बिपी प्रतिष्ठान आन्दोलनको ८४ दिन पूर्वउपकुलपतिहरूले भने– चिकित्सकहरूको माग सम्बोधन गर

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

पदाधिकारीबाटै अनियमिततामा जेलिएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरणको माग राखी भइरहेको आन्दोलनले ८४ दिन पूरा गरेको छ । प्रतिष्ठानभित्र भइरहेको आर्थिक अनियमितता, पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सुधार, प्रधानमन्त्री र डा.गोविन्द केसीबीच भएको सम्झौता कार्यान्वयनलगायतका माग राखी भइरहेको आन्दोलन झन्डै तीन महिना पुग्न लागेको छ । 

लामो समयसम्म पनि आन्दोलनकारीहरूको मागप्रति सरकार संवेदनशील नभएको भन्दै प्रतिष्ठानका पूर्वउपकुलपतिहरूले माग सम्बोधन गर्न माग गरेका छन् । प्रतिष्ठानको शैक्षिक कार्यक्रम र चिकित्सा सेवा यति लामो समयसम्म अस्तव्यस्त रहँदा पनि आन्दोलनकारीहरूसँग भएको सहमति कार्यान्वयनतर्फ सरकारले असंवेदनशीलता देखाएको भन्दै पूर्वउपकुलपतिहरूले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । विश्वविद्यालयहरूका पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाह, तोरणबहादुर कार्की, अर्जुन कार्की, कैलाशनाथ प्याकुरेल, हीराबहादुर महर्जन, खगेन्द्र भट्टराई, जयराज अवस्थी र नरेशमान बज्राचार्यले बिपी प्रतिष्ठानमा चलिरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरेका हुन् । 

आन्दोलनको ५०औँ दिनमा आन्दोलनकारी तथा सरकारबीच भएको ६ बुँदे सम्झौता, समितिको गठन, समितिबाट प्रतिवेदनको प्रस्तुतीकरण भए पनि माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरेको आन्दोलनमा संलग्न चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेल संयोजकत्वको समिति र ६ बुँदे सम्झौता भएको ३२ दिन बितिसक्दा पनि माग सम्बोधन नभएको भन्दै कडा कदम चाल्ने शुद्धीकरण समितिले जनाएको छ । 
समितिले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले चासो राखेमा केही घन्टामै गर्न सक्ने काममा महिनौँ लगाएको जनाएको छ । 

सुझावित समाचार