तिज : नारी विद्रोहको ‘हिन्दू–कथा’

कुनै वेला ‘हिन्दू नारी’ समूहमा मात्रै सीमित तिज पर्वका सिमानाहरू अहिले व्यापक भइसकेका छन्

बिहिबार, २४ भदौ, २०७८
डिजिटल संस्करण

सारमा बुझ्ने हो भने– ‘हिन्दू–कथा’को एउटा सानो अणु मात्रै हो तिज । पौराणिक युगको ‘हिमालय प्लट’मा बुनिएको यस कथाका पात्र हुन्– पार्वती र शिव ।  एउटा पौराणिक प्रेम–कथा बिस्तारै हिन्दू नारीको एक ‘महान् पर्व’का रूपमा स्थापित भयो । र, यसलाई नेपाली हिन्दू नारीसँग गाँसेर मनाउन थालियो । पार्वतीले आफ्नो प्रेम (शिव) लाई पाएको त्यो ‘पवित्र’ दिन हरितालिका अर्थात् तिज भयो । कुनै वेला ‘हिन्दू नारी’ समूहमा मात्रै सीमित रहेको यो पर्वका सिमानाहरू अहिले व्यापक भइसकेका छन् । यसका दायरा र परिभाषा फराकिला भएका छन् । तिज मनाउने तरिका फरक भएका छन् । यसरी आजसम्म आइपुग्दा तिज सम्पूर्ण नारीको एउटा साझा पर्व भइसकेको छ । र, यसमा पुरुषहरू पनि कुनै न कुनै पाटोमा साझेदार हुन थालेका छन् । यो एउटा महत्वपूर्ण परिवर्तन हो । 

मूलतः तिज हाम्रो धर्म, संस्कृति र परम्परा अनि सामाजिक संस्कारको एउटा गहकिलो ‘प्याकेज’ हो । जसलाई हामीले स्वास्थ्य र विज्ञानका आधारमा समेत व्याख्या गर्न सक्छौँ । महिला अधिकार अनि स्वतन्त्रतासँग गाँसेर हेर्न सक्छौँ । नारीको प्रेमशक्ति अनि उसको त्याग, समर्पणको क्षमता अनि साहससँग गाँस्न सक्छौँ । यद्यपि हरेक पर्वलाई परिभाषित गर्ने र त्यसलाई अपनाउने आआफ्नै तरिका होलान्, त्यो पनि व्यक्तिगत स्वतन्त्रताको एउटा पाटो हो । 

नेपाली संस्कृति आफैँमा एक प्राचीन र समृद्ध छ । संस्कृतिका विविधता आआफ्नै मूल सनातन धर्ममा आधारित छन् । मानवीय मूल्य र मान्यताले भरिएको हाम्रा सांस्कृतिक परम्परा धर्मकै एक उपज हुन् । तथापि हाम्रो समाज धार्मिक रूपमा पनि सहिष्णु छ । हरेक संस्कृति अनि पर्वहरूले केही न केही सन्देश बोकेकै हुन्छन् । ती सन्देशलाई हामीले आफ्नो व्यक्तिगत जीवनमा मात्रै नभई आमसामाजिक रूपान्तरणका लागि त्यसलाई प्रयोग गर्नुपर्छ । यसबाट संस्कृतिको संरक्षण पनि हुन्छ । ती सांस्कृतिक र धार्मिक आस्थाको सम्मान पनि हुन्छ । अनि समाजका हरेक वर्ग र समुदायले हरेकका धर्म, संस्कृति र आस्थालाई सम्मान गर्न सक्छ । यसरी पर्वहरूलाई सामाजिक सद्भाव र प्रेरणाको ‘ग्रन्थ’ बनाउन सकिन्छ । हरेक पर्वलाई मान्नुपर्ने धेरै कारण र आधार हुन्छन् । खासगरी पर्वहरू मान्नुका पछाडि तीन कारण देखिन्छन्– सामाजिक, आर्थिक र धार्मिक । 

