म्यानमारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ। विराथु म्यानमारमा मुस्लिमविरोधी र सैन्यसमर्थित विचारका लागि परिचित छन्।
यसअघि निर्वाचित सरकारले उनीविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरेको थियो। रोहिंग्या समुदायविरोधी अभिव्यक्तिका कारण उनलाई ‘बुद्धिष्ट बिन लादेन’ भन्ने गरिएको छ।
पछिल्ला केही वर्षहरूमा उनले नेतृ आङ सान सुकी र सरकारमा रहेको नेसनल लिग फर डेमोक्रेसी पार्टीको आलोचना गर्दै आएका थिए।
सन् २०१९ मा निर्वाचित सरकारप्रति घृणा अवहेलना फैलाएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो। केही समय फरार रहेका उनले नोभेम्बरमा आत्मसमर्पण गरेका थिए। तर, यो वर्षको फेब्रुअरीमा सेनाले ‘कु’ गरेपछि विराथुविरुद्धको मुद्दा फिर्ता लिएको छ।
सैन्य सरकारले मुद्दा फिर्ता लिनुको कुनै कारण खुलाएको छैन। उनको सैन्य अस्पतालमा उपचार भइरहेको भनिए पनि थप स्पष्ट पारिएको छैन।