बाल्कन क्षेत्रमा अभूतपूर्व चुनावी उलटफेर गर्दै विद्यार्थीको नेतृत्वमा रहेको एक गठबन्धन (स्टुडेन्ट लिस्ट) ले सर्बियामा अति–दक्षिणपन्थीको दशकौँ पुरानो पकड तोडिदियो । तर, प्रधानमन्त्री को हुने भन्ने अन्योल भने अझै कायमै छ । गत साता सम्पन्न आकस्मिक निर्वाचनमा अति–दक्षिणपन्थी नेता अलेक्जेन्डर भुचिच विद्यार्थी नेतृत्वको गठबन्धनसँग पराजित भए । यस घटनालाई बेलग्रेडमा एउटा नयाँ राजनीतिक युगको सुरुवातका रूपमा हेरिएको छ ।
यो चुनावी नतिजा भ्रष्टाचार र सरकारी लापरबाहीविरुद्ध भएका असाधारण विरोध प्रदर्शनहरूको शृंखलापछि आएको हो । यी घटनाक्रम एक निर्णायक मोडमा पुगेका कारण विगत ३० वर्षयताकै सबैभन्दा बढी मतदाता मतदानमा सहभागी भए । सन् २०१४ देखि २०१७ सम्म तीन वर्ष प्रधानमन्त्री र त्यसपछिका नौ वर्ष राष्ट्रपति रहेका भुचिचले एक दशकभन्दा लामो राजनीतिक प्रभुत्वपछि अन्ततः हार स्वीकार गरे । विद्यार्थी नेतृत्वको गठबन्धनले देशको २५० सिट भएको संसद्मा निर्णायक बहुमत हासिल गर्यो ।
राष्ट्रिय आन्दोलनको रूप लिएको त्यो घटना
नोभेम्बर २०२४ मा नोभी सादको एउटा रेल स्टेसनको छत खस्दा १६ जनाको मृत्यु भएपछि सरकारको लापरबाही र भ्रष्टाचारविरुद्ध विद्यार्थीहरूको विरोध प्रदर्शन सुरु भएको थियो । सो त्रासदीपछि विद्यार्थीले सुरु गरेको साप्ताहिक प्रदर्शनले विश्वविद्यालयपरिसर र सहरका सडकमा न्यायको माग गर्ने आन्दोलनको रूप लियो र छिट्टै यो समुदायका अन्य तहसम्म फैलियो ।
किसान, कलाकार, न्यायाधीश र अन्य समूह पनि यस विरोध प्रदर्शनमा सामेल भए, जसले विद्यार्थीको अभियानलाई सरकारविरुद्धको एक व्यापक चुनौतीमा परिणत गरिदियो । सन् २०२५ को जनवरीमा तत्कालीन प्रधानमन्त्री मिलोस भुचेभिचले ‘तनाव कम गर्ने’ उद्देश्यले राजीनामा दिए । त्यसको दुई महिनापछि, बेलग्रेडमा सर्बियाको इतिहासकै सबैभन्दा ठुलो सरकारविरोधी प्रदर्शन देखियो ।
आन्दोलन विस्तार हुँदै जाँदा विद्यार्थीले परम्परागत नेतृत्व संरचनामा भर पर्नुको सट्टा भेलामार्फत आफूलाई संगठित गरे । यो विकेन्द्रित ढाँचाले आन्दोलनलाई विस्तार हुन मद्दत ग¥यो, साथै यसले स्थापित राजनीतिक व्यक्तित्वद्वारा नभई विद्यार्थी र सर्वसाधारण नागरिकद्वारा सञ्चालित आन्दोलनको रूपमा आफ्नो पहिचान पनि कायम राख्यो ।
सेप्टेम्बरमा भुचिचले आकस्मिक निर्वाचनको घोषणा गर्दासम्म प्रदर्शनकारीले आफ्नो जनसमर्थनलाई एक संगठित चुनावी अभियानमा परिणत गर्न थालिसकेका थिए । उनीहरूले र्यालीहरू आयोजना गरे, लामो समयदेखि भुचिचको पकडमा रहेका ग्रामीण क्षेत्रहरूको भ्रमण गरे र घर–घर पुगेर आफूलाई ‘स्थापित सत्ताविरोधी’ उम्मेदवारका रूपमा प्रस्तुत गरे । उनीहरूको नारा स्पष्ट थियो– ‘सर्बिया कि माफिया ?’