हरेक व्यक्ति सिंगो समाजको एउटा अंश हो । समाज निर्माणमा हरेक व्यक्तिको उत्तिकै भूमिका हुन्छ । दायित्व र अधिकार हुन्छन् । त्यसैले पर्व मनाउने तरिका, त्यसको प्रभाव र महत्व अन्ततः समाजमै गएर गाँसिन्छ । सामाजिक प्राणी भएका नाताले हरेक व्यक्तिले धारण गर्ने आस्था र कर्मको प्रभाव समाजमै पर्छ । त्यसैले एउटा पर्वलाई अपनाउने उसको तरिका सामाजिक नै हुन्छ । हरेक पर्वले सामाजिक सद्भाव बढाउँछ । सामाजिक एकता झल्काउँछ र त्यसको महत्व बुझाउँछ । हुनेखानेहरूले नहुनेहरूलाई पर्वका नाममा गर्ने सहयोग र देखाउने सद्भाव सामाजिक भावनाको एउटा महत्वपूर्ण पाटो हो । यसले हरेक पर्वको सामाजिक महत्व झल्काउँछ । हरेक महिलाले एकअर्काप्रति झल्काउने प्रेम, सद्भाव र सम्मान तिजको एउटा सामाजिक गुण हो । 

तिजको धार्मिक पाटोमा एउटी नारीको पवित्र प्रेम र समर्पण जोडिएको छ । र, एउटी नारीको ‘विद्रोह’को गाथा पनि यसले बोकेको छ ।

अनि हरेक पर्वसँग गाँसिने एउटा पाटो हो– आर्थिक । यससँग हाम्रो खानपिन, रहनसहन र खर्च वा देखासिकी जोडिन्छ । हामीले बुझ्नैपर्ने र अपनाउनैपर्ने एउटा मान्यता के हो भने ‘घाँटी हेरेरै हाड निल्नु ।’ अर्थात् कुनै पनि पर्व मनाउनका लागि हामीले देखासिकी गर्नुपर्ने आवश्यकता छैन । आफूले सकेको खाने र लगाउने हो । सकेको कर्म गर्ने हो । हामीले गर्ने श्रम र त्यसको आयको एउटा अंश अन्ततः पर्व मनाउनैका लागि बचत गरेका हुन्छौँ । पर्वमा हुने किनमेलले हाम्रो बजारमा आर्थिक क्रियाकलाप बढाइदिन्छन् । पुँजी परिचालन हुन्छ । यो पर्वको आर्थिक पाटो हो । 

आधुनिकतासँगै हाम्रो समाजमा तिज एउटा भड्किलो पर्व हो भनेर आलोचना पनि नभएका होइनन् । बढ्दै गएको सहरी संस्कारले तिजलाई भड्किलो बनाइरहेको यथार्थलाई नकार्न पनि सकिँदैन । तर, हरेक सचेत महिलाले बुझ्नुपर्ने के हो भने हामीले यसलाई ‘खान–लाउन’का लागि मात्रै होइन, सामाजिक रूपान्तरणको एउटा अभियानका रूपमा पनि मनाउनुपर्छ । खानका लागि तिज नै आउनुपर्छ वा मनाउनुपर्छ भन्ने मान्यतालाई अब बदल्नैपर्छ ।

राम्रो लुगा वा गहना लगाउनका लागि तिज नै आउनुपर्छ भन्ने चेतनाबाट अब हामी माथि उठ्नैपर्छ । यसो भन्दैमा हरेक नेपाली नारीसित आफूलाई मन लागेको वेला खान पाउने र मन लागेको कपडा वा गहना लगाउन सक्ने क्षमता छ भन्ने होइन । तर, हामीले हाम्रो सामाजिक र आर्थिक चेतनालाई एउटा साँघुरो मानसिकताले हेर्नु हुँदैन । मिठो खान अनि राम्रो लगाउन पर्व नै कुर्नुपर्ने बाध्यता हाम्रा दिदी–बहिनीको नभएको होइन । तर, युगअनुसार शिक्षित र चेतनशील नारीले अब त्यो सोच परिवर्तन गर्न जरुरी छ । त्यसैले हाम्रा पर्वहरू अझ खासगरी तिज परिवर्तनको संवाहक बन्न जरुरी छ । किनकि आजको युग हरेक नारीको नेतृत्वको युग हो । हरेक महिलाको निर्णायक युग हो । हामीले नै बनाएका संस्कार र सांस्कृतिक मान्यता हामीले नै फेर्नुपर्छ । 

