महामारीले थलिएको पर्यटन क्षेत्रलाई कसरी उकास्ने ?

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

विश्वव्यापी कोरोना महामारीका कारण विगत १८ महिनादेखि गरिएको लकडाउन र निषेधाज्ञाले पर्यटन क्षेत्रलाई थला पारेको छ। सन् २०२० को पर्यटन वर्ष घोषणाले पर्यटन व्यवसायी उत्साही बनेका थिए। सन् १९९८ र २०११ मा मनाइएको पर्यटन वर्ष र त्यसको आंशिक सफलताले गर्दा सन् २०२० भ्रमण वर्षका लागि पर्यटन व्यवसायीले आफ्ना व्यावसायिक प्रतिष्ठानको स्तरोन्नति र व्यापार विस्तारमा उल्लेख्य लगानी गरे पनि अहिले त्यतिवेला लागेको ऋण, ब्याज र किस्ताले पिरोलिरहेको छ।
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो। सरकारले यसका लागि करिब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो। कार्यक्रमले नेपालको दिगो विकास र लक्ष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गरिएको थियो, तर कोरोनाको कारण नै पर्यटन वर्ष मनाउन पाइएन। सन् १९९८ मा आयोजना गरिएको भ्रमण वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा चार लाख ६४ हजार भित्रिएका थिए। सन् २०११ मा १० लाख लक्ष्य राखिए पनि सात लाख ३६ हजार पर्यटक आएका थिए। 
सन् २०१८ लाई भ्रमण वर्ष मनाउने सरकारको लक्ष्य थियो, तर तयारी नपुगेको भन्दै स्थगित भयो। प्रारम्भिक तयारीसहित सन् २०२० लाई भ्रमण वर्ष र २०२० देखि २०३० लाई पर्यटक दशकको रूपमा मनाउने र सन् २०३० मा वार्षिक ५० लाख पर्यटक भित्र्याउने योजनासहित विश्वभरका पर्यटकलाई निम्तो दिइयो। ‘नेपाल लाइफटाइम एक्सपिरिएन्सेस’ नारासहितको भ्रमण वर्षले पर्यटकको १२ दिनको बसाइ लम्ब्याएर १५ दिन बनाउने र दैनिक खर्च ६५ डलरसम्म पु¥याउने लक्ष्य राखेको थियो। नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको २ प्रतिशत मात्र हिस्सा रहे पनि १० प्रतिशतभन्दा बढी बनाउने महत्वाकांक्षी योजना सरकारको थियो। तर, अभियानका रचयिता तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको ०७७ साल फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पाँच महिना मन्त्रीविहीन मन्त्रालय बन्न पुग्यो जसका कारण पनि पर्यटनसम्बन्धी कुनै योजना बन्न सकेनन्। 
भ्रमण वर्ष २०२० मा नेपालको पर्यटनले निकै ठूलो फड्को मार्ने र नेपालका पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा ‘ब्रान्डिङ’ हुने आकलनसहित उच्च तयारी गरिएकोसमेत थियो। सो कार्यक्रम सम्पन्न गर्न राज्य र निजी क्षेत्रको महत्वपूर्ण रूपमा सहकार्यसमेत भइरहेको थियो। पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्यटन बोर्डको नेतृत्व र कर्मचारीको सक्रियता उत्कृष्ट थियो, तर कोरोनाको समस्याका कारण ९ चैत ०७७ मा सरकारले भ्रमण वर्ष स्थगित भएको जनायो। नेपालले पर्यटन क्षेत्रमा गरेको लगानी र तयारी ‘बालुवामा पानी’ भयो। हाम्रा आशा र अपेक्षाहरू एकातिर, तर नतिजा र परिणाम अर्कोतिर हुन पुग्यो।

