नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन रोक्न माग गरिएको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा तोकिएको छ। सर्वोच्च अदालतले सोमबार मुद्दाको सुनुवाइका लागि न्यायाधीश राउतको एकल इजलास तोकेको हो।
बागमती प्रदेशको प्रदेश सभा सदस्य नेपाली कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्ने गरी आदेश माग गरिएको छ। कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ बाट वडा तहको अधिवेशन सुरु भइसकेको छ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा सुनुवाइ तोकिएको थियो। तर, सुनुवाइ हुन नसकेपछि सर्वोच्चले मुद्दालाई हेर्न नभ्याइनेमा राखेर सोमबारका लागि पेसी तोकेको हो।