रूढिवादीहरूमा विज्ञानद्वेष

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

रूढिवादीहरूले वैज्ञानिक मूल्य–मान्यता स्वीकार गर्ने सम्भावना कम हुने भएकाले उनीहरू विज्ञानद्वारा निर्देशित कार्य सञ्चालनको तात्विक गुणसँग सहमत हुन सक्दैनन्
प्राज्ञिक मतैक्य हुँदा पनि केही नेता तथा सर्वसाधारण वैज्ञानिक अनुसन्धानका नतिजामाथि शंका गर्छन् । उदाहरण– करिब एकतिहाइ अमेरिकी पेट्रोलियम इन्धनबाट उत्सर्जन हुने ग्यासले जलवायु परिवर्तन हुन्छ भन्ने यथार्थ अस्वीकार गर्छन् । स्मरण रहोस्, जलवायु परिवर्तन दशकौँअघि वैज्ञानिकमाझ सर्वसम्मति भएको विषय हो । मानिसहरू वैज्ञानिक तथ्यलाई किन अस्वीकार गर्छन् भनेर गरिएको अनुसन्धानमा व्यक्तिको राजनीतिक विश्व दृष्टिकोण एक मुख्य कारकका रूपमा पाइएको छ ।

विज्ञानलाई अस्वीकार गर्ने रूढिवादी प्रवृत्तिलाई कसरी व्याख्या गर्ने ? वा वैज्ञानिक अनुसन्धानमा केही यस्ता तात्विक गुण छन्, जसले रूढिवादी वा स्वतन्त्रतावादी (लिबर्टेरियन) लाई पृथक् रूपमा चुनौती दिन्छ । अथवा यो विरोधी सम्बन्ध केवल वैज्ञानिक नतिजा एवं ती नतिजाले निम्त्याउने आर्थिक चुनौतीको परिस्थिति मात्रै हो ? जलवायु परिवर्तनका सन्दर्भमा उल्लिखित सबैभन्दा पछिल्लो कारणलाई जायज मान्न सकिएला, अर्थात् जलवायु परिवर्तनका समस्याको हल खोज्दा त्यसले कुनै न कुनै रूपमा विद्यमान आर्थिक गतिविधिलाई असर गर्छ ।

हामीले हालै दुई ठूला सर्वेक्षण गर्यौं, जहाँ उल्लिखित पहिलो सम्भावना, रूढिवादी विचारधाराविरुद्ध विज्ञानमा तात्विक गुण हुन्छन् भन्ने पूर्वधारणामा केन्द्रित थियो । अध्ययनका निम्ति हामी विज्ञानका दुई पाटामा केन्द्रित भयौँ । पहिलो, वैज्ञानिक अनुसन्धानमा निहित मूल्य एवं मान्यता र दोस्रो विज्ञानको इतिहास, जसले सारा ब्रह्माण्डको केन्द्रबिन्दु मानिस होइन भन्ने बुझाइ निर्माण गर्यो ।

सन् १९४२ मा समाजशास्त्री रबर्ट मर्टन वैज्ञानिक कार्य सञ्चालनका लागि केही मान्यता प्रस्ताव गरेका थिए । पहिलो मान्यता ‘साम्यवाद’ (यहाँ साम्यवाद शब्दले राजनीतिक दर्शनको प्रतिनिधित्व गर्दैन), जहाँ वैज्ञानिक अनुसन्धानका नतिजा सबै वैज्ञानिक समुदायको साझा सम्पत्ति हुनुपर्छ । दोस्रो ‘सार्वभौमिकता’को मान्यताअनुसार ज्ञानले नश्ल, वर्ग, राष्ट्रिय एवं राजनीतिक व्यवधानलाई छिचोल्नुपर्छ र तेस्रो, ‘अवैयक्तिक’ मान्यताले विज्ञान अनुसन्धानले व्यक्तिगत नाफा नभई समष्टिगत वैज्ञानिक कामलाई नै फाइदा पुर्याउनुपर्छ भन्ने मान्छ ।