बाह्य पर्यटकका आकर्षण 
नेपालमा विशेषगरी तीन प्रकारका पर्यटक भ्रमणमा आउँछन्। देशाटन गर्ने, (व्यावसायिक प्रयोजनका लागि आउने), तीर्थाटन गर्ने (धार्मिक गतिविधिका लागि आउने) र पर्यटन गर्ने (मनोरञ्जनात्मक तथा ज्ञानको प्रयोजनका लागि आउने)। नेपालमा धेरै पर्यटक आउने देशको सूचीमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, थाइल्यान्ड, दक्षिण कोरिया पर्दछन्। साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्यमा पर्दछ।
मुख्यतः नेपालको प्राकृतिक सुन्दरता, विश्वको सर्वोच्च शिखर सगरमाथा, आकर्षक र सुन्दर हिमालहरू, पर्वतारोहण, साहसिक जलयात्रा, धार्मिक महत्वका स्थान विशेषतः पशुपति, लुम्बिनी, जनकपुर, मुक्तिनाथ, मानसरोवर यात्राका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गर्छन्। त्यति मात्र होइन, आउने–जाने श्रद्धालु, कला, संस्कृति, वेशभूषा, भौगोलिक–सांस्कृतिक रहनसहनमा भएको विविधता अवलोकन, धार्मिक तथा सामाजिक परिवेशलगायत यहाँका विभिन्न पर्यटकीय गन्तव्य र गतिविधिहरू नेपालमा बाह्य पर्यटक तान्ने आकर्षक र प्रमुख आधार हुन्। आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल पनि नेपालमै हुनु हाम्रा लागि गर्वको विषय हो। ६ सय ४६ प्रजातिका चरा नेपालमा पाइनु पनि चानचुने विषय होइन।
होटेल भन्नासाथ हामी सहज अनुमान गर्छौँ कि खाना–नास्ता खाने र वास बस्ने ठाउँ। केही वर्षअघि मात्र हेर्ने हो भने नेपालीको होटेलप्रतिको धारणा फरक थियो। मादक पदार्थ सेवन गर्ने ठाउँ, झैझगडा हुने ठाउँ, सीमित जातजाति पारिवारिक पेसा, होटेल, रेस्टुरेन्ट बाहुन–क्षेत्रीले गर्नुहुँदैन र त्यहाँ गएर खानुहुँदैन भन्ने धारणा थियो। तर, अहिले आममानिसको सोचमा धेरै नै परिवर्तन आएको छ, हिजो जसले त्यस्तो सोच राख्दथे आज उनीहरूको दोस्रो–तेस्रो पुस्ताले होटेलकै बारेमा शिक्षा लिँदै छन्। कतिले ठूला होटेलका महत्वपूर्ण विभाग सम्हालेका छन् भने धेरैले साना–ठूला होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा लगानीसमेत गरेका छन्, जसको उदाहरण म आफैँ पनि रहेको छु।
अहिले यो व्यवसाय मानिसको सुरक्षा, स्वास्थ्य, मनोरञ्जन, शिक्षा, हैसियत, परिवारको भविष्य, कला, संस्कृति र संस्कारसँग पनि जोडिएको छ। मानिसको बसाइ सुरक्षासँग जोडिएको हुन्छ। खानपान र स्वास्थ्यसँग जोडिएको छ। विभिन्न चाडपर्वमा हुने कार्यक्रम आपसी सम्बन्ध विकास र विस्तार मनोरञ्जनसँग सम्बन्धित हुन्छ। त्यसैगरी होटेल तथा रेस्टुरेन्टमा गरिने स्वागत–सत्कार, अभ्यास, सिकाइ, बुझाइ र शिक्षाबाट भविष्य तथा मानिसको रोजाइ, रमाउने पर्व–संस्कृति, व्यवहार र गतिविधिबाट धेरै कुराको पहिचान सहजै गर्न सकिन्छ।

