विश्वव्यापी संकटबीच मञ्चन गरिएको ‘अन्तरिक्ष पर्यटन’ नामको पुँजीवादी प्रहसन अर्थात् खर्बपतिको अन्तरिक्षयात्रालाई पुँजीवादको साम्राज्यवादी चरणको चरित्रमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा बुझ्नुपर्छ
२० जुलाईमा खर्बपति जेफ बेजोसले आफ्नो कम्पनी ब्ल्यु ओरिजिनको रकेटमार्फत अन्तरिक्ष यात्रा गरे । उनले पृथ्वीको सतहभन्दा १०६ किलोमिटर माथि पुगेर शून्य गुरुत्वको अनुभव गरे । उनीभन्दा ९ दिनअघि अर्थात् ११ जुलाईमा अर्का खर्बपति रिचार्ड ब्रेनसनले आफ्नो कम्पनी भर्जिन ग्यालेक्टिकको यानमार्फत पृथ्वीको सतहबाट ८८ किलोमिटरमाथि अन्तरिक्षमा पुगेर ‘अन्तरिक्ष पर्यटन’ र ‘नयाँ अन्तरिक्ष युग’को ढोका खोलेर फर्केको दाबी गरे । अर्का खर्बपति एलन मस्क मंगल ग्रहमा मानव बस्ती बसाउने मिसनमा छन् ।
आज मानव समाज आफ्नो सिंगो इतिहासकै गम्भीर मोडमा उभिएको छ । यत्रो भौतिक प्रगति र प्राकृतिक शक्तिमाथिको विजयपश्चात् पनि मानव जातिको ठूलो हिस्सा कठोर श्रम गर्दागर्दै पनि गाँस, वास, कपास, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित हुन बाध्य छ । त्यसैगरी वातावरणीय विनाशले मानव जातिका अगाडि अस्तित्वको संकट पैदा गरेको छ । र, यस्तो परिस्थितिमा केही खर्बपतिले ‘अन्तरिक्ष पर्यटन’ तथा मंगल ग्रहमा बस्ती बसाउने नाममा सुरु गरेको नयाँ प्रहसनमाथि सिंगो विश्वको प्रगतिशील जनमतले कडा आलोचना गरिरहेको छ । यी खर्बपतिहरू कसरी एक मिनेट उडानको करोडौँ डलर खर्च गर्दै शून्य गुरुत्वको अनुभव गरिरहेका छन् ? उनीहरूको हातमा थुप्रेको धनराशिको स्रोत के हो ? यो धनराशिको एउटा मात्रै स्रोत हो, मानवीय श्रम तथा प्रकृतिको लुट ।
श्रमशोषण : आज विश्वमा अर्बौं श्रमजीवी जनता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, वातावरणीय संकट इत्यादिबाट ग्रसित छन् । तर, आफू कहिल्यै श्रम नगर्ने केही मान्छे यिनै श्रमिकको श्रमशोषण तथा प्रकृतिको लुटमार्फत थुपारेको सम्पत्ति ‘शून्य गुरुत्व’को अनुभवका नाममा प्रत्येक मिनेट करोडौँ डलर फालिरहेका छन् । यसले पुँजीवादी समाजको कठोर चित्र प्रस्तुत गरेको छ । बेजोसको अमेजन कम्पनीको नाफा कोरोना महामारीबीच गत वर्षभन्दा दुई गुणाले वृद्धि भयो । यो कम्पनी मजदुरको श्रमशोषणका निम्ति कुख्यात छ । १२–१४ घन्टासम्म कठिन काममा लगाउने अमेजनलाई त्यहाँ काम गर्ने मजदुरले आधुनिक नर्कसँग तुलना गर्ने गरेका छन् । यस्तैगरी एलेन मस्कलगायतका खर्बपतिले विद्यमान श्रम कानुनसमेत लत्याउँदै क्रूर एवम् अमानवीय ढंगले मजदुरको चरम शोषण गर्दै आइरहेका छन् । उनीहरूले ट्रेड युनियन खोल्न पाउने मजदुर अधिकारमाथि समेत प्रतिबन्ध लगाएका छन् ।