उल्लिखित मान्यता हालका रूढिवादी विचारधारासँग सहजै मेल खाँदैनन् । रूढिवाद सहकार्यवादी अन्तर्राष्ट्रियवादलाई उपेक्षा गरेर राष्ट्रवाद र देशभक्तिसँग जोडिन्छ । कुनै पनि किसिमको अवैयक्तिकपनले रूढिवादीले जोड दिने सम्पत्तिको अधिकारसँग सहजै तादम्य मिलाउन अप्ठ्यारै हुन्छ । विज्ञानले हामीवरपर रहेको विश्वलाई चिन्न सिकाइदिएको छ, जसले विशेषतः धार्मिक रूढिवादसँग थप तनाव निम्त्याउने सम्भावना ल्याइदिन्छ । परम्परावादी यहुदी–इसाई अवधारणामा मानव असाधारण मानिन्छ अर्थात् मानिसलाई ईश्वरको बिम्बका रूपमा हेरिन्छ । यसको सोझो अर्थ मानव अन्य जीव र प्रकृतिभन्दा पनि पृथक् एवं विशेष हो । १६औँ र १७औँ शताब्दीमा भएको वैज्ञानिक क्रान्तियता असंख्य शोध–अनुसन्धानले मानवीय असाधारण एवं पृथक्पनलाई गलत साबित गर्दै आएको छ । अहिले हाम्रो ग्रहलाई सारा सृष्टिको केन्द्र नभई असंख्य आकाशगंगा रहेको विशाल ब्रह्माण्डको एकदमै सानो वा नगण्य हिस्सा मानिन्छ ।

हामीले वैज्ञानिक अनुसन्धानमा निहित मूल्य एवं मान्यता तथा विज्ञानको ऐतिहासिक प्रभाव, जहाँ मानवले आफैँलाई हेर्ने दृष्टिकोण कसरी रूढिवादी सोच र वैज्ञानिक तथ्यको स्वीकार्यतासँग जोडिएको छ भनेर दुई बृहत् अध्ययन ग¥यौँ । हरेक अध्ययनमा करिब एक हजार अमेरिकी बासिन्दाको नमुना (स्याम्पल) लिएका थियौँ । हाम्रो अध्ययन तीन वैज्ञानिक विषय जलवायु परिवर्तन, खोप र बुद्धिमत्ताको अनुवांशिकतामा केन्द्रित रह्यो । पहिलो दुई विषय दक्षिणपन्थीले अस्वीकार गर्ने सम्भावनाका कारण रोजियो, किनभने यसले हामीलाई अन्य कारकको सम्भावित भूमिकाबारे बुझ्न सघाएको थियो । तेस्रो विषय छान्नुको कारण उदारवादीले बाह्य कारक उदाहरण शिक्षाले मानिस र उसको परिस्थितिमा बदलाव ल्याउँछ भन्ने धारणा राखेको देखिन्छ भने रूढिवादीले सामान्यतया यो सम्भावनालाई नकार्छन् । रूढिवादीमा व्यक्तिको विकास व्यक्तिबाटै सिर्जना हुन्छ, अर्थात् बौद्धिकता बाह्य कारणले निर्माण हुँदैन भन्ने धारणा व्याप्त देखिन्छ । राजनीतिक अवधारणा र विज्ञानका मूल्य–मान्यताका प्रोत्साहनको मापन दुवै अध्ययनमा भिन्न रहे पनि सम्पूर्ण नतिजाले एउटा प्रस्ट निचोड निस्कियो ।

रूढिवादीमा विज्ञानको मूल्य–मान्यतालाई स्वीकार गर्ने सम्भावना कम रहेको हुन्छ । वैज्ञानिक मूल्य–मान्यताको अस्वीकार्यताले रूढिवादीहरू विज्ञानद्वारा निर्देशित कार्य सञ्चालनको तात्विक गुणसँगै असहमति राख्छन् भन्ने देखिन्छ । विज्ञानका मूल्य–मान्यतालाई स्वीकार गर्नेहरूमा खोप लगाउने र जलवायु परिवर्तनका विषयमा पहलकदमी लिनुपर्छ भन्ने मत देखियो, अर्थात् वैज्ञानिक मूल्य–मान्यतालाई स्वीकार गर्नेहरूले वैज्ञानिक निचोडलाई पनि स्विकार्ने सम्भावना अधिक देखिन्छ । हामीले मानवीय असाधारणपन एवं पृथक्ताको अवधारणाले वैज्ञानिक निचोडलाई अस्वीकार गरेको पाएनौँ । तसर्थ रूढिवादीहरू विज्ञानसँग असहमत हुने कारण व्यक्तिको पृथक्तापन हो भन्ने अवधारणालाई बल पुर्याउने कुनै प्रमाण भेटिएन ।
(लेखकद्वय संज्ञानात्मक मनोविज्ञानका प्राध्यापक हुन्)

द कन्भर्सेसनबाट

सुझावित समाचार