आन्तरिक पर्यटनको विकास, परिस्थिति र कोरोनाकाल
कोरोनाले गर्दा सन् २०२० मा विश्वको बाह्य पर्यटनमा ८० प्रतिशतले गिरावट आएको तथ्यांक छ। आन्तरिक पर्यटनमा ७५ प्रतिशतले गिरावट आएको छ। विश्वमा सबैभन्दा बढी भ्रमण गरिने देश फ्रान्स, स्पेन, अमेरिका, चीन, इटाली हुन्। यी सबै देशको भ्रमणका आफ्नै विशेषता छन् र ती देशहरूका आफ्नै खालका योजना छन्। अफ्रिकाका देशहरू इजिप्ट, मोरक्को तथा एसियाका चीन, थाइल्यान्ड, जापान, साउदी अरेबिया, युएई आदि देशले आफ्नै मौलिक पर्यटन क्षेत्रको स्थापना र व्यवस्थितीकरण गरेका छन् र भोलिका दिनमा समेत उनीहरूले यो परिस्थितिबाट पर्यटन क्षेत्र र व्यवसायीलाई बचाइराख्न भरपूर प्रयास गरेको देखिन्छ। नेपालमा विशेषतः हवाई कम्पनी, ट्राभल व्यवसायी, ट्रेकिङ व्यवसायी, होटेल तथा रेस्टुरेन्ट व्यवसायी, यातायात व्यवसायी, मेला–महोत्सव, सांस्कृतिक तथा धार्मिक क्षेत्र, खेल कार्यक्रम आयोजक, पथप्रदर्शक आदि कोरोनाले मुख्य असर गरेका पर्यटनका क्षेत्र हुन्। पर्यटन क्षेत्रका खास मर्कामा परेका साना, मझौलादेखि ठूला व्यवसायीलाई राज्यले विशेष ख्याल गर्नुपर्ने यो अवस्थामा गाल जोगाउने सामान्य सांकेतिक क्रियाकलापबाहेक केही गरेको देखिँदैन। 

सञ्चारसाधनको बढ्दो विकासले विश्व नै ग्लोबल भिलेजको रूपमा स्थापित हुनु, सामाजिक सञ्जालको प्रयोगमा अत्यन्तै वृद्धि हुनु, मिडियामा आममानिसको पहुँचको विकास हुनु, नेपालीमा यात्रा गर्ने इच्छाशक्ति बढ्दै जानु, यातायात र सडक सञ्जाल, आन्तरिक हवाई उडानमा सहज पहुँच, वैदेशिक रोजगारी, रेमिट्यान्स र करिबकरिब ४० प्रतिशत नेपालीको अन्तर्राष्ट्रिय परिवार (करिब ४० प्रतिशत नेपालीको परिवारको सदस्य वा आफन्त कुनै न कुनै देशको नागरिक रहेको अवस्था), राजनीतिक स्थिरता र शान्ति आदि कारणले नेपालको आन्तरिक पर्यटन क्षेत्रको विकास भइरहेको छ। 
अब व्यवसायीले आफ्नो व्यवसायमा लगानी गर्दा आन्तरिक र बाह्य पर्यटकलाई उत्तिकै आकर्षित गर्ने खालका कार्यक्रम र योजनाहरू ल्याउनु जरुरी छ। जसका कारण सेवाग्राहीको मनलाई सजिलै प्रभाव पार्न सकियोस्, न्यूनतम शुल्कमा उच्च खालको सेवा दिन सकियोस्। नेपाली स्वाद, कला, संस्कृतिको व्यावसायिक तरिकाले प्रयोग गर्न सकियोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। विदेशी स्वादलाई महत्व दिएर खोलिएका रेस्टुरेन्ट अझै धराशायी हुन सक्नेछन्, तिनलाई विज्ञ तथा मास्टर सेफहरूको सुझाबमा नेपाली स्वादसँग फ्युजन गराउन सके उचित हुन्छ। सिंगल क्युजिनभन्दा मल्टी क्युजिन फुड सर्भ गर्ने होटेल तथा रेस्टुरेन्टलाई यो परिस्थितिमा केही सहज हुने देखिन्छ, सीमित मात्र हुने ग्राहक तथा सेवाग्राहीको पहिलो रोजाइ हुन सक्छ।
होटेल तथा रेस्टुरेन्टले केही समयका लागि भड्किला र महँगा विदेशी खाना र पेयपदार्थहरू समेटिएका मेनुको साइज घटाउँदा opareting cost अयकत मा केही राहत मिल्ने देखिन्छ भने तारे होटेलले समेत नेपाली खानाका परिकार र नेपाली कला, संस्कृति झल्किने रेस्टुरेन्ट अनिवार्य बनाउनुपर्ने पर्यटन मन्त्रालयको निर्णय दूरगामी र उचित भएको कुरा कोरोनाकालपछिको यो समयले थप पुष्टि गरेको छ। नेपाली खानाका परिकारहरूलाई प्रत्येक मानिसको जिब्रोमा ल्याउनु, प्राचीन परिकार तथा विभिन्न पर्वहरूमा खाइने परिकारलाई ब्रान्डिङ गर्नु, त्यसमा पाइने पोषणतत्वको विषयमा थप व्याख्या गर्नु र आममानिसलाई बुझाउन जरुरी देखिन्छ। 
अहिले होटेल व्यवसायी अन्य क्षेत्रको तुलनामा अत्यन्तै बढी प्रभावित छन्। ऋण, धन, वित्तीय संस्था र पैतृक सम्पतिसमेत धितो राखेर गरेको व्यवसायलाई कोरोनाले प्रभाव पारेको छ। साना तथा मझौला व्यवसायी घरभाडा, विभिन्न महसुल, हर्जनाले मर्कामा छन् भने ठूलालाई बैंक ब्याज, किस्ता र धितो लिलामी आदिले सताएको छ।