सुरुमा, भुचिचले प्रदर्शनकारीहरूलाई ‘असल नियत भएका’ मानिसहरूका रूपमा चित्रण गर्ने प्रयास गरेका थिए । तर, निर्वाचनको पूर्वसन्ध्यामा उनले उनीहरूमाथि सर्बियालाई ‘ध्वस्त पार्न’ खोजेको आरोप लगाए । आइतबार राति हार स्वीकार गरेपछि पनि ५६ वर्षीय भुचिचले यो आन्दोलनलाई केही अज्ञात ‘युरोपेली मुलुकहरू र अमेरिकी ‘डिप स्टेट’को समर्थन रहेको दाबी गरे ।
के सर्बिया अब इयूको हिस्सा हुनेछ ?
सर्बियाको संवैधानिक ढाँचाभित्र समाधानको वकालत गर्दै मे २०२६ मा विद्यार्थीले पेस गरेको ज्ञापनपत्रमा विद्यार्थी आन्दोलनले कोसोभोलाई ‘सर्बियाको अविभाज्य अंग’ र सर्बियाली राष्ट्रिय पहिचानको एक घटकको रूपमा वर्णन गरेको थियो ।
सेप्टेम्बरमा विद्यार्थी गठबन्धले रुसमाथि प्रतिबन्धको विरोध ग¥यो, जसलाई निवर्तमान सरकारले पनि समर्थन गरेको थियो । विद्यार्थी–समर्थित समूहका समर्थकमा पनि युरोपसँग अझ नजिकको सम्बन्ध राख्ने चाहना देखिन्छ । ७५ प्रतिशतले इयूसँग बलियो सम्बन्धको पक्ष लिएका छन्, जबकि रुससँग नजिकको सम्बन्ध चाहनेहरू केवल १० प्रतिशत छन् ।
सर्बियाले सन् २००९ को डिसेम्बरमा युरोपेली संघको सदस्यताका लागि आवेदन दिएको थियो । सन् २०१२ को मार्चमा उम्मेदवारको दर्जा प्राप्त ग¥यो र सन् २०१४ को जनवरीमा औपचारिक रूपमा सदस्यतासम्बन्धी वार्ता सुरु ग¥यो । कानुनी शासन, प्रेस स्वतन्त्रता, युरोपेली संघको विदेश नीति तथा रुसविरुद्धका प्रतिबन्धसँग सर्बियाको सीमित तालमेल र कोसोभोको टुंगो नलागेको अवस्थालाई लिएर युरोपेली संघको चिन्ताका कारण सदस्यता प्राप्त गर्ने प्रक्रिया सुस्त बन्दै आएको छ ।
कोसोभो–सर्बिया द्वन्द्व एक राजनीतिक तथा क्षेत्रीय विवाद हो, जसको जरा अल्बेनियाली र सर्बहरूबिचको जातीय तनावमा गाडिएको छ । यो द्वन्द्व सन् १९९८–१९९९ को कोसोभो युद्धमा परिणत भयो र हालसम्म पनि समाधान हुन सकेको छैन । सर्बियाले कोसोभोको स्वतन्त्रतालाई मान्यता दिन अस्वीकार गरिरहेको छ । यद्यपि, युरोपेली संघका नेता उर्सुला भोन डेर लेयन र एन्टोनियो कोस्टाले सर्बियाको चुनावी नतिजाको स्वागत गरेका छन् ।
युरोपेली एकीकरणका विषयमा विद्यार्थी आन्दोलनको अडान स्पष्ट नभए पनि उनीहरूले सर्बियासँगको सम्बन्धमा नयाँ सुरुवात हुने आशा व्यक्त गरेका छन् । निर्वाचनलाई अन्तर्राष्ट्रियस्तरमा पनि चासोका साथ हेरिएको थियो । यी निर्वाचनमा दक्षिणपन्थी शक्तिहरू र लोकतन्त्र पक्षधर आन्दोलन आमनेसामने भएका छन् । सर्बियामा विद्यार्थीको नेतृत्वमा भएको यो जितले सम्पूर्ण युरोपमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
जितले महादेशभरका सरकारमा समेत कम्पन ल्याएको र त्यहाँका युवा तथा विद्यार्थी आन्दोलनलाई थप गति प्रदान गर्नेछ । हंगेरीका नेता पिटर माजार विजयी पक्षलाई बधाई दिने पहिलो युरोपेली संघ (इयू) राष्ट्रका नेता बने । उनले विद्यार्थीको सफलतालाई यस वर्षको सुरुमा भिक्टर ओर्बानविरुद्ध आफूले हासिल गरेको जितसँग तुलना गरे । उनले एक्समा लेखे, ‘अप्रिलमा हाम्रो जितले उनीहरूलाई यो कठिन संघर्षका वेला कति धेरै शक्ति दियो भन्ने कुरा सुन्दा मलाई असाध्यै खुसी लाग्यो ।’
‘स्टुडेन्ट लिस्ट’को कार्यक्रम के हो ?
