दसैँको बुकिङ ११ असोजदेखि खुल्ने, राष्ट्रिय राजमार्ग भने १२ ठाउँमा अवरुद्ध

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

सरकारले ११ असोजदेखि दसैँ तथा चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । बिहीबार गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यो वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले कोरोना महामारीको वेला भएकाले कोचाकोच नगरी र स्वास्थ्य मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । 

सबै सरोकारवालाले अग्रिम टिकट खोल्ने निर्णय गरे पनि यो वर्ष मनसुन ढिलोसम्म सक्रिय हुँदा राष्ट्रिय राजमार्गसमेत सुचारु हुन सकेका छैनन् । यो वर्ष ३१ जेठदेखि ७ असोजसम्म देशभरका दुई सय २४ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । त्यसमध्ये अझै १२ ठाउँमा अवरुद्ध नै छन् । त्यस्तै, एक सय २४ ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । यस्तो अवस्थामा अग्रिम टिकट खोलेर मात्र गन्तव्यमा पुग्ने सुनिश्चितता नहुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए । 

त्यति मात्र होइन, प्रदेश र स्थानीय पालिकाअन्तर्गतका सडकको अवस्था झन् दयनीय छ । कति ठाउँमा अवरुद्ध भएको छ भन्ने एकीकृत तथ्यांकसमेत सरकारसँग छैन । यसले दसैँ–तिहार र छठलगायत चाड मनाउन घर जानेहरू समयमा गन्तव्यमा पुग्नेमा शंका छ । ‘पछिल्लो एक हप्ताको प्रवृत्ति हेर्ने हो भने एक दिन लाग्ने बाटोमा गएका लामो दूरीका सवारीसाधन दुई दिन लगाएर फर्किरहेका छन्,’ उनले भने । यस्तो अवस्थामा सडक मर्मत तत्काल थाल्नुपर्ने यातायात व्यवसायीहरूको भनाइ छ ।

शुक्रबार सडक मर्मतबारे प्रधानमन्त्री कार्यालयमा बैठक
सडक मर्मत तथा खाल्डा पुर्ने कामलाई तीव्रता दिनका लागि यातायात व्यवसायीले माग गरेपछि शुक्रबार प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने तयारी छ । ‘सडक विभाग र अन्य निकायको पनि सहभागितामा बैठक बस्ने र चाडपर्व लक्षित सडक मर्मतलाई दिने हाम्रो माग छ,’ अध्यक्ष योगेन्द्र कर्माचार्यले भने । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने यो वर्ष मनसुन अवधि लामो हुँदा तीव्रताका साथ मर्मत थाल्न नसकिएको बताए । केही ठाउँमा तत्काल मर्मत गर्न सकिने भए पनि केही ठाउँमा भने समय लाग्ने विभागका अधिकारीहरूको भनाइ छ । 

सुझावित समाचार