ओलीले निर्वाचन आयोगविरुद्ध दिएको निवेदनमाथि अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुधबार, २३ भदौ, २०७८
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको तीनवटै रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तीनवटै रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ र १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ । 

दायर भएका दुई रिटमाथि अन्तरिम आदेश दिने वा नदिने विषयको निक्र्योल गर्न दुवै पक्षलाई छलफलका लागि डाकिएको छ । नेकपा (एकीकृत समाजवादी) दर्ताको विषयमा र लुम्बिनी प्रदेश सभाका दुई सदस्यमाथि कारबाहीका विषयमा तत्काल अन्तरिम आदेश दिन नसकिने सर्वोच्चको आदेशमा छ ।

‘...निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा अन्तरिम आदेश जारी हुने–नहुने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिएकाले मिति २०७८/०५/२८ गते अन्तरिम आदेश सम्बन्धमा छलफलको पेसी तोकी सो कुराको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्नू’ आदेशमा छ । यी दुईवटै रिट सँगसँगै राखेर पेस गर्न इजलासबाट आदेश भएको छ । 

यसैगरी माधव नेपालसहित १४ जनालाई पदमुक्त नगरिएको विषयमा परेको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिन नसकिने प्रस्ट पारेको छ । ‘...निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा विचार गर्दा प्रस्तुत रिट निवेदनमा अन्तरिम अदेश जारी गर्नुपर्नेसम्मको आधार र कारण नदेखिएकाले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन । विपक्षी निर्वाचन आयोगबाट मिति २०७८/०५/०९ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दल दर्तासँग सम्बन्धित रहेको सम्पूर्ण निर्णय कागजातहरू झिकाई विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएको मितिले तीन दिनभित्र पेसीमा चढाई नियमानुसार पेस गर्नू’ उक्त आदेशमा छ । 

प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा नियुक्त भएपछि ओली अध्यक्ष रहेको एमाले फुटेर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । एमालेबाट प्रतिनिधिसभा सदस्य रहेका ३० जना र केन्द्रीय सदस्यहरूमध्ये ५५ जनाले नयाँ पार्टीको पक्षमा सनाखत गरिदिएपछि निर्वाचन आयोगले ९ भदौमा नेपालको अध्यक्षतामा उक्त दल दर्ता गरेको थियो । तर, उक्त पार्टी कानुनविपरीत गठन भएको भनी ओलीले १७ भदौमा सर्वोच्चमा रिट दायर गरेका छन् । जसमाथि मंगलबार यस्तो आदेश आएको हो । 

यस्ता थिए रिटका माग
निर्वाचन आयोगमा माधव नेपाल अध्यक्ष भएको दल दर्ता गर्ने र सनाखतको प्रक्रिया गलत रहेको ओलीको दाबी छ । नयाँ दल दर्ताका लागि सहमत भई दस्तखत गर्नेहरूको मात्र सनाखत गर्नुपर्नेमा दिल्लीमा उपचाररत रहेका झलनाथ खनालको पनि सनाखत गरिएकाले प्रक्रिया गलत रहेको उनको रिटमा दाबी गरिएको छ । 

रिटमा १४ जना सांसदहरूले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई २७ वैशाखमा विश्वासको मत दिन जारी ह्विप उल्लंघन गरेकोमा कारबाही गरिएको उल्लेख छ । ती सांसदमाथि गरिएको कारबाहीबारे सभामुखलाई जानकारी गराउँदा पनि कारबाहीको प्रक्रिया अघि नबढाइएको र निर्वाचन आयोगले सांसदहरूको जानकारी माग्दा कारबाही गरिएका माधव नेपालसहितका सांसदहरूको नाम पठाएको रिटमा छ । 

लुम्बिनी प्रदेश सभा सचिवालयका साथै प्रदेशका सभामुख पूर्णबहादुर घर्तीसहितलाई विपक्षी बनाई अर्को रिट पनि दर्ता भएको छ । साथै रिटमा ‘नेकपा एमालेबाट निष्कासित भई हाल अनधिकृत रूपमा लुम्बिनी प्रदेश सभा सदस्य पदमा’ रहेको दाबीसहित प्रदेश सांसदहरू विमला खत्री र अजय शाहीलाई पनि विपक्षी बनाइएको छ ।
 

सुझावित समाचार