निर्वाचित सांसदहरू यस आन्दोलनको घोषणापत्रमा समेटिएका प्रतिबद्धताहरू पूरा गर्न जिम्मेवार हुनेछन् । विद्यार्थीहरूले आफूले त्यस्ता व्यक्तिको खोजी गरेका छन्, जो सार्वजनिक संस्थामा प्रवेश गरेर ‘आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरून् र आफू त्यहाँ किन पुगेको हो भन्ने कुरा नबिर्सून’ ।
११ बुँदे कार्यक्रमअन्तर्गत यो विद्यार्थी आन्दोलन भ्रष्टाचार उन्मूलन गर्न चाहन्छ । यसका लागि उनीहरू भ्रष्टाचारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न छुट्टै प्रहरी एकाइ गठन गर्न, आन्दोलनकारीमाथि दमन गर्दा नियम उल्लंघन गर्ने वा संगठित अपराधसँग साँठगाँठ भएका अधिकारीलाई गृह मन्त्रालयबाट हटाउन, सर्बियाको सञ्चार क्षेत्रमा सुधार गर्न, सार्वजनिक प्रसारण संस्थालाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्न र सार्वजनिक उद्यममा राजनीतिक दलका कार्यकर्तालाई भर्ती गर्ने क्रम रोकेर राजनीतिक संरक्षणको अन्त्य गर्न चाहन्छन् ।
यद्यपि, विद्यार्थीहरू आफैँ भने निर्वाचित भएका छैनन्, तर सर्बियाली जनतासमक्ष वाचा गर्नेहरू उनीहरू नै हुन् । त्यसैले, आफूले चयन गरेका संसदीय प्रतिनिधिले आन्दोलनको घोषणापत्रअनुसार काम गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न उनीहरूमाथि दबाब हुनेछ ।
आफ्नो तर्फबाट भुचिचले यस आन्दोलनको जितलाई आफ्नो राजनीतिक संघर्षको अन्त्यका रूपमा स्वीकार गर्ने कुनै संकेत देखाएका छैनन् । गत साता पार्टी समर्थकलाई सम्बोधन गर्दै उनले भने कि विद्यार्थीहरूले सर्बियामा दुई वर्षको समय बर्बाद गरेका छन् । उनले दाबी गरे कि ‘ विद्यार्थीले सरकारलाई नै चुनौती दिने राष्ट्रिय राजनीतिक शक्ति’का रूपमा उभिँएर ठुलो भुल गरेका छन् ।
अब सर्बियामा कसले शासन गर्छ ?
विद्यार्थीहरूको जितले एउटा नयाँ राजनीतिक चुनौती खडा गरेको छ, अब देशको शासन कसले सम्हाल्ने ? विद्यार्थीहरू आफैँले शासन सम्हाल्नेछैनन्, किनकि उनीहरू निर्वाचनमा उम्मेदवार बनेका थिएनन् । सम्भवतः यो आन्दोलनले के बुझेको छ भने मतदाताले राजनीतिमा अनुभव कम भएका उम्मेदवार समावेश गरिएको संसदीय सूचीलाई समर्थन गर्न हिचकिचाउन सक्छन् ।
नोभी सादका कार्डियोलोजिस्ट प्राध्यापक इलिजा स्र्दानोभिच ‘स्टुडेन्ट लिस्ट’ (विद्यार्थी सूची) मा शीर्ष स्थानमा रहे पनि उनलाई प्रधानमन्त्री बन्ने सर्वसम्मत रुचाइएका उम्मेदवारका रूपमा हेरिएको छैन । उक्त सूचीमा पूर्वबास्केटबल स्टार देजान बोदिरोगा ( २४औँ स्थानमा थिए), प्रख्यात अभिनेता तिहोमिर स्टानिच (आठौँ स्थानमा), ओपेरा गायक निकोला मिकिच (४६औँ स्थानमा) र सर्बियाको राष्ट्रिय बैंकका पूर्वगभर्नर देजान सोस्किच (२७औँ स्थानमा) समावेश छन् । यस सूचीमा प्राध्यापकहरूको पनि उल्लेख्य संख्या छ ।
द प्रिन्टबाट