विष, भाङ–धतुरो खाने र आफूलाई दिगम्बर ‘भोलेनाथ’ सम्झिने एउटा ‘बहुलठ्ठी’ भगवान् शिवलाई मन पराएकी पार्वतीको त्यो प्रेम प्राप्तिको दिन हो तिज । पिता हिमालय पर्वतले भगवान् विष्णुसँग तय गरेको विवाहलाई लत्याएर उनै ‘शिव’ पाउन पार्वतीले गरेको त्याग, तपस्या र समर्पणको एउटा विजयोत्सव हो तिज । तिजको धार्मिक पाटोमा एउटी नारीको पवित्र प्रेम गाँसिएको छ । एउटी नारीको समर्पण जोडिएको छ ।

अनि एउटी नारीको ‘विद्रोह’को गाथा पनि यसले बोकेको छ । समग्रमा तिजको यो धार्मिक र पौराणिक पानामा एउटी नारीले आफ्नो जीवनको स्वतन्त्रताका लागि गरेको विद्रोह र संघर्षको लामो कथा लेखिएको छ । हरेक भगवान्लाई हेर्ने हरेकका नजर आआफ्नै होलान् । शिवलाई बुझ्ने हरेकका आआफ्नै तरिका होलान् । पार्वतीलाई हेर्ने हरेकसँग अनेकन् ‘नजरिया’ होलान् । तर ‘शिव’ पाउने अभिलाषाले आफ्नो जीवनलाई एउटा कठोर बाटोमा हिँडाएकी ‘पार्वती’का ती पाइलाहरू आममहिलाका लागि विद्रोहको एउटा विस्फोट थियो । 

आज तिजमा लोग्नेको पाउको जल पिउने कि नपिउने ? उसका लागि व्रत बस्ने कि नबस्ने वा लिंगको पूजा किन गर्ने ? जस्ता बहस चर्किएका छन् । बढ्दो सामाजिक चेतका यी नैसर्गिक बहस हुन् । तर, ती त्यो वेलाका विधि थिए । त्यो समयका मान्यता थिए, अझ हुन सक्छ बाध्यता थिए । आज समय बदलिएको छ । धर्मलाई ‘फेसन’का रूपमा अँगाल्दै गएको हाम्रो समाजका लागि यी र यस्ता बहस अब थोत्रा भइसके । हामीले हाम्रो कर्मलाई पूजा गरौँ । त्यसको सम्मान गरौँ । त्यसैले तिजलाई एउटा परिवर्तनको अभियानका रूपमा मनाऔँ । 

तिजको एउटा युग थियो– जहाँ यो पर्व महिलाका लागि ‘माइती’(जन्मघर) अनि घर (विवाह–घर) को एउटा साँघुरो घेरामा मात्र सीमित थियो । वर्ष दिनमा माइतीको आँगन टेक्नैपर्ने, ‘घर’बाट मुक्त भएर आफूलाई उन्मुक्त नचाउनैपर्ने, विरहका गीत गाउनैपर्ने विरहको त्यो युग अब फेरिइसकेको छ । माइती अनि घरका पर्खालहरू अब सीमित छैनन् । तिज अब उदात्त भइसकेको छ । हाम्रा हरेक पर्वहरू उदात्त हुँदै छन् । हाम्रो सामाजिक सोच, संस्कार र चेतनाको स्तर उदात्त भइरहेको छ । परिवर्तन यसैगरी हुने हो । र, हाम्रा संस्कृति र परम्परालाई यसैगरी युगानुकूल परिष्कृत गर्दै लैजानुपर्छ ।

सुझावित समाचार