पोखराको महेन्द्रपुलमा सडक र फुटपाथ भासियो

सोमबार, ७ भदौ, २०७८
डिजिटल संस्करण

आइतबारदेखि भएको निरन्तरको वर्षाका कारण पोखराको मुख्य बजारस्थित महेन्द्र पुलमा सडक भासिएको छ। महेन्द्रपुल र पालिखेचोक (साँघुको मुख)बीचको भागमा सडक भासिएको हो।

महेन्द्रपुलस्थित गरिमा विकास बैंकको आडैको सडक पेटी र सडक भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।  भासिएको भागलाई तत्काल पुर्न र थप क्षति हुन नदिन स्थानीयले आग्रह गरेका छन्। पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष अशोक पालिखेले तत्काल भासिएको भाग नपुरिए थप क्षति हुने भन्दै छिटै काम सुरु गर्न आग्रह गरिएको बताए। ‘हिजो साँझ सडक भासिएको हो। अहिले पनि पानी पर्ने क्रम जारी छ। यो भाग तत्काल नपुर्ने हो भने अझै भासिएर नजिकका घरहरूसमेत जोखिममा पर्न सक्छन्,’ उनले भने।

पोखरा महानगरपालिका– ९ का वडाध्यक्ष रामराज लामिछानेले जाइकासँगको समन्वयमा भासिएको भाग पुर्ने जानकारी दिए। अहिले भासिएको भागमा नयाँ खानेपानी आयोजनाअन्तर्गत जाइकाले पाइपलाइन पुरेको क्षेत्र भएकाले प्राविधिक रूपमा समेत सल्लाह गर्नुपर्ने भएकाले आफूले चाहँदैमा तत्काल पुर्ने अवस्था नरहेको उनले बताए। ‘त्यहाँ खानेपानीको पाइप पुरिएको हुँदा त्यसको अवस्था पनि हेर्नुपर्छ। जतिसक्दो छिटो आयोजनाले उक्त स्थान पुर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने।  पोखराका विभिन्न ठाउँमा यस अगाडि पनि यसरी नै भासिने गरेको छ।

किन भासिन्छ पोखराको जमिन ?
पोखरा देशकै सबैभन्दा धेरै पानी पर्ने सहर हो। वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदीका अनुसार यहाँको जमिन अहिले मेलम्चीमा आएको बाढी जस्तै माछापुच्छ्रे क्षेत्रबाट सेतीमा आएको बाढीका कारण बनेको हो। पोखरा त्यसरी आएको चुनढुंगाले बनेको गेग्रान जमेर बनेको उनले बताए।

हिजो पातलो बस्ती हुँदा ठीकै भए पनि अहिले तीव्र सहरीकरण भएको छ। त्यसअनुरूपको व्यवस्थित ढल निकास छैन। ढल निकास नहुँदा थोरै पानी छिर्ने ठाउँ भयो भने त्यहीँबाट थप खोलिने चुनयुक्त जमिन पग्लने द्विवेदी बताउँछन्। पोखराको अहिले भ्वाङ परेको ठाउँमा जाइकाको खानेपानी परियोजनाअन्तर्गत पाइप बिछ्याइएको ठाउँ हो। पाइप बिछ्याइएको ठाउँबाट नै पानी छिरेकाले भ्वाङ परेको हुन सक्ने भूगर्भविद् द्विवेदीको अनुमान छ।

‘धेरै पानी जथाभावी बग्न दिनुहुँदैन भनेर यसअघि नै विभिन्न समयमा मैले भन्दै आएको छु। त्यहाँको सेती डिलभिर र त्यसको नजिकको भाग, पाताले छाँगोलगायतका स्थान वरपर जोखिम रहेको विभिन्न अध्ययनले देखाएका छन्,’ उनले भने, ‘अब पनि एउटा गहिरो अध्ययनको खाँचो मैले देखेको छु। पोखराको ढल निकास कस्तो हुनुपर्छ, कुन–कुन क्षेत्र जोखिममा छन् भन्ने निर्क्याेल गर्नुपर्ने देख्छु । जोखिम कम गर्ने उपायको खोजी गर्न ढिलाइ हुनुहुन्न ।’

सुझावित समाचार