प्रकृतिको लुट : मान्छे आफ्ना भौतिक आवश्यकता पूर्तिका निम्ति प्रकृतिसँग निश्चित सम्बन्धमा जोडिन्छ । पुँजीवादी समाजअन्तर्गत मान्छेको प्रकृतिसँगको यस्तो निश्चित सम्बन्ध मानव जातिको साझा हित अर्थात् प्रकृति र प्राकृतिक सम्पदाको योजनाबद्ध उपयोग एवम् संरक्षण होइन, नाफाकेन्द्रित हुने गर्छ । सामान्यतया पुँजीवाद विश्व रंगमञ्चमा आएको पछिल्लो ४०० वर्ष र विशेषतः पुँजीवादको नव–उदारवादी रूप लागू भएको पछिल्लो ४० वर्षमा प्राकृतिक स्रोत–साधनमाथिको चरम लुटले आज विश्व विभिन्न ढंगका वातावरणीय समस्याबाट ग्रसित छ । र, मानव जातिको अगाडि ठूलो तथा यसअघि कहिल्यै नआएको ठूलो अस्तित्वको संकट पैदा भएको छ ।
यसबाट मानव जातिलाई बचाउने र भविष्यप्रतिको आशा मजबुत बनाउने नाममा खर्बपतिहरू मंगल ग्रहमा बस्ती बसाउने कुरा गरिरहेका छन् । अहिले मानव समाजसँग भएको वैज्ञानिक एवम् प्राविधिक क्षमताले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा तीन–चारजना अन्तरिक्ष यात्री राख्न त निकै खर्चिलो र चुनौतीपूर्ण रहेको अवस्थामा पृथ्वीको प्राकृतिक स्रोत–साधन र वातावरण विनाश गरेर मंगल ग्रहमा बस्ती बसाल्ने योजना बनाउनु मूर्खतापूर्ण तथा दुनियाँ ठग्ने झुटबाहेक केही होइन । यसका पछाडि सौर्यमण्डलका अन्य ग्रह, उपग्रहमा रहेको खनिज उत्खनन गरी आफ्नो हातमा थप सम्पत्ति थुपार्ने खर्बपतिहरूको स्वार्थ लुकेकोमा शंका छैन ।
वैज्ञानिकको पछिल्लो अध्ययनले रकेटले हवाईजहाजभन्दा प्रतियात्री सय गुणा बढी कार्बनडाइअक्साइड उत्सर्जन गर्छ । अब खर्बपतिहरूको अन्तरिक्ष पर्यटन उद्योगले वातावरणीय विनाश र मानव जातिले भोगिरहेको अस्तित्व संकटलाई थप तीव्र बनाउनेछ ।
पुँजीको अन्तरिक्षकरण : युरोपबाट व्यापारवादका रूपमा सुरु भएको पुँजीवाद आफ्नो विकासको लामो बाटो पार गर्दै आजसम्म आइपुगेको छ । पुँजीवादको आजसम्मको यात्रालाई मूलतः प्रतिस्पर्धात्मक तथा साम्राज्यवादी गरी दुई चरणमा विभाजित गर्न सकिन्छ । माक्र्सवादका संस्थापक कार्ल माक्र्स एवम् फ्रेडरिक एंगेल्सले पुँजीवादी समाजको आधारभूत अन्तरविरोध, यसको अवश्यंभावी ध्वंस तथा नयाँ साम्यवादी समाज निर्माणको बाटोबारे पहिलोपटक वैज्ञानिक व्याख्या दिए । त्यो पुँजीवादको प्रतिस्पर्धात्मक चरणको समय थियोे ।
१९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको सुरुवातमा पुँजीवादको चरित्रमा गुणात्मक अन्तर आयो । यसलाई लेनिनले साम्राज्यवादका रूपमा सैद्धान्तीकरण गरे । यसको सय वर्षपश्चात् पुँजीवादको साम्राज्यवादीको चरणको मुख्य र मूल चरित्र उही हुँदाहुँदै पनि यसमा केही महत्वपूर्ण र विस्तृत अध्यन गर्नैपर्ने परिवर्तन आएका छन् ।
यस्ता परिवर्तनमा बहुराष्ट्रिय कम्पनी नयाँ भूमिका र स्वरूपमा अगाडि आउनु, दोस्रो विश्वयुद्धपश्चात् प्रत्यक्ष तथा ठूलो पैमानाको अन्तर–साम्राज्यवादी युद्ध नहुनु र उत्पादक शक्तिको विनाश हुन नपाउनु, पुँजीको अति केन्द्रीकरण हुनु, जम्मा पुँजीको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा लगाइनु इत्यादि हुन् ।
विश्वव्यापी संकटबीच मञ्चन गरिएको ‘अन्तरिक्ष पर्यटन’ नामको पुँजीवादी प्रहसन अर्थात् पुँजीको अन्तरिक्षकरणलाई पुँजीवादको साम्राज्यवादी चरणको चरित्रमा आएको महत्वपूर्ण परिवर्तनको अनिवार्य परिणामका रूपमा बुझ्नुपर्छ ।