९/११ को घटनाको अध्यापनमा सुधार गरौँ

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

११ सेप्टेम्बर २००१ (९/११) को घटनालाई सम्झिन ‘कहिल्यै नबिर्सिनु’ भन्ने शब्दावलीको निकै प्रयोग हुने गरेको छ । तर, साना बालबालिकाका लागि यो शब्दावलीको के अर्थ ? उनीहरूलाई के नबिर्सनू भनिएको हो ? पाठ्यक्रम एवं सिकाइ विषयमा अनुसन्धाता भएका नाताले हामीले सन् २००२ देखि ९/११ र आतंकवादविरुद्धको वैश्विक युद्ध कसरी अमेरिकाका माध्यमिक तहका विद्यार्थीलाई पढाइन्छ भनेर अध्ययन गरेका थियौँ ।

हामीले मोटामोटी रूपमा ९/११ लाई एक त्रासदीपूर्ण घटना, अग्निनियन्त्रक एवं अन्य उद्धारकको वीरता र वैश्विक रूपमा आतंकवाद निस्तेज गर्ने अमेरिकी कदमलाई विश्व जगत्ले स्वागत गरेको जस्ता एकै किसिमका भाष्यहरू पायौँ । यी भाष्य औपचारिक पाठ्यक्रम, शिक्षक प्रतिवेदन, डकुमेन्ट्री फिल्मलगायत शैक्षिक सामग्रीमा भेट्यौँ । तत्कालीन उद्धारकर्ताको वीरता र पीडितको सम्मानबारे नयाँ पुस्ताले थाहा पाउन आवश्यक छ । यद्यपि, नायकत्व एवं अमानवीयता झल्काउने राष्ट्रवाद विद्यार्थीलाई पढाउनु जोखिमयुक्त छ भन्ने हाम्रो विश्वास छ ।    

   सन् २०१८ मा एक हजार ४७ अमेरिकी माध्यमिक तहका शिक्षकमाझ सर्वेक्षण गर्दा हामीले अधिकांश इतिहासका शिक्षकले ९/११ को घटनाबारे घटनाकै वर्षगाँठमा पढाउने गरेको पायौँ । सो दिन अधिकांश शिक्षकले आक्रमण र पीडितलाई सम्झेर विद्यार्थीलाई पढाउँछन् । ९/११ को घटना हुँदा नजन्मिएका विद्यार्थीलाई शिक्षकले आफ्नो अनुभव र अन्य श्रव्यदृश्य सामग्रीबाट घटनाको अनुभव साझा गर्छन् । शिक्षकहरू ९÷११ बारे पढाउनुलाई महत्वसाथ लिन्छन् र ‘कहिल्यै नबिर्सिनू’ शब्दावलीलाई सम्मान गर्ने उद्देश्यका रूपमा हेर्छन् । यद्यपि शिक्षकहरू कुनै कक्षाको पाठ्यक्रममा ९÷११ को घटना नहुँदा वा सो घटना वर्षको अन्त्यतिर पढाउनु चुनौतीपूर्ण हुने बताउँछन् । यसको अर्थ हो, ९/११ बारे घटनाको वर्षगाँठ वा वर्षको एक दिन मात्र पढाइन्छ ।  

विद्यालयमा ९/११ को घटनाबारे पढाइरहँदा मध्यपूर्व एवं अफगानिस्तानमा अमेरिकाको ऐतिहासिक भूमिकाबारेको गम्भीर जानकारीलाई उपेक्षा गरिन्छ । सन् १९८० को दशकताका सोभियतविरुद्ध लड्न मुजाहिद्दिन लडाकुलाई सशस्त्र बनाउनु वा इरानविरुद्ध लड्न इराकी राष्ट्रपति सद्दाम हुसेनलाई अमेरिकी सहयोग रहेको जस्ता घटनालाई सिकाइबाट उपेक्षा गरिन्छ ।

अझ गहिरिएर जाने हो भने सन् १९९३ मा विश्व व्यापार संगठनमा गरिएको बमबारीको जिम्मेवारी लिएको अल–कायदा, जसले पछि ९/११ को घटना गरायो, त्यो अल–कायदा जन्मिनुमा अमेरिकी काम–कारबाही पनि जिम्मेवार रहेको विषयबारे पनि विद्यार्थीलाई पढाउन सकिन्थ्यो । एकदमै सरलीकृत इतिहास अध्यापनले ९/११ पछि अमेरिकी र साझेदारहरूले २००३ मा इराकमाथि गरेको आक्रमणजस्ता विवादास्पद निर्णयलाई बुझ्न सघाउँदैन । यसअतिरिक्त यस्तो अध्यापनले विद्यार्थीलाई मुसलमान एक सम्भावित आतंककारी हो भन्ने राजनीतिक भाष्य मात्रै सिकाउँदैन, ९/११ को आक्रमणपछि मुसलमान अमेरिकीमाथि भएको क्षेत्रद्वेषी (जेनोफोबिक) आक्रमणबारे पनि अनभिज्ञ बनाइदिन्छ । 