अन्य सबै क्षेत्र लगभग खुलिसक्दा पनि यो क्षेत्र अहिले पनि प्रशासनको निसानामा छ। केहीले क्वारेन्टिन, टेकअबे र होम डेलिभरी सेवा दिए पनि धेरै होटेल तथा रेस्टुरेन्टलाई निषेधाज्ञा नै छ। यो अवस्थामा सकेसम्म होटेल, रेस्टुरेन्ट, इभेन्ट सेन्टरका कर्मचारी र व्यवसायी, यातायात कर्मचारी, टुरिस्ट गाइड तथा पोर्टरहरूलाई समेत प्राथमिकतामा राखेर खोपको व्यवस्था गर्ने र आमनागरिकलाई समेत खोपको पहुँचमा पुर्याएर स्वास्थ्य प्रोटोकलका आधारमा व्यवसाय सञ्चालन गर्न दिएर यसलाई चलायमान गराउन जरुरी छ।
दक्ष कर्मचारी बेरोजगार भएको अवस्थामा होटेल, रेस्टुरेन्ट तथा पर्यटकीय क्षेत्रमा कार्यरत दक्ष जनशक्ति गाउँघरमा गएर सामान्य काम गरिरहेको छ। खेतका कान्ला खन्ने, मकैको झार गोड्ने गरेर दैनिकी गुजारिरहेको अवस्था छ। ठूलो लगानी र वर्षौँ लगाएर सिकेको सीप उनीहरूले भुलिरहेको अवस्था छ। कतिपय युवा कुलतमा फस्ने समस्या बढेको छ। त्यस्तै, कोरोनाको कारणले विदेशबाट रोजगारी गुमाएर फर्केको युवाशक्तिलाई भोलि कुनै गलत सोच राख्ने व्यक्ति वा समूहले प्रयोग गर्न खोज्यो भने फेरि देशमा शान्ति नखलबलिएला भन्न सकिँदैन। राज्यले यो विषयलाई सही तरिकाले व्यवस्थापन गर्न सकेन भने भोलिको दिनमा ठूलो चुनौती खडा हुन सक्छ। 
यो सवाल मजस्तै यो क्षेत्रका धेरै व्यवसायीलाई चिन्ताको विषय बनेको छ। यसबाट एकातिर राज्यलाई समेत ठूलो नोक्सानी भइरहनेछ भने अर्कातिर व्यवसायमा पनि लामो समयसम्म संकट देखा परिरहने संकेतहरू आइरहेका छन्।
(सचिव, होटेल व्यवसायी महासंघ नेपाल)
 

सुझावित समाचार