहरूका बीचमा प्रतिवेदनमाथि छलफल अगाडि बढ्नेछ ।
विधान महाधिवेशनमार्फत एमालेले कस्तो खालको नयाँ राजनीतिक सन्देश दिन खोजिरहेको छ ?
विधान महाधिवेशन एमालेको जीवनको नयाँ अभ्यास हो । यो अभ्यास एमालेको इतिहासमा मात्रै होइन, अरू राजनीतिक दलको इतिहासमा समेत बिलकुल नयाँ अभ्यास हो । अलि बढी पार्टीको नीति, विधि, विधान निर्माणमा केन्द्रित रहेर हामी छलफल गर्नेछौँ । दोस्रो, अहिले पार्टीमा विभाजनको स्थिति उत्पन्न भएकाले यसलाई चिर्दै फेरि पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य रहेकाले देशभरिबाट प्रतिनिधिहरूको संख्या अलिक ठूलो हुन पुगेको छ । पार्टीलाई सुदृढ र एकताबद्ध गर्ने सन्देश दिने हो । आगामी निर्वाचनको प्रतिस्पर्धामा एमालेलाई पहिलो पार्टी बनाउन देशभरका कार्यकर्तालाई एकै ठाउँबाट निर्देशन दिने सन्देश दिन खोजेका छौँ । हाम्रो अबको कार्यभार आउने स्थानीय, प्रदेश र संघको चुनावमा बहुमत ल्याउने र त्यसका लागि देशभरिका अगुवा साथीहरूलाई अगाडि बढ्न आह्वान गर्ने काम हामी विधान महाधिवेशनबाट गर्नेछौँ ।
एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्त र कार्यदिशालाई यो विधान अधिवेशनमा कसरी प्रस्तुत गर्दै छ ? त्यसैलाई विकसित गर्ने तयारी हो या अरू केही योजना छ ?
अब हामी त्यो (जबज)भन्दा एक स्टेप अगाडि गइसकेका छौँ । जबजलाई समृद्ध र सुदृढ गर्दै समाजवादको दिशामा अगाडि बढ्ने भनिसकेका छौँ । अब हामी समाजवादको आधार निर्माण गर्ने काममा लाग्नेछौँ भनिसकेकाले जबजभन्दा एक स्टेप अगाडि बढेका छौँ ।
जबजभन्दा एक चरण अगाडि बढ्ने कुरा गर्नुभो, अहिलेको राजनीतिक प्रतिवेदनले तपाईंले भनेका कुरालाई समेटेको छ वा फरक मत पनि प्रस्तुत हुन्छ ?
अहिलेकै राजनीतिक प्रतिवेदनले सबै विषय समेटेको छ ।
विधान महाधिवेशनबाट के निष्कर्ष दिने तयारीमा हुनुहुन्छ ?
प्रतिवेदनहरू पास हुनेछन् । दोस्रो, विधान महाधिवेशन भनेको एमालेको पुनर्जागरण अभियान हो । यसले एमालेलाई पुनर्जागृत गर्नेछ । बीचमा नेकपाकालीन द्वन्द्व र अन्तर्विरोध थिए, त्यसलाई हल गर्दै पार्टीभित्र हार्दिक एकतासहित सुदृढ पार्टी निर्माण गर्दै आगामी चुनावमा एमालेलाई पहिलो, अब्बल मात्रै होइन कि बहुमतसहितको पार्टीका रूपमा पुनस्र्थापित गर्ने र राज्यका निकायमा संघ, प्रदेश र स्थानीय सरकारमा एमालेको पुनरागमन गर्ने आधार विधान महाधिवेशनले तय गर्नेछ । एमालेलाई सरकारमा कमब्याक गर्ने एउटा आधार तयार गर्नेछ ।