तथापि केही शिक्षक सो घटनाका जटिलताबारे विद्यार्थीलाई सूचित गराउँछन् । माध्यमिक तहका शिक्षकका अनुसार विश्व धर्म विषयमा इस्लाम आउँदा र विश्व इतिहास पढाउँदा मध्यपूर्व आउँदा ९/११ को घटना छुट्दैनन् । पाठ्यपुस्तकमा अमेरिकी इतिहास कालक्रमका हिसाबले राखिन्छ, यद्यपि औपचारिक पाठ्यक्रममा अमेरिकी राज्यहरूले यी विषयलाई सजिलै समावेश गराएको पाइँदैन । अपवादबाहेक थुप्रै शिक्षक अमेरिकी इतिहास १९८० मै टुंग्याउँछन् वा बाँकी समयको इतिहासलाई झारा टारेर पढाउँछन् । केही युवा शिक्षकले ९/११ को घटनालाई वर्षगाँठ वा विध्वंसकारी घटनाको दायराबाहिर लगेर पढाउने गरेको बताएका छन् । 

उनीहरू किशोर विद्यार्थीहरू ९/११ पछिका अमेरिकी घटना–परिघटना एवं नीतिले दैनिक जीवनमा अप्रत्यक्ष रूपमा परेको असरबारे जानकार रहून् भन्ने चाहन्छन् । यिनै शिक्षक ९/११ को घटनाको प्रत्यक्ष अनुभवभन्दा पनि त्यसपछिका आतंकवादका खतरा रोक्ने नीतिहरूले दैनिक जीवनमा असर पारेको पाउँछन् । यी शिक्षक अफगानिस्तानबाट हालको अमेरिकी सेना फिर्तीलाई ९/११ र अफगानिस्तानमा सन् १९८० को दशकमा अमेरिकी भूमिकाबारे विद्यार्थीले जानकारी पाऊन् भन्ने चाहन्छन् । अथवा अमेरिकीमाथि निगरानी बढाउने अमेरिकी पेट्रोइट एक्ट २००१ बारे पनि विद्यार्थीलाई जानकारी दिनुपर्छ भन्ने मान्यता राख्छन् ।     

यदि विद्यार्थीलाई इतिहास पढाउनुको प्रयोजन पहिलेको घटनालाई वर्तमान एवं भविष्यका निर्णयबारे जानकारी गराउनु हो भने शिक्षकले ९/११ र आतंकविरुद्धको युद्धको घटना मात्र नभई यससँग जोडिएका सबै विषयबारे विद्यार्थीलाई बुझाउनुपर्छ । अर्थात् सो दिनको वास्तविकताको सानो घेराबाहिर निस्केर विद्यार्थीलाई त्यसको पृष्ठभूमि र त्यसले ल्याएका तरंगमाथि पनि छलफल गराउनुपर्छ । विद्यार्थीले ओसामा बिन लादेनको छविमाथि वा अमेरिकाले अफगानिस्तानमै आतंककारी लुकेर बसेका छन् भन्ने जानकारीमाथि जिज्ञासा राख्न सकोस् । 

विद्यार्थीलाई यसरी पढाइयोस्, जहाँ विद्यार्थी ९/११ हुनु एक महिनाअगाडि ६ अगस्ट २००१ मा राष्ट्रपति कार्यालयले लादेनले हमला गर्न सक्छ वा सन् १९८० को अन्त्यतिर सिआइएले मुजाहिद्दीनको साथ छोड्नु भनेको खतरा निम्त्याउनु हो भन्ने जानकारी दिएको सम्बन्धमा खोजबिन गरोस् । अझै पनि ९/११ बारे अद्यावधिक गरिएको शिक्षा सामग्रीमा युद्ध लडेका सेवानिवृत्त सेना, अफगान एवं इराकी अनुवादक तथा दोभाषे र ठूलो संख्याका विशेषतः मुसलमान शरणार्थीको दृष्टिकोण समावेश छैन । ‘कहिल्यै नबिर्सिनू’लाई साँचो अर्थमा सार्थकता दिने हो भने बेवास्ता गरिएका या मेटाइएकाको पनि दृष्टिकोणलाई पढाइनुपर्छ ।  
द कन्भर्सेसनबाट 

सुझावित समाचार