भारतीय राष्ट्रिय क्रिकेटबाट खेलिसकेको क्रिकेटर परवेज रसुलमाथि जम्मु कस्मिर क्रिकेट एसोसिएसनले चोरीको गम्भीर आरोप लगाएको छ । एसोसिएसनको स्वामित्वमा रहेको मैदान सम्याउने पिच रोलर चोरी गरेको क्रिकेटर परवेजविरुद्ध आरोप छ । एसोसिएसनले उनलाई रोलर फिर्ता गर्न नोटिस जारी गरेको छ । नोटिसमा दिइएको समयभित्र पिच रोलर फिर्ता नगरे परवेजमाथि कानुनी कारबाही अगाडि बढाइने एसोसिएसनले जनाएको छ ।
‘तपाईंसँग भएको पिच रोलर हामीलाई फिर्ता गर्नुस्, यो मेसिन फिर्ता गर्न एक साताको समय छ,’ एसोसिएसनको नोटिसमा लेखिएको छ, ‘यदि तपाईंले रोलर फिर्ता गर्नुभएन भने हामी बाध्य भएर कानुनी कारबाही अगाडि बढाउनेछौँ, सम्भवतः हामी प्रहरीको सहयोग लिनेछौँ ।’
एसोसिएसनद्वारा अभद्र व्यवहार
क्रिकेटर परवेजले भने आफूमाथि लगाइएका सबै आरोप झुटो भएको दाबी गरेका छन् । इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै परवेजले एक खेलाडीमाथि एसोसिएसनले निशाना बनाएर हुँदै नभएको आरोप लगाएको बताएका छन् । ‘यो एक क्रिकेटरका लागि दुर्भाग्य हो, ममाथि अभद्र व्यवहार भएको छ,’ दुःखी हुँदै उनले भने, ‘मैले जम्बु कस्मिरलाई सवै दिए, खेलकुदकै माध्यमबाट मैले आफ्नो जीवन यसै क्षेत्रमा दिएको छु, अहिले कल्पना नै गर्न नसक्ने किसिमको आरोप छ ।’
यसैबीच एसोसिएसनका सदस्य अनिल गुप्ताले परवेज मात्र नभएर पिच रोलर लिएका सबै व्यक्तिलाई नोटिस पठाएको जानकारी दिएका छन् । ‘एसोसिएसनले निश्चित समयका लागि उपलब्ध गराएको रोलर फिर्ता गराउने प्रयास हो, यसमा हामीले सबैलाई नोटिस पठाएका छौँ,’ उनले भने, ‘व्यक्तिगत रूपमा हामी कसैको मनलाई चोट पुर्याउने उद्देश्य राखेका छैनौँ, यो केवल नियमअनुसार मात्र कारबाही अगाडि बढाइएको हो ।’
बंगलादेशविरुद्ध डेब्यु

सन् २०१४ मा भारतले बंगलादेशको भ्रमण गर्दा परवेज अलराउन्डरका रूपमा डेब्यु गरेका थिए । सन् २०१७ मा उनले इंग्ल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेल्नसमेत अवसर पाए । उनले एकदिवसीयमा दुई तथा टी–२० मा भारतका लागि एक विकेट लिएका छन् । परवेज इन्डियन प्रिमियर लिगमा पुने वारियर्स, रोयल च्यालेन्जर्स बेंग्लोर तथा सनराइजर्स हैदरावादबाट खेलिसकेका छन् ।
आइपिएलमा उनले ११ खेलमा चार विकेट लिएका छन् । ३२ वर्षीया परवेज जम्मु–कस्मिरको घरेलु क्रिकेटकै ठूलो नामका रूपमा छन् । उनले यस क्षेत्रबाट ८२ पहिलो श्रेणी खेल खेलेका छन् । यसक्रमा उनले चार हजार आठ सय सात रन तथा दुई सय ६६ विकेट हात पारेका छन् ।