दोहोरो नागरिकतासम्बन्धी ७८ फाइल पर्सा प्रहरी कार्यालयमा

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय पर्साले अवैध तरिकाले दोहोरो नेपाली नागरिकता लिएका ७८ जनाको फाइल अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । विभिन्न समयमा झुटो विवरण पेस गरी दोहोरो नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरूविरुद्ध अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको हो । विभिन्न समयमा आएको उजुरीको आधारमा अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

पर्सामा दोहोर नागरिकतासम्बन्धी बढी उजुरी आउने गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनले भने, ‘नागरिकताबारे आएका उजुरी, गुनासो हेरेर कानुनविपरीत भएको पाइए कारबाहीको सिफारिस गर्ने हो । मन्त्रालयले महसुस गरेमा अन्य जिल्लामा पनि अध्ययन हुन सक्छ ।’ 

उनले विगतमा पटकपटक झुटो विवरण पेस गरेर नेपाली नागरिकता प्राप्त गरेकाहरूको नागरिकता पनि सरकारले खारेज गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय, पर्साको तथ्यांकअनुसार गत वर्षको ०७८ साउनदेखि हालसम्म तीन हजार आठ सय ५० जनाले वंशजका आधारमा नागरिकता पाइसकेका छन् । दुई हजार एक सय ४६ जनाले जन्मको आधारमा र वैवाहिक अंगीकृत नागरिकता सात सय १६ लिएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले कुनै अवैध नागरिकताबारे उजुरी परेमा मन्त्रालयले छानबिन गर्ने बताए । सुवेदीले भने, ‘कुन–कुन जिल्लामा के छ भनेर त भन्न सक्दिनँ । तर, गुनासो, उजुरी आएका कुरालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान र अध्ययन गर्दै आएका छौँ ।’

सुझावित समाचार